एक फिल्मी ‘पण्डित’काे राजनीतिक न्वारान

एक फिल्मी ‘पण्डित’काे राजनीतिक न्वारान

आफ्नै आँखाअगाडि छिमेकीले हाकाहाकी साँधको किला सार्छ।

सिमानामा ढाल बनेर बसेका नागरिक मारिन्छन्, कुटिन्छन्। राज्य निरीह बस्छ।

देशको पानीदेखि ‘जवानी’सम्म आँखा गाडेर बसेको छिमेकी सरकारको निरिहता देखेर अझ बढी मन्राउँछ। डुक्रन्छ।

सधैं पद र पैसाको ‘बार्गेनिङ’ मा लागेका राजनीतिक दल, ‘कमिसन’ मा लागेको सरकार। बाध्यताले, रहरले दैनिक विदेशिँदै गरेको जनशक्ति।

ओहो! जताबाट हेरे पनि निष्पट्ट मात्रै।

निष्पट्ट छिचोल्दै आफ्नै लयमा फर्कने घामका किरणले केही आशा र सम्भावनाको संकेत बोकेर ल्याउछ। हो, यस्तै ‘किरण’ हुन् मनोज पण्डित।

***

काठमाडौंको पैतालामुनि दबिएको काभ्रे यहाँका आवश्यकता परिपूर्ति गर्ने माध्यम मात्रै बन्यो। बत्तीमुनिको अध्यारोजस्तै भएको काभ्रे छिमेकीलाई उज्यालो पार्दापार्दै आफैं बल्न बिर्स्याे । गिट्टीदेखि सागसम्म ओसारेको काठमाडौंले ‘बास’ को गुन लगाएर सम्मान र पहिचान लुटेको यो भुगोललाई पत्तै भएन।

वर्षौंदेखि राजधानीले लिलाम गरेका सपना फर्काउने आँटकाँटमा लागेका पण्डित २०३६ सालमा काभ्रेको धुलिखेलस्थित भानडोलमा जन्मिएका हुन्।

सरकारी जागिरे बुबा र परिवारको एक्लो छोरो। सके निजामतिको जागिर नसके मास्टरी पेशाका लागि बुबाले खडा गरेको पारिवारिक दायरा र कडा अनुशासनले पण्डितलाई स्थापित मान्यता, उँचनीच र विभेदविरुद्ध आगो ओकल्न छेकेन।

बुबाको नजरमा ‘अटेरी’ बनेपनि मनोज एउटा व्यक्ति मात्र नभएर सिंगो संस्था हुन्। सीमाविद्देखि वैकल्पिक सिनेमासम्मको लय एक्लै थामेका छन्।

‘तिलस्मी’ स्क्रिन र ‘विद्रोही’ मनोज
काठमाडौंको नजिक भएर पनि सबै हिसाबले पछि परेको काभ्रेमा एक, दुई वटा बोर्डिङ स्कुल खुल्दै थिए। व्यापारी, कर्मचारीका छोराछोरीले पढ्थे। विद्युत प्राधिकरणको जागिरे बुबा। गाउँमा इज्यतका लागि पनि जागिरे बुबाका छोरोछोरी बोर्डिङ स्कुल पठाउनैपर्ने नैतिक दबाब।

बोर्डिङ स्कुलको पढाइ, बुबाले स्थापित गरेका अनुशासनका नियम। ठूला सपना त थिएनन् उनीसँग। तर, गाउँमा भर्खर प्रवेश गर्दै गरेको तलस्मी टेलिभिजन स्क्रिनबाट बञ्चित हुनुपर्दाको बेचैनी र बुबाको आँखा छलेर टिभी हेर्न गरेको संघर्षले हुर्काएको ‘इगो’ र अरुभन्दा ‘विशेष’ बन्नुपर्छ भन्ने ‘जुनून’ नै उनको जीवनको ‘डिसाइडिङ’ फ्याक्टर बन्यो। त्यही साइकोलोजीले टिभी भन्ने चिज उनका लागि अति ‘तिलस्मी’ बन्यो।


***
‘तिलस्मी चिज’ ले उनलाई कल्पना गर्न सिकायो। सन्तानको व्यवहारिक र व्यवस्थित जीवन खोज्नु भएका बुबा र १४, १५ वर्षमै ‘पेले’ सँग फुटबल खेलेर देशले विश्वविजेताको ‘ट्रफी’ उचालेको कल्पना गर्ने मनोजबीच ‘केमेस्ट्री’ मिलेन भन्ने लाग्छ उनलाई।

‘मेरो फिल्म करियरसँग उहाँ खुसी हुनुहुन्न। बुबाले स्थिरता चाहानुहुन्थ्यो। छोरोको जीवन जोखिमपूर्ण नहोस् भन्ने हो। तर, छोरोको जीवन जोखिमयुक्त मात्रै रह्यो। समाजका तत्कालीन मूल्य, मान्यतासँग विद्रोह गर्ने भयो,’ उनले भने, ‘ फिल्मले, कल्पनाले खान दिँदैन भन्ने लाग्छ बुबालाई। जीवन सुरक्षित हुँदैन भन्ने लाग्छ उहाँलाई। मैले पाउने चर्चा, नाम नै सबभन्दा ठूलो घातक हो भन्ने लाग्छ। बुबालाई मेरा नाम, प्रतिष्ठासँग डर छ।’

सपना ‘ग्रेटर नेपाल’ को
‘क्यामेस्ट्री’ नमिले पनि उनको जीवनमा सबभन्दा प्रभाव पार्ने ‘आइडल’ व्यक्ति बुबालाई मान्छन् उनी। इमान्दारिता जीवनको सबभन्दा ठूलो अस्त्र हो।

बुबाले जीवनभर अंगालेको इमान्नदारिता मनोजका लागि बाटो देखाउने अस्त्र बन्यो।
घरको ‘प्रेसर’ले साइन्स पढेका मनोजले २१ वर्षकै उमेरमा सिनेमामा उडान भरे। ‘लक्ष्य’ फिल्म बनाएर पहिलो उडान भरेका उनले ‘लक्ष्य’ भेटाउन मुस्किल भयो।

यो असफलताले उनलाई चुनौतीसँग खेल्न सिकायो।

भर्खरै बालकबाट बालिग भएका मनोज चुनौतीका पहाडमा कल्पनाको यात्रा गर्दै गए। विदेशीले मिचेको सीमा, नागरिकले भोगेको ‘डर’ स्क्रिनमा उतार्ने काम सबैभन्दा जोखिमयुक्त लाग्यो। ऐनामा देखियो ‘ग्रेटर नेपाल’ को विशाल नक्शा।

कल्पनाको यात्राबाट विश्राम लिँदै मनोज करिब दुईसय वर्ष अघिको नेपाली भूभाग खोज्दै हिडे। साइन्सको ‘फ्याक्ट’ र आर्टको ‘कथ्य’ को समिश्रणबाट ‘ग्रेटर नेपाल’ जन्मियो।
***
देशका ७० भन्दा बढी स्थानमा सीमा विवाद चर्किरहेका बेला ‘ग्रेटर नेपाल’ को सम्भावनाको औचित्य कति छ बहसको विषय हो। तर, मनोजले खोजेको देशको सिमानाले राजनीतिक इतिहासको महत्वपूर्ण यथार्थ भने पक्कै हो।

आजका आवश्यकता चाहिँ त्यो तथ्य स्थापित गर्नु हो। ग्रेटर नेपाल राजनीतिक इतिहासको महत्वपूर्ण यथार्थ हो भन्ने स्थापित गरे।

ग्रेटर नेपालको अवधारणाले सीमा सुरक्षा, सीमा विवाद समाधान गर्न महत्वपूर्ण भूमिका खेल्छ नै।

‘ग्रेटर नेपाल बिर्सेर अहिले भारतले मिचेको सीमा समाधान सम्भव छैन। यो समस्या समाधान नगरीकन ग्रेटर नेपालको बहस गर्न, नजिक पुग्न पनि सक्दैनौं हामी। तर, अहिलेको सत्ता सीमा समस्या समाधान गर्न चाहँदैनन्। सक्दैनन्। चाहाना पनि राख्दैनन्।’

ग्रेटर नेपाल भारतको सबभन्दा ठूलो बिझाइ हो। सीमा विाद सुल्झाउनुभन्दा पनि ग्रेटर नेपालको ‘मुभमेन्ट’ बाट अलग गर्नु चाहान्छ भारत। ग्रेटर नेपाल सोच्नै नसक्ने स्थिति त्यतिबेला आउछ जतिबेला नेपालले वर्तमानको सीमा समस्या समाधान गर्न सक्दैन।

‘नेपालले स्वतन्त्र व्यापार गर्न सक्दैन, आफ्नै पानीमा उसको नियन्त्रण छैन। सुरक्षाको दृष्टिकोणले अस्थिर भइराख्छ। यी तमाम चिज जुन कुराबाट हामी सफर छौं यसको ‘विहाइन्ड दि रिजन’ भनेको ग्रेटर नेपाल हो।’

बेलायतले नेपाललाई सुम्पिेर ‘टेरिटोरी’ बारे कुनै पुस्ताले यस विषयमा प्रश्न गर्छ। राजनीतिक रुपमा सचेत पुस्ताले ग्रेटर नेपाललाई गोल बनाउन नसम्ने होइन। तथ्य जुटाउन नसक्ने होइन।

‘ग्रेटर नेपाल ‘न्यारेटिभ बल्केड’ [Narrative Blockade] बाट पीडित एउटा ‘न्यारेटिभ’ हो। तर, त्यो सँगसँग वर्तमानको सीमा समस्या पनि यही न्यारेटिभ बल्केडभित्रै पर्यो। भारत नेपालमा ‘न्यारेटिभ बल्केड’ गर्न चाहान्छ। ग्रेटर नेपालमा ‘न्यारेटिभ बल्केड’ भारतको अल्टिमेट गोल हो।’


***
देश जनआनदोलन (२०६२,०६३) को साप र तापमा थियो। आन्दोलनको सफलतासँग ‘ ग्रेटर नेपाल’ को विशाल अवधारणा बाहिर आयो। परिवर्तनको चाहाना उजागर भएको थियो। देशप्रतिको भावना उजागर गर्‌यो। यो ठुलो मुभमेन्टकै रुपमा अगाडि बढ्यो। पाँच लाखभन्दा बढीले प्रत्यक्ष ग्रेटर नेपालको अवलोकन गरे।

‘यो हाम्रो पुर्खाले गरेकको यात्रा हो। यसमा सरिक हुन पाएँ। भारते मिचेको एउटा पाटो हो। तर, हामीले मिच्न दिएको पनि हो। हाम्रा असफलतालाई बाहिर ल्याउन पाएँ।’

वैकल्पिक सिनेमा तर आफ्नै लागि
‘लक्ष्यदेखि ‘एक’ सम्म आइपुग्दासम्म मनोजले आफैंभित्रको केही गर्ने, नयाँ गर्ने, अरुभन्दा फरक गर्ने चाहानाको ‘आगो’ बाहिर ल्याए। फिल्म बनाएर लगानी उठाउने, नाफा कमाउन विषय उनका लागि प्राथमिकतामा परेन।

‘मैले मेरै लागि सिनेमा बनाएको हुँ। समाजमा देखिएका विकृतिमध्ये आफुलाई जुन चिजले बढी छोयो त्यसलाई मैले सिनेमामा उठाएँ। आफ्नै लागि इमान्दार भएर गर्दा नतिजा राम्रो आएको छ। यसमा अरुको स्वार्थ मिसिँदा म असफल भएको छु। व्यावसायिकतामा असफल भएँ कि भन्ने लाग्छ।’

‘बधशाला’ उनले आफ्नै लागि बनाए। सर्जक घमण्डी हुन्छन्। ‘इगो’ एक्सफ्लोर गर्छन् मानिसको सौन्धर्यनै स्वार्थमा छ। स्वार्थ स्पष्ट हुँदा राम्रो काम हुन्छ।

अहिलेसम्म आफ्नै लागि फिल्म बनाएका मनोजले हजारौंको मन जित्ने सिनेमा बनाउनुलाई अर्को चुनौतीका रुपमा हेरेका छन्। वैकल्पिक सिनेमा बनाएर हजारौंको मनोविज्ञान प्रभावित पार्नु सर्जकको उपलब्धी पनि हो।

अब यथार्थलाई सामना गरेर अगाडि बढ्न सक्ने खालको राजनीतिक चेतनायुक्त सिनेमा बन्नुपर्छ। नेपाली सिनेक्षेत्र पुरातन र राजनीतिक रुपमा कमजोर छन्। नयाँ पुस्तालाई समस्याको समाधान खोज्न ‘न्यारेटिभ’ प्रदान गर्ने खालका ‘मानक’ स्थापित गर्न व्यावसायिक फिल्ममा मनोजहरुकाे  ‘इन्ट्री’ हुनैपर्छ।

सिनेमा टु पोलिटिक्स
हरेक व्यक्ति राजनीतक प्राणी हो। अहिले राजनीति सत्ता प्राप्त गर्ने र आफैंलाई शक्तिशाली बनाउन केन्द्रित रह्यो। सत्ता बलियो बनाउने चक्करमा जनता कमजोर हुँदै गए। ‘डर’देखाएर सत्ताले व्यक्तिलाई सधैं दास बनाइ रह्याे।

राजनीतिमा व्यक्ति बलियो भन्नुपर्छ भन्ने ‘न्यारेटिभ’ स्थापित गर्न मनोज राजनीतिमा आएको घोषणा गरेका छन्। पछिल्लो ‘स्वतन्त्र’ को लहरले पनि सत्ता र राजनीतिक दलको दासत्वबाट मुक्तिको, रुपान्तरणको विगुल फुकेको छ।

सिनेमाबाट पनि त्यो काम गर्न असम्भव त होइन। तर, नेपालको वर्तमान अवस्था, चुनावी माहोल हेर्दा एउटा मानिसले खुलमखुल्ला मैले भ्रष्टाचार गरेको हो भन्दा ताली बजाउने समाजसँग ‘डिस्कोर्स’ गर्न मन छ मनोजलाई। ‘तिमी कस्तो मानिस र उसका कुरालाई ताली बजाइरहेका छौं जसले तिमीलाई लुटिरहेको छ?’ भनेर सम्झाउनु छ भूगाेललाई।

‘म बलियो हुन राजनीतिमा आएको होइन। जबसम्म हरेक मानिस बलियो हुँदैनन् तबसम्म देशका तमाम समस्या समाधान हुँदैनन्। म सञ्चार क्षेत्रको मान्छे। अब म सही कुरा सञ्चार गर्नुपर्छ भन्ने लाग्यो।’

टार्गेटमा ‘हेभिवेट’ र तयारी

उनले राजनीतिमा आएर जसलाई चुनौती दिइरहेका छन् ती व्यक्ति शक्तिशाली छन्। नेपालको सबभन्दा ठूलो पार्टीको नेतृत्वसँग सधैं उठबसको हैसियतमा रहेका व्यक्ति हुन् उनी [गाेकुल बास्काेटा]।

‘इतिहासमा सबैभन्दा शक्तिशाली मान्छे सामान्य मान्छेबाट पराजित भएका छन्। सामान्य हुनुमा ठूलो शक्ति छ। मेरो आत्मविश्वास म सामान्य हुनुमा छ। मजस्तै सामान्य मान्छे लाखौं छन्।’

ठूला भनिएका दल चुनावलक्षित कार्यक्रममा केन्द्रित भएका बेला उनलाई न पैसाको चिन्ता छ त प्रचारप्रसारको। आफ्नो जन्मथलो बुझ्दै र भुगोलका सपना खोज्दै हिडेका छन् उनी।

‘ मेरो अहिलेसम्मको अध्ययनले के भन्छ भने ‘काभ्रेसँग कुनै सपना छैन। काभ्रे पहिचानको संकटमा छ।’

पहिचानको संकटमा परेको, सपनाविहीन भूगोलले कसरी आफ्ना लागि संघर्ष गर्छ होला? हो त्यो ‘ड्रिममेकर’ बन्न चाहेका छन् उनी गुमेको पहिचान फिर्ता ल्याउनका लागि सानो भूमिका खेल्न चाहान्छन् उनी।

‘काठमाडौं पैतालामुनि दबिएको काभ्रेलाई मुक्त गर्ने अभियानमा लाग्छु। यो भूगोलसँग धेरै कुरा छ जस्तो लाग्न तर, केही छैन। काठमाडौंलाई चाहिने प्राकृतिक स्रोत उत्खनन् गर्ने ठाउँ, विषालु खाद्यन्न उत्पादन गर्ने ठाउँ भएको छ।

काठमाडौंनजिक हुनुको बेफाइदा भोगेको काभ्रेले अब नजिक हुनुको फाइदा उठाउनुपर्छ। काठमाडौंको विकल्प अब काभ्रे बन्नुपर्छ।

‘मैले धेरै केही गर्न नसकेपनि त्यो भूगोलमा ‘ड्रिम प्लान्ट’ गर्न केही भूमिका खेल्न सक्छु कि भन्ने लागेको छ।’

अबको राजनीतिक बहस कोबाट शासित हुने होइन। व्यक्ति स्वतन्त्र हुनु हो। सबै खाले अभाव, डरबाट स्वतन्त्र। मनोज सत्ताकै विकल्प खोज्दै सत्ता र व्यक्तिबीच ‘कन्ट्याक रिन्यु’ (नयाँ सम्झौता) गर्नु पर्ने बेला आएको बताउँछन्।

मनमौजी जीवन घिसारिरहेका मनोजको यो राजनीतिक उडानले गन्तव्य भेटोस्।

 

 

 

 


Leave a Reply

Your email address will not be published.