अनि स्वास्थ्यमन्त्री निद्राबाट ब्युँझिए र मुसुक्क हाँसे

अनि स्वास्थ्यमन्त्री निद्राबाट ब्युँझिए र मुसुक्क हाँसे

काठमाडौं–नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले थारु जातिलाई मात्र लाग्ने रोग सिकलसेल एनिमियाको उपचारका लागि सम्बन्धित क्षेत्रमा अस्पताल खोल्न माग गरेका छन्।

बुधबार विनियोजन विधेयकमाथिको छलफलका क्रममा राष्ट्रिय सभामा बोल्दै उनले यस्तो माग गरेका हुन्। उनले वर्षौंसम्म उपचार गर्नुपर्ने भएकाले सिकलसेल एनिमियाका बिरामीलाई दिँदै आएको १ लाख रुपैयाँबाट बगाएर ३ लाख बनाउन पनि माग गरे।

मिश्रले स्वास्थ्यमन्त्रीको एक प्रसंग पनि संसदमा सुनाए। उनले भने, ‘मैले सांसदको सपथ पनि लिएको थिइनँ, एक साँझ स्वास्थ्यमन्त्रीकहाँ भेट गर्न गएँ र भनेँ–स्वास्थ्यमन्त्रीज्यू, मेरो जिल्लामा सिकलसेल एनिमिया, जुन थारु जातिलाई मात्र हुन्छ भनेँ। अनि उहाँले ‘कस्तो कुनै जातिलाई मात्र हुने रोग हुन्छ ?’ भन्नुभयो, म तर्सिएँ जस्तो भएँ। उहाँ अलि जोडले बोल्नु भयो। म साँझको बेला नगएको पनि हुन्थ्यो। किनभने भर्खर भएका मन्त्री दिनभरि थाकेका थिए। अनि मन्त्री डाक्टर होइनन्, उसले सबै कुरा बुझिहाल्नुपर्छ भन्ने पनि छैन।’

उनले यसो भनिरहँदा उँघिरहेका मन्त्री झल्यास्स भएर हेरे। अनि मुसुक्क मुस्कुराए।


Leave a Reply

Your email address will not be published.