स्वदेशी उत्पादन निर्यात उद्योगमा नगद अनुदानको सन्देश

स्वदेशी उत्पादन निर्यात उद्योगमा नगद अनुदानको सन्देश

काठमाडौं-

चुलिँदो व्यापार घाटाबाट आक्रान्त सरकारले नयाँ बजेट वक्तव्यमार्फत स्वदेशी उत्पादन निर्यात गर्दा उल्लेख्य परिमाणमा नगद अनुदान दिने घोषणाले केही राहत दिने देखिएको छ।

विदेशबाट सामान आयात परिमाण सोचेभन्दा धेरै तर नेपालबाट यहीँ उत्पादित सामान निर्यात गर्दा भने असाध्यै न्यून परिमाण हुने गरेको छ। यसले व्यापार घाटाको पहाड खडा भइसकेको छ। यो पुरानै ‘रोग’ हो।

स्वेदेशी उत्पादन निर्यात गर्ने उद्योगलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्देश्यले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले गत जेठ १५ मा सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमार्फत स्वदेशी उत्पादन निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था समेटिएपछि सम्बद्ध उद्योगमा सकारात्मक सन्देश गएको छ।

मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले तयार पारेको चालू आर्थिक वर्ष २०७८/७९ को १० महिनाको ताजा तथ्यांकले पनि व्यापार घाटाको चुलिँदो अवस्था सचित्र वर्णन गर्छ।

यही व्यापार घाटालाई थोरै भए पनि सम्बोधन गर्न स्वदेशी उत्पादन निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था घोषणा गरिएको अर्थ मन्त्रालयका एक अधिकारीले बताए।

‘स्वदेशी उत्पादन निर्यात गर्ने उद्योगलाई आकर्षक परिमाणबराबरको नगद लाभांश उपलब्ध गराउनु भनेको व्यापार घाटा कम गर्न नै हो,’ ती अधिकारीले बुधबार आयोमेलसँग भने, ‘भन्नेहरूले त यो पपुलिस्ट व्यवस्था हो पनि भन्छन्, तर यो व्यवस्थलाई त्यसरी हेर्नुभएन। यसबाट स्वदेशी उद्योगलाई उल्लेख्य फाइदा पुग्छ। त्यो भनेको व्यापार घाटा कम हुनु हो।’

राष्ट्र बैंकको ताजा तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७८–७९ को १० महिनामा मुलुकले १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँबराबरको व्यापार घाटा सहेको छ।

यो परिमाण भनेको नेपालबाट विभिन्न देशमा वस्तु तथा सामान निर्यात गर्दा जति आम्दानी भएको छ, त्योभन्दा १४ गुणा बढी परिमाणको वस्तु तथा सामान आयात भएको तथ्य हो।

चालू आर्थिक वर्षको १० महिनामा नेपालबाट १ खर्ब ७३ अर्ब ३५ करोड रुपैयाँबराबरका वस्तु निर्यात भएका छन्। २०७८ साउनबाट चैतभित्र उक्त परिमाणबराबरका वस्तु विभिन्न देश निर्यात भएका हुन्।
तर, सोही अवधिमा नेपालमा १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँबराबरका वस्तु आयात भएको तथ्यांक राष्ट्र बैंकसँग छ।

यसलाई हिसाब गर्दा पछिल्लो १० महिनामा हामीले विभिन्न देशमा बिक्री गरेर आम्दानी गरेको कूल परिमाणभन्दा खरिद गरेर ल्याएपछि विदेशीलाई भुक्तानी गरेको खर्चको परिमाण १४ गुणाले बढी भएको देखिन्छ।

अगामी आर्थिक वर्षबाट स्वदेशी उत्पादन गर्ने उद्योगहरूले प्राप्त गर्ने नगद अनुदान व्यवस्थाले सिमेन्ट, जुत्ता, स्टिल, क्लिंकर, सूचना तथा प्रविधिमा आधारित, प्रशोधित पानीजस्ता व्यवसाय प्रत्यक्ष लाभान्वित हुनेछन्।

८ प्रतिशत नगद अनुदान भनेको ठूलो परिमाणको व्यवस्था हो। सिमेन्टदेखि जुत्ता, स्टिललगायत उद्योगी व्यवसायीले बारम्बार स्वदेशी उत्पादन गर्ने उद्योगलाई राहत उपलब्ध गराउन नगद अनुदानको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको लामो समय भएको थियो।

विगतमा सरकारले मूल्य अभिवृद्धि (भ्यालु एडिसन) को प्रतिशतअनुसार तीनदेखि पाँच प्रतिशतसम्मको नगद अनुदान दिँदै आएको थियो। यसरी नगद अनुदान प्राप्त गर्नेमा विभिन्न २७ किसिमका वस्तु थिए। तर, यसपालि भने आगामी आर्थिक वर्ष सुरुवात साउन १ गतेबाट एकैपटक ८ प्रतिशतको नगद लाभांश पाइने हुँदा स्वदेशी उत्पादन गर्ने उद्योगले सन्तोषको सास फेरेका छन्।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० महिनामा वस्तु निर्यात ५९.८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष सोही अवधिमा यस्तो वृद्धि ३२.२ प्रतिशतमात्र थियो।

गन्तव्यका आधारमा भारततर्फ ७२.९ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात २५.६ प्रतिशतले बढेको छ। उत्तरी छिमेकी चीनतर्फ भने निर्यात २४.९ प्रशितले घटेको छ।

वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, धागो (पोलिस्टर तथा अन्य), ऊनी गलैंचा, पिनालगायत वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, औषधी (आयुर्वेदिक), दन्त मञ्जन, तारलगायत वस्तुको निर्यात घटेको छ।

गत १० महिनामा कूल वस्तु आयात २८ प्रतिशतले बढेर १६ खर्ब ४ अर्ब ६५ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा आयात २२.३ प्रतिशतले बढेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २२ प्रतिशत, चीनबाट २३.८ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ४९.९ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, सुन, अन्य मेसिनरी तथा पार्टस्लगायत वस्तुको आयात बढेको छ भने एमएस बिलेट, रासायनिक मल, सिमेन्ट, दाल, धान तथा चामललगायत वस्तुको आयात घटेको छ।

नौ महिनामा कूल वस्तु व्यापार घाटा २४.९ प्रतिशतले बढेर १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो घाटा २१.५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा ८.६ प्रतिशत थियो।

स्वदेशी उत्पादन गर्ने उद्योगलाई नगद अनुदान दिँदा छिमेकी भारतमात्र नभई तेस्रो मुलकमा समेत हाम्रा उत्पादन प्रतिस्पर्धी हुनसक्ने अर्थ मन्त्रालयको भनाइ छ।

‘नेपालमा उत्पादन हुने सिमेन्ट, जुत्ता, प्रशोधित पानी, क्लिंकर, जस्तापाता लगायत वस्तुले भारतमा राम्रो बजार बनाउन सक्ने सरकारको अनुमान छ,’ अर्थ मन्त्रालयका ती अधिकारीले भने, ‘हामीले धेरै नै अध्ययन–अनुसन्धान र बजार हेरेर स्वदेशी उत्पादन गर्ने उद्योगलाई नगद अनुदान दिने व्यवस्था बजेटमार्फत घोषणा गरेका थियौं। यसबारे हामीलाई पनि सकारात्मक सन्देश प्राप्त भइरहेका छन्।’

उद्योग विभागका एक अधिकारीले स्वदेशी उत्पादन गर्ने उद्योगलाई नगद अनुदान दिँदा नेपालबाट निर्यात हुने वस्तु तथा सामानको भाउ कम हुने र त्यसबाट दक्षिणी छिमेकको बजारमा नेपाली वस्तु तथा सामानले अन्य देशका उत्पादनसँग प्रतिस्पर्धा गर्न सहज हुने बताए।

उनका अनुसार उत्तरी छिमेकी चीनले केही संख्यामा आफ्ना स्वदेशी वस्तु तथा सामानमा १८ प्रतिशतसम्मको भारी नगद अनुदान उपलब्ध गराइरहेको छ। आगामी आर्थिक वर्षबाट उपलब्ध गराउने घोषणा गरिएको नगद अनुदान व्यवस्था सकारात्मक कदम हो। यसलाई बिस्तारै बढाउँदै लगे अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने निश्चित छ।

हाल सरकारले कृषि उत्पादन, तयारी पोसाक, गलैंचा, छाला, सुनचाँदीका गहनालगायतका १५ किसिमका वस्तु तथा सामानमा तीन प्रतिशत नगद अनुदान दिँदै आएको छ। त्यसैगरी चिया, कफीलगायत १२ थरी स्वदेशी उत्पादन निर्यात गर्दा भने पाँच प्रतिशत नगद अनुदान दिँदै आएको छ।

अब यी दुवैलाई जोडेर एकैपटक ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था घोषणा सरकारले गरेको हो।

उद्योग विभागका अनुसार ‘निर्यातमा नगद अनुदान व्यवस्थाको प्रभावकारिता सम्बन्धी अध्ययन २०७८’ ले निर्यातमा नगद अनुदान वृद्धि गर्न सरकारलाई सिफारिस गरेको थियो। हाल ४ सयहाराहारी निर्यातकर्ताले अनुदान माग गरे पनि सवा ३ सय जतिले मात्र अनुदान पाएका छन्।

नगद अनुदान दर बढ्ने व्यवस्था घोषणाले स्वदेशी वस्तु उत्पादन गर्दै आएको निजी क्षेत्र थोरै भए पनि उत्साही देखिएका छन्। नेपाल उद्योग परिसंघले स्वदेशी उत्पादन निर्यातमा विगतदेखि नै नगद अनुदानको दर बढाउनुपर्ने माग गर्दै आएको थियो। आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा आउने ८ प्रतिशतको नगद अनुदानलाई पनि सकारात्मक नै लिइएको परिसंघको भनाइ छ।

नेपालमा उत्पादित जुत्ता, जस्तापाता लगायत वस्तु वर्षौंदेखि भारतीय बजारमा निर्यात हुँदै आएको छ।


Leave a Reply

Your email address will not be published.