नागरिकता विधेयक अघि बढाउन सत्ता साझेदार दलबीच सहमति

नागरिकता विधेयक अघि बढाउन सत्ता साझेदार दलबीच सहमति

संसदमा विचाराधीन रहेको नागरिकता विधेयकलाई अगाडि बढाउने विषयमा सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन्। गठबन्धनका शीर्ष नेताहरू बुधबार बालुवाटारमा बैठक बसेका थिए।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधिसभामा पेस गरेको थियो। यसमा नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई दिन प्रस्ताव गरिएको अंगीकृत नागरिकतामा मुख्य दलहरूबीच नै विवाद छ।

उनीहरूबीच विकसित राजनीतिक घटनाक्रम र अन्य मुद्दाहरूमा छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक टुङ्ग्याउन प्रस्ताव गरेका थिए र अरू नेताहरूले त्यसमा सहमति जनाएका थिए।

बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले शान्ति प्रक्रियाबारे अहिलेसम्म भएका विवरणहरू सुनाएका थिए। त्यस्तै नागरिकता विधेयकलाई अघि बढाउने विषयमा पनि सबै शीर्ष नेताहरू सहमत भएको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकरी दिए।

बैठकमा मूल्यवृद्धिका बारेमा पनि नेताहरूले चर्चा गरेका थिए। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत गठबन्धनका अरू शीर्ष नेताहरू थिए।


Leave a Reply

Your email address will not be published.