नेपालमा अब ‘योग पर्यटन’

नेपालमा अब ‘योग पर्यटन’

योग स्वास्थ्य विज्ञान, मनोविज्ञान, समाज विज्ञान र समग्रमा अध्यात्म विज्ञानका दृष्टिले अत्यन्तै उपयोगी विधा हो, विद्या हो। योगले शरीरलाई स्वस्थ बनाउँछ भने योगद्वारा नै शरीरको सदुपयोग र समुन्नति गर्दै, साधना गर्दै मुक्ति समेत प्राप्त हुन्छ।

योग शरीरका लागि हो र शरीरकै साधनाद्वारा मुक्ति, मोक्ष वा निर्वाणको एवं ब्रह्मज्ञान वा चैतन्य बोधका लागि पनि हो। समग्रमा योग भनेको स्वस्थ रहने, शारीरिक हिसाबले तन्दुरुस्त रहने, सकारात्मक र सहज रहने कला हो साथै मानसिक र भावनात्मक हिसाबले समाजसँग, प्रत्येक जाति, समुदाय, सम्प्रदायसँग समभावले जोडिने कला पनि हो।

योगका अनेकौं प्रकारका परिभाषाहरु दिइएका छन् । गीताका हिसाबले भन्ने हो भने ‘समत्वं योग उच्यते’ अर्थात् समता, सन्तुलन नै योग हो। यसै गरी ‘योगः कर्मसु कौशलम्’ अर्थात् प्रत्येक कर्ममा कुशलता प्राप्त गर्नु नै योग हो ।

यसैगरी गुरु गोरखनाथले ‘संयोगं योगमित्याहुस् जीवात्मपरमात्मनो’ भन्नुभएको छ अर्थात् जीवात्मा र परमात्माको संयोग गराउने जुन विद्या हो त्यो न‌ै योग हो। महर्षी पतञ्जलीका अनुसार ‘योगश्चित्तवृत्तिर्निरोधस्’ अर्थात् चित्तका वृत्तिहरुको निरोध, नियन्त्रण वा सन्तुलन नै योग हो।

संस्कृतको ‘युजिर् योगे’ धातुबाट बनेको योगको सामान्य सरल अर्थ जोडिनु हो तर गहन रुपमा विश्लेषण गर्ने हो भने कहाँ के के संग जोडिने रु को को संग जोडिने? र कसरी जोडिने? भन्ने प्रसङ्गमा जाँदा समग्र विश्व ब्रह्माण्डसँग नै योग वा सुसम्बन्ध देखिन्छ। व्यक्ति व्यक्तिसँग जोडिनु योग हो। शरीर र आत्मा जोडिनु योग हो। मन, बुद्धि, चित्त जोडिनु योग हो। हरेक जाति, समुदाय, सम्प्रदाय, क्षेत्र, वर्ग, वर्णसँग जोडिनु योग हो। पिण्ड ब्रह्माण्डसँग जोडिनु योग हो। मानव प्रकृती र पशुपंक्षीसँग सहज सकारात्मक रुपले जोडिनु योग हो। जीवात्मा परमात्मासँग जोडिनु योग हो।

योगको इतिहासलाई हेर्ने हो भने मूलतः भगवान् शिवसँग जोडिन पुग्छ। भगवान् शिवलाई आदियोगी, आदिनाथ भनिएको छ। यस सम्बन्धमा भन्नुपर्दा नेपाल नै योगको पहिलो भूमि हो। अहिले प्रतिवर्ष माघे संक्रान्तिका अवसरमा नेपाल सरकार , मूलतः शिक्षा मन्त्रालयको संयोजनमा राष्ट्रिय योग दिवस पनि मनाउने गरिन्छ।

इतिहासको क्रममा हेर्दा भगवान् श्रीकृष्णद्वारा योगको विशेष व्याख्या गरिएको छ। गीताका ज्ञड अध्याय ठ सय श्लोक योगकै बारेमा व्याख्यान हुन्। यसैगरी पतञ्जलि, घेरण्ड आदि ऋषिले पनि योगका बारेमा विशेष चर्चा गरेका छन्। समग्र वेद, उपनिषद् हरुमा पनि योगकै बारेमा चर्चा गरिएका छन्। यसै क्रममा नेपालको सन्दर्भसँग जोडेर भन्नुपर्दा गुरु गोरखनाथ र मच्छिन्द्रनाथलाई विशिष्ट योग गुरुका रुपमा मानिन्छ।

आदिगुरु शिवले ‘योगमार्गप्रचाराय मया रुपमिदं धृतम्’ भनेका छन् अर्थात् म स्वयं शिव हुँ र मैले योगमार्गको प्रचारको लागि गोरख रुप धारण गरेको हुँ। वेद-उपनिषद्, पुराण लगायत हाम्रो बौद्ध परम्परा, जैन, सिख, किराँत, बोन परम्परा आदिमा भएका योग चिन्तनहरू, योगशूत्रहरू र दर्शनहरूलाई पनि सम्मान गर्दै जाँदा नेपाल नै योगको मूलभूमि हो भन्ने सिद्ध हुन्छ।

राष्ट्रगुरु योगी नरहरिनाथले प्रतिपादन, सम्पादन र संकलन गरेका अनेकौं गोरक्ष ग्रन्थ लगायत स्कन्दपुराण, हिमवत् खण्डले पनि नेपालकै महिमागान गरेका छन्-कैलाशः प्रथमः शिवस्य वसतिस देवदेशो हिमालयस्स जगज्ज्येष्ठो हिमालयस् आदि।

अहिले समाजमा देखिएको हिसाबले पतञ्जली र गुरु गोरखनाथको नाम न‌‌ै श्रेष्ठ देखिन आउँछ। योगका प्रकारहरुका सम्बन्धमा धेरै प्रकारका विचारहरु छन् तथापि पतञ्जलीले अष्टाङ्ग योग भनेर व्याख्या गरेका छन्स जसमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधी पर्दछन्।

घेरण्ड संहिताका अनुसार भने सप्तांग योग(षट्कर्म, आसन, मुद्रा, प्रत्याहार, प्राणायाम, ध्यान, समाधी) भनिएको छ।

अनि यसैगरी गुरु गोरखनाथले षडङ्ग योग भनेका छन् जसमा यम र नियमलाई गणना नगरिकन आसन, प्रणायाम बाट मात्र गणना गरिएको छ।
गुरु गोरखनाथको बिचार अनुसार यम, नियम त योग साधकहरुका लागि मात्र नभईकन प्रत्येक मानवका लागि न‌ै अनिवार्य छ। हरेकले यम र नियमको पालना गर्नै पर्दछ अर्थात् यम भनेको अहिंसा सत्य अस्तेय, ब्रह्मचर्य, अपरिग्रह तथा नियम भनेको शौच,सन्तोष, तप, स्वाध्याय, ईश्वरप्रणीधान हो। बुद्धका अनुसार पञ्चशील भनेको पनि यही हो।

यसैगरी योगका प्रकारहरुको बारेमा अर्को दृष्टिले हेर्नुपर्दा गीतामा वर्णित भक्तियोग राजयोग, कर्मयोग, ध्यानयोग, लययोग, नादयोग आदि पनि योग नै हुन्। यी सबैले पनि अन्तमा गएर योगकै बारेमा व्याख्या गरेका छन्। सामान्यतः योग आसन र प्राणायामपरक भएता पनि गीतामा योगका अन्य सम्पूर्ण अंगहरुलाई पनि समाविष्ट गरिएको छ।

विशेष रूपमा भन्नुपर्दा नेपाल हठयोगको भूमि हो। केही मानिसहरूको बुझाइमा हठयोग भनेको बलपूर्वक गरिने, संकल्पपूर्वक गरिने, निश्चयपूर्वक गरिने वा अलिकति बढी दबाब दिएर गरिने भन्ने अर्थ लागे तापनि यसको विशिष्ट अर्थ भने भिन्नै छ। ह भनेको सूर्य हो भने ठ भनेको चन्द्रमा हो।

अर्थात् पिंगला नाडी र इडा नाडीलाई जगाउन, जोड्न सक्नु अर्थात् सूर्य र चन्द्र लाई जोड्न सक्नु अर्थात् शरीरमा भएका दुई प्रकारको उर्जा शक्तिलाई जोड्न सक्नु नै योग हो-सूर्याचन्द्रमसोर्योगात् हठयोगोकभिधीयते।

सम्पूर्ण सनातन पूर्वीय ॐकार परम्परामा योगको मात्रै प्रत्यक्ष अप्रत्यक्ष रुपमा व्याख्या गरिएको छ। भगवान् गौतम बुद्धको ध्यान पनि योग नै हो। सिखहरुको सँगीत, सेवा र साधना पनि योग नै हो।

भगवान् महावीरको साधना र अणुव्रत पनि योग नै हो। किराँत र बोन परम्परामा रहेको शिव शक्तिको उपासना पनि समग्रमा योग नै हो।

योगको महत्व दार्शनिक र शास्त्रीय हिसाबले मात्र नभइकन नेपालको चाडपर्व, परम्परा, सामाजिक जीवन, रहनसहन, रीतिरिवाज, संस्कार र यहाँका रैथाने परम्परासँग जोडेर हेर्दा पनि यहाँ यत्रतत्र सर्वत्र योगको महिमा अभिव्यक्त भएको छ।

नेपालको समग्र मूल परम्परा, कुल परम्परा, माटो परम्परा, मष्टो परम्परा, मातृ परम्परा आदि जति पनि छन् ती सबैमा योग नै प्रत्यक्ष वा अप्रत्यक्ष रूपले अभिव्यक्त भएको छ किनकि जहाँ व्यक्ति-व्यक्ति बिचको मिलन छ जहाँ व्यक्ति र प्रकृति को बीच संयोग छ जहाँ व्यक्ति र पर्यावरण बीच एवं व्यक्ति र पशुपंक्षी बिच को मिलन छ त्यहाँ योग नै छ। जहाँ ज्ञान विज्ञानको, जहाँ तन र चेतनको, जहाँ बुद्धि र ज्ञानको, कर्म र धर्मको सम्मिलन छ त्यहाँ योग नै छ।

स्वास्थ्यका हिसाबले भन्ने हो भने त योगको अत्यन्तै ठूलो महिमा छ। ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ भनिन्छ अर्थात् कुनै पनि धर्मकर्मका लागि शरीर नै मूल साधन हो। सबभन्दा पहिले त शरीर स्वस्थ हुनुपर्‌यो, तन्दुरुस्त हुनुपर्‌यो। शरीर भएन भने त हामीले कुनै पनि उद्देश्य प्राप्ति गर्न सक्दैनौं। तनबाट चेतनको अनुभुति गर्नका लागि पनि हामीलाई स्वस्थ्य शरीर चाहियो। गुरु गोरखनाथले ‘योगदेहो महाबलः’ भनेको पनि यही हो।
महर्षी पतञ्जलीले अणिमा, महिमा आदि अष्टसिद्धिको योगसूत्रमा व्याख्या गरेको पनि त्यही नै हो।

अहिले विश्वमा बढेको कोरोना कालमा पनि योगलाई सबैभन्दा सशक्त उपचारको रुपमा स्वीकार गरियो।

विश्व स्वास्थ्य संगठन लगायत विश्वका सम्पूर्ण चिकित्सकहरुले, बुद्धिजीवीहरुले योगद्वारा नै प्रतिरोधी क्षमता बढाएर कोरोना जस्ता सङ्क्रामक रोगबाट बच्न सकिन्छ भन्ने कुरा लाई स्वीकारे।

त्यसैले आज अस्पतालहरुमा, विश्वविद्यालयहरुमा, कलेजहरुमा, स्कूलहरुमा, अनेकौं क्षेत्रमा अनेकौं रुपले प्रयोग गर्न थालियो योगलाई।

एकातिर योगलाई आसनका हिसाबले, फिजिकल फिट्नेसका हिसाबले प्रयोग गर्ने काम भइरहेको छ भने अर्कोतिर योगलाई ध्यान विज्ञानसँग जोडेर, माइण्डफुलनेसको, हार्टफुलनेसको विज्ञानसँग जोडेर, प्राण विज्ञानसंग जोडेर , सकारात्मक सोचको विज्ञानसंग जोडेर पनि अगाडि लानका लागि अनेकौ प्रकारका प्रयासहरु आज पश्चिमी मुलुकमा पनि भईरहेका छन्।

जबसम्म मानिस स्वस्थ हुँदैन, मानिसको मन स्वस्थ हुँदैन, भावना विचार स्वस्थ हुँदैन तबसम्म त्यो व्यक्तिले समाजका लागि केही पनि राम्रो कुरा गर्न सक्दैन।

आयुर्वेदमा पनि सुस्वास्थ्यका बारेमा बडो राम्रो व्याख्या गरिएको छ- प्रसन्नात्मेन्द्रियमनस् स्वस्थ इत्यभिधीयते।

आजभोलि विश्वका प्रसिद्ध कलाकारहरु, सामाजिक क्षेत्रका अगुवाहरु, अभियन्ताहरु, राजनेताहरु लगायत व्यापारीहरु, उद्यमीहरु, व्यवसायीहरु सबैले आजभोलि योगलाई एक अनिवार्य अभ्यासका रुपमा स्वीकार्न थालेका छन्।

उमेरका हिसाबले कम्तीमा आधा घन्टा दैनिक योग गर्नुपर्ने आज अनिवार्य आवश्यकताको रुपमा स्वीकारिएको छ। हुन त स्वस्थ रहनका लागि साईक्लिङ गर्ने, जिम गर्ने, स्विमिङ गर्ने, मर्निङ वाक गर्ने आदि अनेकौं प्रकारका अन्य तरिकाहरुलाई पनि स्वीकार गर्न सकिन्छ तर ती प्रक्रिया बाह्य शरीरप्रधान मात्र छन्।

योग भनेको शरीरप्रधान मात्र नभई मनोप्रधान, भावनाप्रधान, दृष्टिप्रधान, चेतनाप्रधान पनि छ। योग नै आज सबै प्रकारका स्वास्थ्यसँग जोडिएका समस्याहरूका साथै व्यक्तिसँग जोडिएका विविध समस्याहरूको एकमात्र अन्तिम निदान हो भन्न सकिन्छ ।

योगको प्रचारप्रसारका लागि अहिले विश्वमा अनेकौ प्रकारका योगगुरुले अत्यन्तै सकारात्मक सुन्दर विशिष्ट भूमिकाहरु खेलिरहेका छन्।

भारतको पनि कुरा गर्ने हो भने अहिले वर्तमानकालमा स्वामी रामदेव, आचार्य बालकृष्ण, श्री रविशंकर आदि विशिष्ट गुरुहरूको योगदानलाई हामीले सम्मान गर्नुपर्ने हुन्छ।

यसभन्दा पूर्वका स्वामी विवेकानन्द, महर्षि अरविन्द, महात्मा गाँधी, ओशो, महर्षि महेश योगी, महर्षि रमण, योगानन्द, आयङ्गर आदि योगमूर्तिहरुको सन्देशलाई पनि स्वीकार्नु पर्दछ।

नेपालको सन्दर्भमा पनि खप्तड बाबा, शिवपुरी बाबा, स्वर्गद्वारी महाप्रभु, बालागुरु षडानन्द लगायत राष्ट्रगुरु योगी नरहरिनाथ आदिको भूमिकालाई हामीले स्वीकार्नुपर्ने हुन्छ।

अझ योभन्दा पहिले जाने हो भने त राजर्षी जनकको धाम जनकपुर पनि हाम्रो नेपाल नै हो जहाँबाट जनक योग, अष्टावक्र गीता, याज्ञवल्क्य चिन्तनको उत्पत्ति भयो। यसैगरी १३ सय वर्ष पुरानो चौघेरा, दाङस्थित सिद्ध रत्ननाथको मन्दिर र उनको अहिंसापरक, वैराग्यपरक, भेदभावरहित योग सन्देश अत्यन्तै स्मरणीय छ।

भगवान् गौतम बुद्धको योगज्ञानले त सारा विश्वलाई प्रभावित गरेको कुरा सर्वविदितै छ। यसैगरी कपिलवस्तु ऋषि कपिलको जन्मस्थल मानिन्छ जसले सांख्ययोग दर्शनको प्रतिपादन गरे ।

सबै कुरालाई हेर्दै जाँदा नेपाल भनेको अतीत कालका पूज्य योगगुरु लगायत वर्तमान योगगुरूको, सिद्धहरूको, ऋषिहरूको, रिम्पोछेहरूको अत्यन्तै प्रसिद्ध पवित्र स्थल हो।

आज विश्वमै योगको डङ्का बजिरहेको छ। हरेक व्यावसायिक, शैक्षिक, धार्मिक, सामाजिक क्षेत्रमा योग गर्नु-गराउनु आवश्यकता बनेको छ।

एउटा फेसन जस्तो पनि बनेको छ। अमेरिका जस्ता विकसित मुलुकहरुमा त गर्दै जाँदा योग आज योगा बनेको छ र योगा उद्योग पनि बनेको छ।

योगलाई पश्चिमी मुलुकमा खेलका रूपमा पनि प्रयोग गरिएको छ। संगीतमा पनि प्रयोग गरिएको छ। अनेक प्रकारका ठूला समारोहहरूमा पनि योगका विभिन्न आयामहरूलाई जोडिएको छ।

ठूला-ठूला होटलहरूमा योगकेन्द्रको व्यवस्था गरिएको छ। विशाल अस्पतालहरूमा अल्टरनेटिभ उपचारको रुपमा मान्यता दिइएको छ।
पश्चिमी मुलुकमा योगको जुन लहर देखिन्छ त्यो लहरलाई ध्यानमा राखेर भन्ने हो भने त जुन व्यक्तिले योगसाधना गर्दैन ऊ समाजमा पछि पर्ने मात्र होइन कि समाजबाट आलोचित, उपेक्षित हुन सक्ने सम्भावना पनि छ।

टेन्सन, डिप्रेशन लगायत अनेकौं मानसिक बिमारीहरूको सकारात्मक विकल्प हो योग।

अस्थिर व्यवहार, चञ्चले स्वभाव, मन्दबुद्धि लगायत रिसाउने, झर्किने, एकोहोरिने, एक्लिने, हतारिने, गलत निर्णय गरिने वा निर्णय बदलिरहने, डराउने एवं सुसम्बन्ध कायम गर्न नसक्ने आदि अनेकौं व्यक्तिगत, पारिवारिक, सामाजिक समस्याको सुन्दर विकल्प हो योग।

सही मानेमा योगको अध्ययन, अनुसन्धान र अभ्यास गर्ने हो भने संसारमा हिंसा, अपराध, आत्महत्या, यौन दुर्व्यसन, तलाक, मद्यपान आदिको समस्या स्वत: घट्द‌ै जानेछ भन्ने कुरामा कतै कुनै शंका रहँदैन।

नेपालको सन्दर्भमा भन्दै जाने हो भने नेपाल भनेको योगभूमि हो, प्राकृतिक चिकित्साको भूमि हो, आयुर्वेदको भूमि हो, घरेलु चिकित्साको भूमि हो, मन्त्रचिकित्साको भूमि हो।

यस्ता कैयौं स्वास्थ्यसँग जोडिएका, मनोविज्ञानसँग जोडिएका, भावनात्मक विज्ञानसँग जोडिएका परम्परागत विद्या छन् यहाँ। यी सबलाई हामीले उजागर गर्नुपर्ने हुन्छ ।

नेपाललाई योग पर्यटनका हिसाबले पनि चिनाउन सक्छौँ। नेपालको जडिबुटीलाई योग विज्ञानसँग, स्वास्थ्य विज्ञान सँग जोडेर नेपालको समग्र आर्थिक समुन्नतिका लागि पनि हामी प्रयोग गर्न सक्छौं ।

विश्वलाई नेपालले के दिने त भन्दा हामीले योग, आयुर्वेद, प्राकृतिक चिकित्सा, घरेलु चिकित्सा सहित मन्त्र औषधि, देव औषधि, दिव्य औषधि दिने हो।

परम्परागत सनातन रुपले यहाँका वैदिक, बौद्ध, किरात, बोन परम्परा आदिमा निहित जुन सीप र ज्ञानको अभ्यास गर्दै आएका थिए हाम्रा पुर्खाहरुले त्यसलाई हामीले नयाँ तरिकाले वैज्ञानिक हिसाबले प्याकेजिङ गरेर सारा विश्वका लागि सुन्दर उपहार दिने हो।

सारांशमा , योग स्वस्थ मन, स्वस्थ शरीर, स्वस्थ्य चिन्तन, स्वस्थ जीवनयात्राको अत्यन्तै सबल माध्यम हो। हरेक विद्यार्थीका लागि, जिज्ञासुका लागि, व्यवसायीका लागि, समाजसेवीका लागि र प्रत्येक नागरिकका लागि योग एक अनिवार्य साधना हो।

संसारमा अनेक प्रकारका प्रतिस्पर्धा बढ्दैछन्, अवसर पनि बढ्दैछन्, रोग पनि बढ्दैछन्, भोग पनि बढ्दैछन्, अनेक प्रकारका राम्रा-नराम्रा चुनौती पनि बढ्द‌ैछन्।

अतः हामीलाई एउटा यस्तो विद्या र विधि चाहियो जसले हामीलाई हामी को हौं? कहाँ जादैछौं? कसरी जाँदैछौं? यस बारेमा सही निर्णय गर्न सिकाओस्।

समाजका हरेक प्रकारका आवश्यकता, आकांक्षा र प्रतिष्पर्धाका बीचमा पनि स्वस्थ शरीर, स्वस्थ्य मन, स्वस्थ्य भाव , स्वस्थ चिन्तन लिएर अघि बढ्न पनि सिकाओस्।

अब योग मात्र एक विकल्प हो सुन्दर सन्तुलित जीविका र जीवनका लागि स्वस्थ, सभ्य, समृद्ध, शान्त व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वका लागि।

योभन्दा बाहेक अर्को विकल्प नै छैन।

अन्त्यमा, गुरु गोरखनाथका कालजयी वाणीलाई स्मरण गरौं-

हँसिबा खेलिबा धरिबा ध्यानं, अहनिशि कथिबा ब्रह्मगियानं।
खावे पिवे न करे मन भंग, ते निहचल सदा नाथ के सँग।।

जय शिवगोरख।


Leave a Reply

Your email address will not be published.