प्रशिक्षक पाइलट ज्वारचन वायुसेवा निगमको अस्थायी महाप्रबन्धक नियुक्त

प्रशिक्षक पाइलट ज्वारचन वायुसेवा निगमको अस्थायी महाप्रबन्धक नियुक्त

काठमाडौं-

सरकारले नेपाल वायुसेवा निगमको अस्थायी महाप्रबन्धकमा प्रशिक्षक पाइलट दिपुराज ज्वारचनलाई नियुक्त गरेको छ।

केही दिनअघि मन्त्रिपरिषद बैठकले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेपछि उक्त पद रिक्त थियो। त्यसबाहेक महाप्रबन्धक पद पनि रिक्त रहेको अवस्था छ।

दुवै पद रिक्त रहेका बेला मन्त्रिपरिषदले प्रशिक्षक पाइलट ज्वारचनलाई निगमको नेतृत्व सम्हाल्ने गरी अस्थायी महाप्रबन्धक नियुक्त गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

१ सय ५८ सिट क्षमतायुक्त ‘एयरबस ३२०–२००’ सिरिजका न्यारो बडी जहाजका प्रशिक्षक पाइलट ज्वारचन यसअघि लामो समय निगमको अपरेसन डाइरेक्टर भएर काम गरेका थिए।

डेढ दशकदेखि निगममा जहाज उडाइरहेका ज्वारचनलाई पर्यटन मन्त्रालयले अर्काे व्यवस्था नभएसम्मका लागि महाप्रबन्धककाे जिम्मेवारीमा रहने गरी अस्थायी नियुक्ति गरिएकाे पत्र दिएकाे छ।


Leave a Reply

Your email address will not be published.