तेस्रो वर्षमा आयोमेल : उपलब्धि, चुनौती र रोमाञ्च

प्रकाशकीय

तेस्रो वर्षमा आयोमेल : उपलब्धि, चुनौती र रोमाञ्च

वैश्विक कोरोना महामारीको हुरहुर्रिंदो डढेलोबीच रोपिएको बिरूवा आजकै दिन दुई वर्ष पूरा हुँदा नभाँचिने काण्ड र हाँगासहितको सानो रूख बनेछ। पूरै वर्ष राम्रो घाम नलागे पनि बिरूवा स्वाभाविक गुणले हुर्केकै हो। बेतोड आँधी बेलाबेला चल्दा हल्ले पनि पुरानै ठाउँमा टक्क फर्किने प्रजाति यसको परेछ। त्यसमाथि अहिले सेता फूलहरू भित्रबाटै फैलेर फुल्दैछन्। यसर्थमा फल लाग्ने प्राकृतिक सुनिश्चितता पनि छ।

अर्थात्, www.aayomail.com स्थापनाको दुई वर्षमा जमिनमा सर्लक्क ठडिएको एउटा स्वस्थ वनस्पति हो। अबका दिनमा यसको थोरै प्रकृति अनुकूलन र मलजल–छिमलछामल जरुरी पर्ला। हामी यसको रोपण, हुर्काइ र जीवनप्रति सदाशयी एवं सहयोगी सर्वजनप्रति हार्दिक नमन गर्दछौं।

बिरूवाको विम्व प्रयोग गरेर प्रकाशकीय सन्देश लेख्दा म निकै रोमाञ्चित छु। कतै समाचार–आलेखमा पढेको छु, नेपालमा गरिने–गरिएका वृक्षरोपणमध्ये थोरै प्रतिशतमात्रै पनि सफल भएको भए पूरै नेपाल ढाक्ने परिमाणको जंगल भइसक्थ्यो। वृक्षरोपणको यो दयनीय सफलता दर एवं नेपाली मिडियाहरूको अवस्था करिब उस्तै हो।

नेपालमा ‘मिडियम’ को आकर्षण अटुट लहरका रूपमा आउने तर ‘कन्टेन्ट स्तर’ र बजारको ‘धारण क्षमता’ चाहिँ खुम्चिँदैमात्र जाने विरोधाभाषी अवस्था रहेकै हो। डिजिटल समाचार माध्यमहरू लगभग यही नियतिबाट गुज्रनु नौलो होइन। सर्सती हेर्दा सञ्चालन खर्च सरल देखिए पनि सामग्री प्रवाह र स्तरको निरन्तरतालाई मानक बनाउन चाहनेहरूलाई त्यो सत्य ठहर्दैन। बजार संख्यै देखेर अचम्भित छ। समाचार कक्षहरूको उत्पादन गुणस्तर खास बढेको छैन, दक्ष जनशक्तिको चरम अभाव छ। अपडेटको निम्छरो अभ्यासमै बजार शक्तिको ठूलो हिस्सा अलमलिरहेको छ।

आयोमेल आमसूचना उपभोक्तालाई समाचारको जंगलभित्र धकेल्ने प्रचलित धारबाट सुरुदेखि नै अलग थियो, सिद्धान्ततः। खोज समाचार शृंखला र विस्तृत आलेखहरूको परम्परामा यसले दुई वर्षमा ‘खबरको निधो’ लाई नै निखार्दै लगेको छ। ‘आयोमेलले लेख्न त लेख्छ है’ भन्ने पार्नु नै हाम्रो खास ब्रान्डिङ हो, त्यो बनिसकेको छ।

अबको तेस्रो वर्षमा यसले नेपाली मिडिया बजारमा आफ्नो अभेद्य स्थान बनाउन कठोर मिहिनेत गर्नुपर्ने छ। तेस्रो लहरसम्मको महामारीलाई सामना गरिसकेपछि उत्पन्न अर्थतन्त्रको प्रतिकूल अवस्था चिर्नु यो लक्ष्यसँगैको अर्को चुनौती हो। पत्रकारिता त्यसै सहज पेसा होइन, यो युद्ध मैदानमा जँचिने कर्म हो। हामी त्यसका लागि तयार छौं।

आजको दिन हामीले सम्झनुपर्ने, धन्यवाद दिनुपर्ने असंख्य व्यक्ति–संस्थाहरू छन्। सकल पाठकवर्ग, विज्ञापनदाता र व्यावसायिक धर्ममा गाँसिएका सबैलाई हामी नछुटाइकन धन्यवाद भन्न चाहन्छौं। शुभचिन्तकहरूलाई साधुवाद भन्दै स्मरण गराउँछौं– यहाँहरूको सत्मनलाई न्याय गर्न हामी पछि पर्ने छैनौं।

यो संस्थाको स्थापनाकालमा अहोरात्र मिहिनेत गर्नुहुने सहकर्मी मित्रहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। हाल कार्यरत सबै सहकर्मी साथीहरूलाई समग्र उपलब्धिको सम्पूर्ण श्रेय दिन चाहन्छु।

साथै, आजैदेखि लागू हुने गरी संस्थाको कार्यकारी निर्देशकमा नियुक्त मेरा सहसंस्थापक मित्र सुशील भट्टराई, सम्पादकमा नियुक्त गजेन्द्र बोहरा (आयोमेल) र अमृत दाहाल (हेल्थपोस्टनेपाल) लाई संस्थाको उत्तरोत्तर प्रगति खातिर अभिभारासहित हार्दिक बधाइ ज्ञापन गर्दछु।

सुन्दर खनाल
अध्यक्ष
नेपइनसाइट मिडिया प्रा.लि.


Leave a Reply

Your email address will not be published.