भट्टराईद्वारा लिखित अग्नि नियन्त्रणसम्बन्धी पुस्तक ‘आगो’ विमोचन

भट्टराईद्वारा लिखित अग्नि नियन्त्रणसम्बन्धी पुस्तक ‘आगो’ विमोचन

काठमाडौं-

अग्नि नियन्त्रक किशोरकुमार भट्टराईद्वारा लिखित पुस्तक ‘आगो’ विमोचन गरिएको छ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा काठमाडौं जिल्ला समन्वय समितिका सभापति सन्तोष बुढाथोकी, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव डिजन भट्टराई, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई र डिपी नेट नेपालका कार्यवाहक अध्यक्ष राजु थापाले पुस्तक विमोचन गरे।

आगोसँगको व्यवहार र आगलागीबाट बच्ने उपायका बारेमा सरल नेपाली भाषामा लेखिएको पहिलो पुस्तक भएकाले यस क्षेत्रमा कार्यरत तथा सर्वसाधारण र विशेषगरी गृहिणीका लागि पुस्तक उपयोगी हुने लेखक भट्टराईले बताए।

‘आगलागी नियन्त्रणको लामो अनुभव, सिकाइ र भोगाइ समेटेर पुस्तक तयार पारेको छु,’ जुद्ध वारुण यन्त्रका पूर्वप्रमुख समेत रहेका लेखक भट्टराईले भने, ‘नियन्त्रित आगोले हाँसो ल्याउँछ तर अनियन्त्रित आगोले आँसु ल्याउँछ। त्यसकारण आगोमा सावधानी अपनाऔं।’

पुस्तक बिक्रीबाट प्राप्त रोयल्टी समुदायमा अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी सचेतना अभिवृद्धि कार्यमा खर्च गरिने जानकारी लेखक भट्टराईले दिए।

‘नेपालमा आगलागी नियन्त्रण तथा उद्धारबारे नेपाली भाषामा लेखिएको पुस्तकको अभाव छ। सर्वसाधारणलाई आगोसम्बन्धी जानकारी, आगलागी नियन्त्रण र उद्धारबारे जानकार दिन पुस्तक लेखेको हुँ,’ उनले भने, ‘समाजमा भएका आगोसम्बन्धी चेतनाको स्तरले गर्दा पुस्तक लेख्न प्रेरित गर्‍याे।’

त्यसैगरी डिपी नेट नेपालका कार्यवाहक अध्यक्ष राजु थापाले विपदसम्बन्धी पाँच पुस्तकको नाम लिँदा भट्टराईको यो पुस्तक पनि पर्ने बताए।

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव डिजन भट्टराईले आगलागी नियन्त्रणसम्बन्धी यो नेपालकै पहिलो पुस्तक भएको बताउँदै यसलाई सबै स्थानीय तहसम्म पु¥याउनुपर्ने धारणा राखे।

त्यस्तै पूर्वप्रहरी अतिरिक्ति महानिरीक्षक ठूले राईले यो पुस्तक अध्ययनबाट अग्नि जोखिम न्यूनीकरणमा उल्लेख्य सहयोग पुग्ने बताए।

कलाकार तथा गायत यमन श्रेष्ठले पुस्तकबारे चर्चा गर्दै भट्टराईले लेखेको नेपालकै पहिलो आगोसम्बन्धी गीत गाउन र म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाएको स्मरण गरेका थिए।


Leave a Reply

Your email address will not be published.