उपेन्द्रलाई बाबुरामको प्रस्ताव : सौहाद्रपूर्ण हिसाबले छुट्टियौं!

उपेन्द्रलाई बाबुरामको प्रस्ताव : सौहाद्रपूर्ण हिसाबले छुट्टियौं!

काठमाडौं- सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) मा आन्तरिक किचलो बढिरहेको बेला संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पार्टीबाट छुट्टिने संकेत गरेका छन्।

भट्टराईले अध्यक्ष उपेन्द्र यादवसँग सौहाद्रपूर्ण वातावरणमै पार्टीबाट अलग हुने प्रस्ताव गरेका हुन्।

बुधबार संसदीय दलको बैठकअघि यादवसँग भएको भेटवार्तामा भट्टराईले यस्तो प्रस्ताव गरेको जसपा स्रोतले जनाएको छ।

पार्टीबाट छुट्टिनेबारे भट्टराईले राखेको प्रस्तावबारे अध्यक्ष यादवले संसदीय दलको बैठकमा पनि ब्रिफिङ गरेका छन्।

‘बाबुरामजीसँग एक डेढ घण्टा कुराभयो। कुरा मिलेन भने किन विवाद गर्ने, पार्टीभित्र नयाँ शक्तिका कार्यकर्ता एडजस्ट गर्नसकिरहेका छैनन्, समायोजन पनि राम्ररी हुनसकेको छैन उहाँले भन्नुभएको छ,’ अध्यक्ष यादवले गरेको ब्रिफिङ उद्धृत गर्दै जसपाका एक सांसदले भने,‘विवाद नगरी सौहाद्रपूर्ण तरिकामा अलग हुँदा ठीक हुन्छ।’

पार्टीभित्र बहुमत रहेको भन्दै केही दिन अघिसम्म आक्रमक देखिएका भट्टराई एक्कासी रक्षात्मक अवस्थामा पुगेका छन्। पार्टीभित्र आफ्नो बहुमत रहेको भन्दै उनले मन्त्री हेरफेर गर्दा अध्यक्ष यादवको एकल हस्ताक्षर नमान्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेका थिए।

पार्टीका महत्वपूर्ण निर्णयमा तीनजना नेताको हस्ताक्षर हुने भएकाले मन्त्री हेरफेर गर्दा अध्यक्ष यादवको एकल हस्ताक्षर आधिकारिक नहुने केन्द्रीय समितिको निर्णय उनले देउवालाई स्मरण गराएका थिए।

यसबीचमा भट्टराई पक्षले मन्त्री हेरफेरका साथै बहुमतकै आधारमा दलको नेता परिवर्तन गर्ने तयारीसमेत थालेको थियो। तर, केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलमा साथ दिने वाचा गरेकाहरू ‘ब्याक’ भएपछि भट्टराई रक्षात्मक अवस्थामा पुगेका हुन्।

जसपा स्रोतकाअनुसार भट्टराईले सौहाद्रपूर्ण वातावरणमै अलग हुनुका साथै पार्टीबाट गोरखामा जितेका दुईजना वडाध्यक्षलाई कारबाही नगर्न प्रस्ताव पनि अध्यक्ष यादवसँग राखेका छन्।

अलग हुँदा दुईजना वडाध्यक्ष पनि आफूसँगै आउने र पार्टीको कारबाहीमा पर्नसक्ने भएकाले उनले यस्तो प्रस्ताव गरेको स्रोतको भनाइ छ।

पार्टीभित्र आफ्नो बहुमत रहेको भट्टराई पक्षले दाबी गरिरहँदा सोमबार बसेको बहुमत केन्द्रीय कार्यकारिणी समितिको बैठकले मन्त्री हेरफेर र पार्टी हितविपरित गतिविधि गर्नेलाई कारबाही गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको थियो।

३३ जनामध्ये १९ जना कार्यकारिणी सदस्य सहभागी भएको त्यो बैठकले मन्त्री हेरफेर र कारबाहीको अधिकार यादवलाई दिएपछि भट्टराई अप्ठ्यारोमा परेका छन्।

कार्यकारिणी समितिको बैठकले गरेको निर्णयलाई बुधबार बसेको संसदीय दलको बैठकले अनुमोदन गरेको बैठकमा सहभागी एक सांसदले बताए।

संसदीय दलको बैठकमा भट्टराई, कृषिमन्त्रीसमेत रहेका महिन्द्रराय यादव र राजकिशोर यादवबाहेक उपस्थित भएका थिएनन्।


Leave a Reply

Your email address will not be published.