‘शान’की आमा अर्थात् ‘न्याय’की नीना

‘शान’की आमा अर्थात् ‘न्याय’की नीना

घरका भित्ताभरि हाँसिरहेका कलिला ती तस्बिरहरूले अहिले पनि नीनालाई झस्काइरहन्छन्- मामु म परीक्षा सकेर चाँडै घर आउनेछु।

उर्लिएका आँशु डिलमै रोक्छिन्, अनि सम्हालिन्छिन्, उनी- ऊ अब आउँदैन।

बस् यादहरूमात्रै आउँछन्। भिजेका परेलीमा तरेली बनेरमात्रै झुल्किनेछन् अब ‘शान’ का ती यादहरू। र, भित्तामा मुस्कुराइरहनेछन् घरका अनि दिलका भित्तामा।

मनमा उछालिएको त्यो ‘अपसकुन’

सन् २०१४ नोभेम्बर १३। मन कता-कता उडिरहेको थियो। कहिले मन उडेर नैनीतालमा डबुल्की मार्न पुग्थो। जसको एक छेउ डाँडामा उनले आफ्नो जीवनको एक टुक्रा छाडेकी थिइन्- छोरा शान प्रजापती।

घरिघरि उनलाई शानको यादले झस्काइरहेथ्यो त्यो बिहानदेखि नै।

बिहान १० बजेतिर उनको मोबाइलमा एउटा फोन आयो। त्यो फोन ‘शान’ ले पढ्ने स्कुलको थियो। र, उनका साथीले हतारिएको स्वरमा भने- शान बिरामी छ…।

बेचैन मन लिएर कार्यालय पुगेकी उनी त्यो कामै नगरी फर्किइन्।

नीना श्रेष्ठ। विश्व बैंकको नेपाल कार्यालयमा काम गर्छिन्।

पाँच वर्षअघि नैनीतालको सेरउड स्कुलमा छाडेर आएपछि पहिलोपटक उनले छोरा बिरामी भएको खबर पाइन्। भर्खरै तिहार सकेर शान होस्टेल फर्किएका थिए।

बिहानैदेखि त्यसै-त्यसै झस्किरहेको नीनाको मनमा अब त ‘डर’ को आगो सल्किसकेको थियो। उनले स्कुल, प्रिन्सिपल अनि अरू त्यहाँका आफन्तहरुलाई फोन घुमाउन थालिन्। तर, सुरुवातका धेरैपल्ट प्रिन्सिपलले उनको फोन रिसिभ नै गरेनन्।

चार दिनपछि दिल्ली पुग्दा नीनाले आफ्नो छोरा त देखिन्। तर ‘शान’ बोलेनन्। उठेनन्। मामु भनेर उनलाई ग्वाम्लाङ्ग अँगालो हालेनन्। बस् सुतिरहे। छामिन्, चिसिइसकेका थिए। नीना पनि चिसो भइन्।

आठ वर्षपछि न्याय

नीनाले बुझेकी थिइन्, त्यो सरासर स्कुलको लापरवाही थियो। वेवास्ता थियो। गैरजिम्मेवारी थियो। उनले प्रहरीमा उजुरी गरिन्। प्रहरीले दुई वर्ष लगाएर घटना अनुसन्धान गरी तयार पारेको १७ सय पृष्ठ लामो चार्जसिटसहित उनले नैनीताल अदालतमा स्कुल प्रशासनविरूद्ध मुद्दा हालिन्।

बुधबारमात्रै अदालतले हेडमास्टर अमनदीप सन्धु, होस्टेल वार्डेन रवि कुमार र परिचारिका पायल पाउललाई दोषी ठहर गर्दै हरेकलाई दुई वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना तिर्नुपर्ने फैसला सुनाएको छ।

कलिलो मृत्युमाथि खेलवाड

‘चर्च अफ नर्थ इन्डिया’को आगराले नैनीतालमा सञ्चालन गरेको ‘सेरउड’मा उपल्ला कक्षाहरूमा पनि पढाइ हुन्छ। नैनीतालको सेरउड कलेज भनेर पनि चिनिने यो भारतमै निकै चलेको विद्यालयमध्येको एक हो। भारतलगायत नेपालका धेरै हस्तीहरूले पनि यही कलेजमा पढेको इतिहास छ।

बलिउडका मुर्धन्य अभिनेता अमिताभ बच्चनदेखि भारतका धेरै राजनीतिज्ञहरूले यही कलेजमा पढेका थिए। भारतमात्रै होइन नेपालका धेरै विद्यार्थीहरूले त्यहाँ पढेका थिए र अहिले पनि पढिरहेका छन्।

शानका अंकल अनि अरू दाजु भाइहरूले पनि त्यहीँ पढेका हुन्। त्यही भएर नीनाले पनि उनलाई त्यहीँ भर्ना गरिदिइन्। ४ कक्षामा पहिलोचोटि भर्ना भएका ‘शान’ निभ्नुअघि कक्षा ९ मा पढ्थे।

तिहार मानेर विद्यालय पुगेका उनले आफूलाई केही अफ्ठ्यारो भएलगत्तै स्कुल प्रशासनलाई खबर गरेका थिए। तर उनलाई दिनसम्म उपचार गरिएन। बरू सिटामोल दिएर होस्टेलमै राखियो। उनी सिकिस्त भएपछि पनि विद्यालयले नीनालाई फोन गरेन।

बरू अन्तिम अवस्थासम्मै विद्यालयका प्रधानाध्यापकले नीनालाई घुमाइरहे। कहिले छोरालाई कुन अस्पतालमा पुर्‌याएको भने, कहिले राम्रो चेकजाँच भइरहेको छ भने। कहिले फोन उठाएनन्। कहिले के भनेर छेलिन खोजे। कहिले के भनेर ढाँटिरहे।

छटपटाउँदै चार दिनपछि दिल्ली पुग्दा नीनाले ‘शान’लाई पाइन्, तर उनी लास भइसकेका थिए।

यसरी नीनालाई घुमाइरह्यो स्कुलले-

  • पहिलोपटक कल नोभेम्बर १३ तारिख २०१४ बिहान १० बजे आएको थियो। छोरा शानका साथीले नैनितालस्थित स्कुलबाट लुकिलुकी नीनालाई फोन गरेका थिए।
  • लगत्तै उनले प्रिन्सिपललाई फोन गरिन्। तर त्यो कल रिसिभ भएन। अनि उत्तर पनि आएन। हतार हतार उनले इमेल लेखिन् र सोधिन् छोरालाई कस्तो छ?
  • लगभग ३ बजे उनलाई ‘हाउस मास्टर’को कल आयो। उनी रविकुमार थिए। उनले एकैसासमा भने तपाईंको छोरा एकदमै सिकिस्त छ र उसलाई बम्बे अस्पताल हलद्वानीमा भर्ना गरिएको छ।
  • नर्सहरूको नम्बर दिए। उनीहरूले छोरा नोभेम्बर ११ देखि बिरामी भएको जानकारी दिए। बिरामीका कारण दुई रातदेखि नसुतेको जानकारी शानले स्कुल प्रशासनलाई गराएका थिए।
  • स्कुलले त्यसपछि एकजना डाक्टरसँग कुरा गर्न भन्यो। जसले शानलाई हेरिरहेका थिए। त्यसपछि नीनाले काठमाडौंस्थित आफूले चिनेको डाक्टरलाई कुरा गर्न लगाइन् पछि थाहा भयो उनी त हड्डीका डाक्टर थिए। जब कि फिजिसियन हुनुपर्ने थियो। पछिमात्रै स्कुलले एकजना फिजिसियन डा. पमरजित रावसँग कुरा गरायो।
  • साँझ करिब ८ बजेतिर स्कुलका हेडमास्टरले फोन गरेर भने- हामीले बच्चालाई दिल्लीको अस्पतालमा लैजाँदैछौं। नीनाले हेडमास्टरसँग प्रष्टै भनिन् कि त्यो एम्बुलेन्स सबै सुविधासम्पन्न हुनुपर्छ र बिरामी छोरासँग एकजना डाक्टर पनि हुनुपर्छ। उनले छोरालाई एयर एम्बुलेन्सबाटै लैजाने अनुमति पनि दिएकी थिइन्। त्यो धेरै महंगो त थियो तर त्यो बेला उपलब्ध भएन भनेर खबर गरे। नीनाले आफैले त्यसको व्यवस्था गर्छु भन्दा पनि हेडमास्टरले मानेनन्। तर पछि थाहा भयो न उनले सुविधा सम्पन्न एम्बुलेन्समा लगेका थिए न त्यहाँ कुनै डाक्टर थिए। बरू एकजना प्राविधिक र एकजना स्याहार गर्ने महिलामात्रै थिए।
  • राति १ बजे हेडमास्टरले फेरि निनालाई फोन गरेर बच्चालाई एम्बुलेन्समै दिल्ली अस्पताल पठाइएको भनेर निनालाई फोन गरे। अनि एकजना भिजेन्द्र नामका डाक्टरको फोन दिए। तर निनाले ती डाक्टरको नम्बरमा फोन गर्दा कुनै उत्तर आएन।
  • वास्तवमा उनी डाक्टर थिएनन्। उनीले अंग्रेजीमा कुरा गर्दै सकेनन्। उनी आफैले प्राविधिक भएको तर आफू डाक्टर नभएको बताए। अरु कोही छ कि भनेर सोध्दा उनले आफूसँग कोही पनि नभएको बताए। ४. ४८मा फेरि उनै भिजेन्द्रले फोन गरे अनि निनालाई भने- तपाईंको छोरालाई हृदयघात भएको छ। अनि डाक्टर पनि साथमै छन्। तर वास्तवमा उनै एकजना भिजेन्द्र र अर्का स्वास्थ्य सहायक सुरेशबाहेक त्यो एम्बुलेन्समा कोही पनि थिएन। त्यसपछि उनले आफ्ना कुराहरू फेरिरहे। छोराको वास्तविक अवस्थाको बारेमा कुनै जानकारी नै दिएनन्। उनको फोनमा धेरै समय त सम्पर्क हुनै सक्दैनथ्यो। कहिले अफ भइरहेको हुन्थ्यो। उनीहरूले हलद्वानिबाट नोएडासम्म लगभग ७ घण्टाको यात्रा गरे। त्यो अवधिभरि उनीहले शानको बारेमा झुठ कुराहरू बोलिरहेका थिए।
  • हेडमास्टर पनि घरिघरि झुठ बोलिरहे। उनले एम्बुलेन्समा डाक्टरहरूको टिम नै भएको र हरेक १५ मिनेटमा बच्चाको जाँच गरिरहेको भनेर ढाँटिरहे। जब उनलाई भिजेन्द्र डाक्टर होइनन् भनेर निनाले भनिन् अनि उनले ‘पछि फोन गर्छु’ भनेर फोन काटिदिए। पछि फेरि उनले फोन गरेर भने- भिजेन्द्र डाक्टर नै नभएपनि धेरै अनुभवि र तालिम प्राप्त हुन्छ। उनलाई विश्वास गर्न सकिन्छ। र निनालाई फेरि भनियो- उनको बच्चालाई नोएडाको म्याक्स अस्पताल लगिएको छ।
  • फेरि भिजेन्द्रलाई फोन गर्दा त्यो फोन ड्राइभरले उठाए अनि भने- भिजेन्द्र अहिले छैनन्।
  • वास्तवमा शानलाई नोएडाको अपोलो क्लिनिकमा लगिएको थियो। र, शानलाई त्यहाँ मृत घोषणा गरिसकिएको थियो। तर बिहान ९.३० मात्रै निनालाई फोनमा भनियो- तिम्रो छोरा अब रहेनन्।
  • नोएडा सेक्टर २० स्थित प्रहरीको निगरानीमा शानको पोस्टमार्टम भयो। त्यसबाट पत्ता लाग्यो कि उनको मृत्यु ‘सेप्टिसिमिया’का कारण भएको थियो।

पीडापूर्ण लडाइँ

‘यो आठ वर्षको लडाईं निकै पीडापूर्ण रह्यो। र, कम्तीमा अब मेरो छोराको आत्माले पनि शान्ति पाउला…’ बुधबार दिल्लीस्थित विश्व बैंकमा काम गर्ने उनकै साथीहरूले फोन गरेर नीनालाई अदालतको फैसला सुनाउँदै गर्दा उनी रूघाले ग्रस्त थिइन्।

बर्रर आँशु झरे। ती शानका याद पनि थिए। शानका प्रेमाश्रु थिए। उनको त्यो पीडापूर्ण मृत्युका आशु थिए। आठ वर्षपछि जितेको एउटा न्यायको लडाईंका आशु थिए।

‘त्यो निकै पीडापूर्ण बाटो थियो। कठीन पनि थियो’ रूघा र ज्वरोले थलिएर काठमाडौंको डिल्लीबजारस्थि घरमै क्वारेन्टाइन बसेकी नीनाले भनिन् ‘तर ढिलै भए पनि सत्यको जित भएको छ र न्याय भएको महसुस भएको छ। म भारतीय न्यायालयलाई यो निष्पक्ष न्यायका लागि धन्यवाद दिन्छु।’

कैयौं घण्टा छटपटाउँदै दिल्ली पुग्दा उनले एम्बुलेन्समा देखिन्, स्कुल ड्रेसमै ढलिरहेको छोराको चिसिएको शरीर थियो।

पोस्टमार्टमपछि पत्ता लागेको ‘सेप्टिसिमिया’ खासमा निमोनिया बिग्रिएपछि हुने संक्रमण हो। ब्याक्टेरियाका कारण रगत विषाक्त भएपछिको चरणमा बिरामीको जीवन र मृत्युको सम्भावना लगभग आधिआधि नै हुन्छ।

सुरूवातमै राम्रो उपचार पाएमा बिरामी त्यो चरणसम्म पुग्नै पाउँदैन। तर नैनीतालको ‘सेरउड’ होस्टेलमा ‘शान’ले न उपचार पाए न हेरचाह। न नीनाले आफ्नो छोराको वास्तविक अवस्था नै थाहा पाइन्।

चार दिनअघि नै ज्वरो आएपछि स्कुल प्रशासनलाई खबर गरेका शानलाई अन्तिम अवस्थामा रगत वान्ता गर्दासम्म पनि सिटामोलमात्रै खुवाएर होस्टेलमै सुताइयो।

नजिकै ठूला र राम्रा अस्पतालहरू पनि थिए। तर स्कुलले उनलाई अस्पताल लगेन। न परिवारलाई राम्रोसँग खबर नै पठायो। बरू फोन गर्दापनि अनेकथरि बाहाना गरेर शानको अवस्थालाई ढाकछोप गरिरह्यो। बिरामी भएदेखि मृत्यु हुँदासम्म पनि छोराको अवस्था नीनालाई थाहा थिएन।

‘तर उनीहरूलाई थाहा थियो। कति क्रिटिकल अवस्थामा छ भनेर होस्टेल वार्डेनलाई थाहा थियो। प्रिन्सिपललाई थाहा थियो’ ती दिनहरू सम्झना अझै नीनासँग ताजा छन् ‘त्यतिबेलै होस्टेलमै राम्रो केयर भएको भए अहिले मेरो छोरा मेरै काखमा हुन्थ्यो।’

हो, साँच्चै २२ वर्षे ‘शान’ हुन्थ्यो यतिबेला नीनाका अघिल्तिर अनि ‘सान’सँग भनिरहेको हुन्थ्यो- मामु म सिए(चार्टर अकाउन्टेन्ट) बन्दैछु।

‘शान’ आफैमा ‘स्मार्ट’ थियो। त्यही कलिलो उमेरमा उसले उल्टै नीनाको स्याहारमा चासो दिन्थ्यो। नीनाले ‘शान’लाई एक्लै हुर्काएकी हुन्। ‘एकल’ अभिभावक बनेर।

‘उसले त मलाई आफै केयर गर्थ्यो’ नीनालाई विश्वास छ ‘किनकि ऊ मेरो शान हो। उसले पक्कै आफ्नो बिरामीका बारेमा स्कुलमा भनेकै थियो। साथीहरूलाई केही परे पनि आफै अघि सर्ने केटा हो।’

नेपालदेखि यो लडाईं भारतभरि नै चर्कियो। सेरउडका पुराना विद्यार्थीहरूले त्यसमा साथ दिए। त्यही कलेजमा पढेका नेपालका सामाजिक अभियन्ता उज्ज्वलविक्रम थापाले नेपालदेखि भारतसम्मका अनि संसारभर फैलिएका पुराना विद्यार्थीहरूलाई ‘शान’को न्याय अभियानमा जोडे।

हरेक दिनजसो नेपाल र भारतका सडकमा ‘मैनबत्ती’हरू बले। राजनीतिक मुद्दा नै बन्यो। दुई देशकै सम्बन्धका कुरा चले। नेपाल र भारतका संसदमा सांसदहरूले समेत कुरा उठाए।

नेपालका तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालादेखि शेरबहादुर देउवासम्मले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधै कुरा गरे।

२०१४ को काठमाडौं सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सडकमा ‘स्वागत’ गर्दै थापालगायतका अभियान्ताहरूले शानका लागि न्याय मागे।

‘शान आज कतै मुस्कुराइरहेको हुनुपर्छ’ थापाले भनेका छन्, ‘शानका लागि न्यायको लडाईं सुरू गरेको झन्डै ८ वर्षपछि दोषीलाई जेल सजाय भएको छ।’

राजनीतिबाट अलग भएर समाजसेवाको बाटो समाएका थापा ‘एसिड छ्याप्ने’ विकृतिलाई ‘अपराध’ करार गर्न वर्षौंसम्म एक्लै लागिरहे। ‘जलेका’हरूलाई उद्धारदेखि उपचारसम्म रातदिन खटिने र आफ्नै परिवार सरह उनीहरूलाई प्रेम बाँड्ने थापाको त्यो अभियान पनि अन्तत: सफल भयो र सरकारले त्यसलाई अपराध मानेर विधेयकसम्म ल्यायो।


Leave a Reply

Your email address will not be published.