परिवर्तन र स्वतन्त्रतामा ‘सुखवाद’को चक्कर

परिवर्तन र स्वतन्त्रतामा ‘सुखवाद’को चक्कर
सांकेतिक तस्विर : इन्टरनेट

सिद्धान्त…फिलोसफि, आइडोलोजी, धार, लाइन, संगठन…! पद भन्दा पर प्राकृतिक स्वरुप नै आनन्द हो!

तर स्वतन्त्र नै त भन्न मुस्किल छ, मानिस स्वतन्त्र कसरी पो होला र!

साइमण्ड निक क्रिश्चियन धर्म मान्ने एक क्यानेडियन मित्र हुन् मेरा। एक दिन कफी पिउँदै उनले सुखका बारेमा गफिने मुड बनाए।

कति काम र दुःखको मात्रै कुरा गर्ने! ल आज सुखका कुरा गरौं।

उनी यो विषयमा प्रज्ञा शक्ति सहितका दृढ सोंच भएका ब्यक्ति हुन् भन्नेमा म ढुक्क छु।

कुरा कहाँबाट सुरू गर्ने? भन्ने उल्झनमा थिएँ, र साइमण्ड निक पनि त्यस्तै अवस्थामा थिए।

कफी पिउँदै साइमण्ड निकले सुख कस्तो हुन्छ? भनेर सोझै प्रश्न तेर्स्याउँछन्। अनि सुरू हुन्छ गफिन क्रम।

मैले प्रश्नको जवाफ महाभारतको शान्ति पर्वमा उल्लेख भएको यो हरफले जवाफ दिदैं भनें ‘सर्वस्य सुखमिप्सितम।’ अर्थात् सुख सबैको प्रिय हुन्छ।

मलाई थाह छ साइमण्ड निक हिन्दु धर्मावलम्वीको एउटा ग्रन्थ महाभारतको विषयका एक अध्येयता हो।

महाभारतको शान्ति पर्व ३ सय ६५ अध्यायसम्म छ।

शान्तिपर्वलाई धर्म, दर्शन, राजनीति र आध्यात्म ज्ञानका बारेमा रहेको भ्रमलाई स्पष्ट पारिएको रुपमा लिइन्छ।

गफिँदै जाँदा हाम्रो मानसिक वृत्तिमा पुग्छ कुरा।

मानिसको मानसिक वृत्ति तीन प्रकारको हुन्छ भन्ने कुरा मनोविज्ञानले दर्शाउँछ। भावना, प्रज्ञा शक्ति र शंकल्पशक्ति यी तीन मानसिक वृत्तिका कुराहरूसँग कसरी परिचित हुने? भन्ने प्रश्नले जो कोहीलाई घोत्लिन बाध्य बनाउँछ।

गजव त के छ भने शंकल्प शक्तिमा भावना र प्रज्ञा जोडिएरै पो आउने गर्दछ। यसरी भन्दा कुनै एक शक्तिलाई प्राथमिकतामा राख्दा अर्को शक्तिले पनि सँगसँगै काम सुरू गर्छ। त्यसको मूल कारण सरल भाषामा भन्दा कुनै बेला कुनै एउटा शक्ति प्रधान भएर अघि बढ्छ त कुनै खास समयमा अर्को शक्ति हावी हुन्छ त्यसमाथि।

साइमण्ड निक मलाई तँ कुन शक्तिको पुजारी होस् भनेर गिज्याउँछ, बिचबिचमा।

यत्तिकैमा मैले साइमण्ड निकलाई कर्तब्य शास्त्रको बारेमा थोरै कुरा बताएँ। त्यही कर्तब्य शास्त्रको मूल कडी भनेको शंकल्पसँग जोडिएको हुन्छ।

 

साइमण्ड निक, फेरि बीचमा प्रश्न राख्छ, रिजल्ट के हो यस्को?

म जवाफमा साइमण्ड निकलाई शंकल्पको अन्तिम परिणाम भनेको क्रिया हो भनेर बुझाउने प्रयासमा रहन्छु।

त्यही क्रियाले नै हाम्रो नैतिकतालाई निर्धारण गर्छ भन्ने सम्म कुरा पुग्छ। सायद साइमण्ड निक मेरो जवाफबाट सन्तुष्ट हुन्छ।

मैले साइमण्ड निकलाई केही बेरको ब्रेकका लागि स्कन्क अनानिजको गीत सुन्न भनें – ‘आइ होप यु आर फिलिङ्ग ह्याप्पी नाउ, आइ सी यु फिल नो पेन यट अल इट सिम्मस, आइ ओण्डर ह्वाट यु आर डुइङ नाउ, आइ ओण्डर इफ यु थिङ्क अफ मी एट् अल…’ साइमण्ड निकले रिल्याक्स फिल गर्दै फेरि त्यही गीतको अर्को लाइन गुनगुनायो– ‘डु यु स्टिल प्ले द सेम मुभ्स नाउ, अर आर दोज स्पेसिअल मुड्स फर समवान एल्स…’

साइमण्ड निकले कुरा फेरि सुखका बारेमा थाल्यो। म उसलाई एक कदम अझैं अगाडी सुखवादका बारेमा सम्म बताउन खोज्दै छु।

केही बेरका लागि हामी संकल्प शक्तिलाई अलग गरेर हेरौं त!

अब भावना र प्रज्ञा शक्ति यी दुई वृत्तिको अनुकुलताबाट नै आत्म सम्भावनको स्थिति पैदा हुन्छ।

साइमण्ड निक प्रश्न गर्छ,  साँच्चिकै आत्म सम्भावन कसको अनुकुलतामा हुन्छ?

जवाफमा (म भन्छु) : यही पत्ता लगाउन त दुनियाँमा अनेकौं बहस भइरहेका हुन्छन्। पश्चिममा अरिस्टिपस, ऐपिक्युट्स, हब्सलगायत एकातिर छन् भने पूर्वमा चार्वक, वेद छन्।

कसैले सुखको खोजि नै कर्तब्य हो भन्छन्। यस्तो भन्ने मानिस भावना प्रधान हुन्छ्न भन्ने मान्यताको विकास भयो। तिनिहरू नै सुखवादी हुन् अर्थात हेडोनिष्ट हुन्।

सुखवादका कुरा रोकेर म फेरि मानिसका बारेमा फर्किन्छु, तर फेरि सुखसँग आफ्नो केही सम्बन्ध नभएको बताउने मानिसका लागि पनि कमी छैन यो दुनियाँमा।

कतिपय त यस्ता मानिस पनि छन् विश्वमा जो आफ्ना इच्छा र चाहनाको प्रतिकुल चल्नुलाई ‘पुरुषार्थ’ ठान्दछन्।

जो आफ्नो बुद्धि वा प्रज्ञालाई महत्व दिन्छन्। साइमण्ड निकले अलिकति कन्फ्यूजन पैदा भएको भन्दै कुराकानीलाई थप सरलता पैदा गर्न आग्रह गर्छ, त्यसो भए अझैं बुझिने भाषमा भन्दा, संसारमा भावना र प्रज्ञा दुवैलाई सन्तुलनमा राखेर दुवैको वृत्तिमा साँचो रुपमा आत्म सम्भावन खोज्नेहरू पनि छन्।

सुख खोज्नेहरू पनि बडो गजवका छन्। केहीलाई लौकिक सुख चाहिएको छ। जो यहींको जिन्दगी जिउनलाई काफी होस्। तर केही मानिसहरू फेरि स्वर्गीय सुख प्राप्तिको खोजमा आफ्नो जीवनको लक्ष्य बनाएर कुदेको कुद्यै छन्।

ती मध्य पनि कति त आफ्नो ब्यक्तिगत सुख नै सबथोक हो भन्ने मान्यताले ग्रसित छन्।

अनि एकथरि आफू ब्यक्तिसँगै पूरै समाज सुखी होस् भन्ने मान्यता राख्दछन्।

अब साइमण्ड निक प्रश्न गर्छ : के त्यसो भए मानिस यहाँ अरुलाई आप्फनो सुखको लागि उपयोग गरिरहेका छन्?

केही हदसम्म त्यो पनि हो। म जवाफलाई अलि फराकिलो बनाउन चाहन्थें, अधिकांश सुखको विषयमा सोंच्ने मानिसहरूको मूल प्रवृत्ति उपयोगितावाद हो। र जो आफ्नो मात्रै सुख हेर्छ त्यो स्वार्थवाद हो। तिमीलाई के मा सुख मिल्छ? साइमण्ड निकको प्रश्न थियो।

‘तत्सुखं यत्र निर्वातिः’ मैले जवाफ दिएँ, अर्थात् स्वतन्त्रतामा सुख छ मलाई।

बसाइलाइ विट मार्दै भन्छु :  आइ होप यु आर फिलिङ्ग ह्याप्पी नाउ… साइमण्ड निकको जवाफ : आइ वन्डर इफ यु आर डुइङ्ग नाउ…।

कुरो खास ठूलो वा भयङ्कर केही होइन।

वर्गीय संघर्षका थुप्रै नाइकेहरूलाई सिद्धान्त झोलामा राखेर पाँच तारेका स्विमङ्गपुलमा सिद्धान्त स्खलित भएको धेरै पटक देखें।

एक हल गोरुका पुच्छर निमोठ्ने वर्गका  हिमायतिहरूलाई मैले  ब्याडमिण्टनको कर्क हानेको देखें। गोरुको पुच्छर र कर्कमा भएको  रौं को गोरु बबेचेको सम्म पनि साईनो भेटिनँ।

अनि वर्गसंघर्षका लालफेटाले स्विमिङ् पुलमा यौनाङ्ग छोपेका झैं लाग्छ। यहाँ त भब्यतासँग राणाहरूको सभ्यता जोडिएको सम्झना आयो।

अनि त आऊजाऊ भइरहने पाँचतारे भित्रको स्विमङ् पुलमा क्रिडारत कैयौं कमरेडलाई अभिवादन गर्न कसरी हात उठ्थ्यो र!

दिउँसो खुल्ला मञ्चमा समाजवादको ब्याख्या गरेर पाँचतारेमा चल्ने स्नुकरको छडीमा सेतो डष्ट लगाउनेहरूको समाजवाद वास्तवमा सधैंभरिलाई अण्डरग्राउण्ड भइसकेको छ। जय नेपाल र लालसलाम भनेर सिद्धान्तलाई भजाउनेहरूको भाषण र पत्रिकामा लख्ने  लेख भन्दा त मेरै नेपालगञ्जिया चिरकुट शायर साथीको शेर सुन्छु म।

मलाई वर्गसंघर्षका बुख्याँचाहरूको प्रवृत्ति वीरसमशेरभन्दा कम होइनन् भन्ने स्पष्ट भयो।

समाजवादको जपना गर्नेहरूलाई पाँच तारेका स्विमङ् पुलमा आलिङ्गन भएको देख्दा, यो लतको कुरा रैछ भन्ने बुझ्न मलाई समय लागेन।

वास्तवमा यो सबै  ‘डबल सट् स्प्रेसो’ को करामत थियो  कि झै पनि लाग्छ बेलाबखत।

एक दिनको घट्ना छ : त्यो भत्किएको पर्खाल भित्र स्वादिलो कफी पाइन्छछ भन्ने सुनेर मलाई तलतल नलागेको नहुँदो हो त पर्खाल भित्र छिर्ने नै थिइनँ।

चाहे उर्दी होस् वा पर्खाल नै किन नभत्कियोस्। लत भन्या यस्तै त हो।

फरिया लगाउनेलाई पाईन्टको लत,पाईन्ट लगाउनेलाई सुटको लत। चुरोटेलाई धुवाँको लत, जँड्याहालाई मात्तिने लत।

कपाल भएकालाई कपाल काट्ने लत, यहाँ सिंहदरवारको लत लागेकाहरूको जमात छ हजुर !

नारायणहिटीको लतमा रहेकाहरू लगभग इतिहास भइसके। बहुदलपछिको कालखण्ड र २०६४ साल यता सिंहदरवार र अन्तराष्ट्रिय सम्मेलन केन्द्रको संविधानसभा भवन हुँदै संसदको लतमा परेकाहरू कहाँ पुगिसके हेर्दा हेर्दै। चप्पल देखि पजेरोसम्म। कुरा परिवर्तनको हो। को कतिबेला कहाँ परिवर्तन भईदिन्छ कुनै मिति, बार र समयको ठेगान हुँदैन।

हामी नेपाली समाजमा यतिबेला स्वतन्त्रता, सिद्धान्त र ब्यवहारको ठूलो चेरापुञ्जीमा छौं।


Leave a Reply

Your email address will not be published.