विमक शाखा समितिमा विवाद, अमात्यले आर्थिक प्रतिवेदन नबुझाएपछि अधिकारी अध्यक्ष

विमक शाखा समितिमा विवाद, अमात्यले आर्थिक प्रतिवेदन नबुझाएपछि अधिकारी अध्यक्ष

काठमाडौं-

पेसागत बिमा अभिकर्ता संघ विमक शाखा समिति नेपाल लाइफको अध्यक्षमा गणेश अधिकारी चयन भएका छन्।

यसअघिका अध्यक्ष राजेन्द्र अमात्यले संस्थाको हितविपरीत आर्थिक हिनामिना गरेको, तोकिएको समयमा अधिवेशन नगरेको, बिमा अभिकर्ताको सेवा सुविधा कटौती गर्ने काम गरेको लगायत आरोपको जवाफ दिन नसकी हेटौंडामा जारी अधिवेशन छाडेर हिँडेपछि भएको निर्वाचनबाट अधिकारी अध्यक्ष चुनिएका हुन्।

समितिका अनुसार पेसागत बिमा अभकिर्ता संघका केन्द्रीय उपाध्यक्ष सीताराम पन्त र केन्द्रीय सल्लाहकार नारायण दाहालको उपस्थितिमा निर्वाचन गरिएको थियो।

उक्त निर्वाचनले नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रबहादुर खड्का, उपाध्यक्षमा महेन्द्रप्रसाद यादल, सचिवमा ओमबहादुर खत्री, सहसचिवमा रामशरण पोखरेल र कोषाध्यक्षमा तेजमणि शर्मालाई चयन गरेको छ।

त्यसैगरी सदस्यहरूमा देवीप्रसाद शर्मा जैसी, ओमप्रसाद ओली, बसन्तविक्रम कुँवर, मदनप्रसाद यादव, दुर्गाकुमारी भट्टराई, नरेन्द्रकुमार संग्रौला, रामकृष्ण ओली, कृष्ण रिमाल, कपिल आचार्य, फुहारीलाल चौलागाईं, विमला अम्गाइ र देवप्रसाद जैसी चयन भएका छन्।

समितिका अनुसार निवर्तमान अध्यक्ष अमात्य नेतृत्वको लापरबाहीका कारण २०६५ मंसिरदेखि प्रत्येक तीन वर्षमा संघको अधिवेशन गर्नुपर्ने भए पनि एकैपटक सात वर्षपछि २०७२ असोजमा बुटवलमा गरिएको थियो। सात वर्षको आम्दानी र खर्चको विवरण पेस नगरी साधारणसभा सम्पन्न गरेपछि अमात्यविरुद्ध विरोध सुरु भएको थियो।

निवर्तमान अध्यक्ष अमात्यले अभिकर्ताले पाउने कमिसनमा प्रतिबिमालेख १० रुपैयाँ र एजेन्सी म्यानेजर सिस्टमबाट प्रतिएजेन्सी म्यानेजर ५ सयदेखि २० हजार रुपैयाँसम्म एकतर्फी कम्पनीको आइटी सिस्टमबाट सिधै कटाइ युनियनको खातामा जाने व्यवस्था गराउने भूमिका खेलेको समितिको आरोप छ।

त्यसैगरी २०७५ सालमा हुनुपर्ने अधिवेशन नगरी उठेको कूल रकमको ४० प्रतिशत सम्बन्धित उपशाखालाई बैंक खातामार्फत पठाउनुपर्ने भए पनि नेपाल लाइफ इन्स्योरेन्सका १ सय ८८ उपशाखामध्ये सातवटालाई पठाएर बाँकी १ सय ८१ उपशाखाले पाउनुपर्ने रकम एकलौटी हिनामिना गरेको वर्तमान कार्यसमितिको आरोप छ।

त्यस्तै १८ वर्षदेखि पाउँदै आएको सुविधा कटौती गर्न कम्पनीका सञ्चालक तथा व्यवस्थापनसँग मिलेको, चल्तीमा रहेको बिमा पोलिसी हटाएर प्रिमियम ह्वात्तै बढाएर बिमितलाई मार पर्ने नियम कम्पनीले ल्याउँदा मञ्जुरी गर्ने, कम्पनीले दिँदै आएको ऋण सुविधा र सवारीसाधन सु्विधा कटौती गर्दा पनि कुनै विरोध नगरेको आरोपसमते निवर्तमान अध्यक्ष अमात्यमाथि छ।

हेटौंडामा असार १७ र १८ गते अधिवेशनमा सहभागी हुन देशभरिबाट ६ सय ५० प्रतिनिधि पुगे पनि निवर्तमान अध्यक्ष अमात्य र उनको समूहले २ सय ५० जना आसेपासेलाई मात्र खाने र बस्ने व्यवस्था गरी अन्यलाई बेवास्त गरेको अधिवेशनमा सभागी एक प्रतिनिधिले बताए।

अमात्य र उनको कार्यसमितिलाई अधिवेशनमा भाग लिन र संघको आर्थिक प्रतिवेदन पेस गर्न बारम्बार आग्रह गरे पनि अटेर गरेपछि उपस्थित बहुमत प्रतिनिधिको अनुमति लिएर केन्द्रीय उपाध्यक्ष पन्तको निर्वाचन कमिटीले नयाँ कार्यसमिति चुनेको विमक शाखा समितिले जनाएको छ।

 

 

 


Leave a Reply

Your email address will not be published.