लोसपाको विधान संशोधनसहित पारित

लोसपाको विधान संशोधनसहित पारित

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टीको अन्तरिम विधान संशोधन सहित पारित गरेको छ।

शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्तरिम विधान, २०७८ संशोधनसहित पारित गरेको हो।

विधान संशोधन समितिमा नेताहरू लक्ष्मणलाल कर्ण, सवेन्द्रनाथ शुक्ल र जय निशान्त रहेका थिए।

लोसपाको बैठकले सरकारले हालै ल्याएको भू–उपयोग नीति खारेज गर्न माग गरेको छ। भू–उपयोग नीति अत्यन्त अव्यवहारिक तथा षडयन्त्रपूर्वक ल्याइएको भन्दै उसले यसलाई खारेज गर्न माग गरेको हो।

सरकारले जेठ २३ गते नियमावली बनाएर राजपत्रमा भू–उपयोग नीति प्रकाशित गरेको थियो।

‘यो नियमावली अत्यन्त अव्यवहारिक तथा षडयन्त्रपूर्वक ल्याइएको हो र यो हाम्रो संस्कृतिमाथिको प्रहार पनि हो,’ बैठकपछि अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यसबाट ग्रामीण तथा सहरी क्षेत्रमा बसोबास गर्ने गरीब किसानको सामाजिक, आर्थिक र संस्कृतिमाथि नै प्रभाव पर्ने देखिन्छ। विहेबारी, पठन–पाठन र व्यवसायसमेतमा यस नीतिले नाकारात्मक प्रभाव पारेको अवस्था छ। यो नियमावली तत्काल खारेज गर्न नेपाल सरकारसँग यो बैठक माग गर्दछ।’

लोसपाले वर्षाका कारण धानखेतीमा क्षति बेहोर्नु परेको किसानलाई राहत उपलब्ध गराउनका साथै मलखाद्य तत्काल उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराएको छ।

अकासिएको महंगीप्रति सरकार निरीह र उदासीन रहेको बताउँदै लोसपाले असार २७ गते सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ।

त्यस्तै कोरोना महामारीमा जोखिम मोलेर काम गरेका स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत भत्ता दिने घोषणा गरे पनि सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै लोसपाले तत्काल जोखिम भत्ता उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

 


Leave a Reply

Your email address will not be published.