शेखरको ‘कन्स्ट्रक्टिभ रिभोल्ट’ : देउवा आउलान् ‘साइज’ मा

शेखरको ‘कन्स्ट्रक्टिभ रिभोल्ट’ : देउवा आउलान् ‘साइज’ मा

नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पक्षको भेलाबाट बाहिर निस्कँदै गर्दा नेता चन्द्र भण्डारीले भनेका थिए– पार्टीभित्र अब ‘कन्स्ट्रक्टिभ रिभोल्ट’ (सिर्जनात्मक विद्रोह) गर्ने कुरा भएको छ।

दोस्रोपटक पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवाको कार्यशैलीबाट ‘असन्तुष्ट’ शेखर पक्षको भेला बिहीबार र शुक्रबार बत्तीसपुतलीको अनुपम फुडल्यान्डमा भएको थियो।

पार्टीभित्र अपनाउनुपर्ने भूमिका र आगामी रणनीति तय गर्ने उद्देश्य त्यो भेलाको थियो।

‘पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिवद्धता पूरा नगरेको’ शेखर पक्षको आरोप छ।

साथै पार्टीको विधान र विधि मिचेर सभापति देउवा एकलौटी रूपमा अगाडि बढिरहेको शेखर पक्षले दाबी गरेको छ।
विधि र विधानसँग शेखर पक्षको तात्पर्य छ– विभाग गठन र महत्वपूर्ण निर्णयमा सामूहिक सहभागिता नहुनु।

कांग्रेसको विधानको धारा ६० मा विभाग गठनसम्बन्धी व्यवस्था छ। ‘पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग-समिति-विभिन्न निकायहरू महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्नेछ,’ विधानको धारा ६० मा उल्लेख छ।

दोस्रो कार्यकालका लागि देउवा सभापतिमा निर्वाचित भएको ६ महिना पुगिसकेको छ। तर, विधानले तोकेको समयावधिभित्र गठन गर्नुपर्ने विभाग र समितिहरू अझै गठन हुनसकेको छैन।

हुनत १३ औं महाधिवेशनबाट पहिलो कार्यकालका लागि सभापतिमा निर्वाचित हुँदा पनि देउवाले विधानको त्यो व्यवस्थालाई अटेर नै गरेका थिए। २०७२ फागुनमा सम्पन्न १३ औं महाधिवेशनको नियमित चार वर्षीय कार्यकाल सकिनु दुई दिनअघिमात्र उनले विभागहरूको गठन सुरू गरेका थिए।

१४ औं महाधिवेशनमा संशोधन गरिएको विधानअनुसार विभागको संख्या ४३ बाट घटाएर २८ र गठन गर्नुपर्ने समयावधि दुई महिना थपेर ६ महिना बनाइएको छ। तर, विधानले तोकेको समयावधिभित्र विभाग गठनमा देउवाले चासो देखाएका छैनन्।

शेखर पक्षको असन्तुष्टि विभाग गठनमा भइरहेको ढिलाइसम्म मात्रै सीमित छैन। स्थानीय तह निर्वाचनमा विधानको व्यवस्थाविपरित संसदीय बोर्ड नै नबनाइ महानगरको टिकट वितरण गरिएकोप्रति पनि शेखर पक्ष रूष्ट बनेका छन्। र, विधानको ‘खिल्ली’ उडाउँदै सभापति एकलौटी हिँडिरहेको निष्कर्ष निकालेको छ।

असार २७ गते बस्ने केन्द्रीय समिति बैठकअघि भएको शेखर पक्षको भेलाले सभापति देउवा ‘एकलौटी’ ढंगबाट हिँडेको निष्कर्ष निकाल्यो। र, जिल्लादेखि केन्द्रसम्म दबाब सिर्जना गर्ने रणनीति अख्तियार गर्ने ‘मुड’ मा अघि बढेको छ, शेखर पक्ष।

‘केन्द्रीय समिति बैठकमा त यी कुराहरू उठ्ने नै भए,’ शेखर पक्षका एक नेताले भने,‘जसरी सभापतिज्यू एकलौटी ढंगबाट अगाडि बढ्न खोजिरहनुभएको छ त्यसकाविरूद्ध अब जिल्ला र प्रदेसमा पनि दबाबमूलक कार्यक्रम अघि बढ्छ।’
उनीनिकट त्यो नेताको भनाइले पनि पार्टीको आन्तरिक जीवनमा प्रतिपक्षको भूमिकामा रहेका शेखर अब ‘आक्रमक’ ढंगबाट अगाडि बढ्ने रणनीतिमा रहेको प्रष्ट हुन्छ।

सभापति देउवाले आफूनिकटबाहेकका पार्टी नेताप्रति गरिरहेको व्यवहारका कारण शेखर पक्ष असन्तुष्ट देखिएको छ।
‘जसरी उहाँले व्यवहार गरिरहनुभएको त्यसप्रति हाम्रो गुनासो छ,’ ती नेताले भने,‘दुईपटक सभापति र पाँचपटक प्रधानमन्त्री भइसक्नुभयो। पार्टीको आन्तरिक जीवनमा हारजित स्वभाविक प्रक्रिया हो। तर, उहाँले सहमति सहकार्य गरेर हिँड्न चाहनुभएको छैन।’

सभापतिमा पराजित भए पनि ४०–४१ प्रतिशत मत शेखरले पाउँदासमेत देउवा उनलाई ‘इग्नोर’ गरेर अगाडि बढिरहेको बुझाइ यो समूहको छ। भातृसंस्थाको नेतृत्व मनोनित गर्दासमेत कुनै सरसल्लाह नगरी देउवाले आफ्नै ढंगबाट निर्णय गरेको आरोप शेखर पक्षको छ।

‘४०–४१ प्रतिशत मतको भागिदार शेखरजी पनि हुनुहुन्छ, सभापतिमा पराजित भएकासँग सहकार्य गर्ने परम्परा कांग्रेसमा रहेको छ,’ ती नेताले भने,‘सभापतिज्यूले त्यो परम्परा पनि तोड्नुभयो। सहमति र सहकार्यका लागि तयार नभए पार्टीभित्र दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुनेछौं।’

सघाउनेहरू पनि असन्तुष्ट
१४ औं महाधिवेशनमा गुटबाट साझा उम्मेदवारका लागि सहमति जुटाउन नसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल मौन बसे। आफूले उम्मेदवारी नदिएका पौडेलले सभापतिका प्रत्याशी शेखरलाई सघाएनन्। बरू अप्रत्यक्ष रूपबाट देउवालाई सहयोग गर्न अघि बढे।

महाधिवेशनमा पौडेलले लगाएको गुण तिर्दै प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले उनलाई पाँचदलीय सयन्त्रको संयोजक बनाए। गठबन्धनले लिने निर्णय र बैठकहरूमा पौडेल राम्ररी सक्रिय भए। खासगरेर एमसिसी अनुमोदनअघि संयन्त्रको संयोजकका रूपमा निकै सक्रिय देखिए पौडेल।

तर, देउवालाई दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुन सघाएका वरिष्ठ नेता पौडेल पनि सन्तुष्ट देखिँदैनन्। ६४ औं संसद दिवसमा उनले देउवा पार्टीको विधानअनुसार नचलेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि पोखे।

‘हाम्रो प्रधानमन्त्रीजीलाई समयको निरन्तरता कति छ भन्ने त कामकारबाहीबाटै थाहा हुन्छ। समय पुगेन भन्ने, फेरि गर्नुपर्ने कामहरू पेन्डिङमा राखिछोड्ने?,’ पौडेलले भनेका थिए,‘समय पुगेन भनिराख्या छ, दुगुरी राख्या छ छिटोछिटो। अनि ६ महिनामा गर्नुपर्ने काम जम्मे अलपत्र।’

कांग्रेस सभापतिका लागि दोस्रो चरणमा शेखरसँग प्रतिस्पर्धा हुँदा विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले देउवालाई सघाए।

तर, दोस्रो चरणमा देउवालाई समर्थन गरेका नेता सिंह पनि देउवाको कार्यशैलीबाट सन्तुष्ट छैनन्। पार्टी विधानअनुसार विभाग र भातृ संस्थाहरू गठन हुन नसकेपछि सिंह असन्तुष्ट बनेका हुन्।

महाधिवेशनमा सघाएका नेता निधि र देउवाबीच यसबीचमा ३–४ पटक भेटघाट भएको छ। यद्यपि छलफलमा भएका कुरा खुलेको छैन।

सभापतिका लागि सघाएका पौडेल, सिंहलगायतका नेताहरू असन्तुष्ट बने पनि सुरूदेखि साथ दिइरहेका नेता कृष्णप्रसाद सिटौलाका साथ देउवाले पाउने सम्भावना बलियो छ।

साथ दिएकै कारण विभाग र भातृ संस्थाका साथै आगामी चुनावमा टिकट वितरण हुँदा सिटौला समूहले उपयुक्त ‘भाग’ खोज्ने सम्भावना पनि उत्तिक्कै रहेको नेताहरूको भनाइ छ।

सहयोग गरेकै कारण भाग लिने अभ्यास पछिल्लो महाधिवेशनासमेत देखियो। सिटौलाको साथ पाउनकै लागि देउवाले आफूनिकट विश्वप्रकाश शर्मालाई ‘आउट’ गरेर प्रदीप पौडेललाई महामन्त्रीमा आफ्नो समूहबाट चुनाव लडाए।

बचाउमा निकटस्थहरू

‘कार्यशैली र एकलौटी’ ढंगबाट हिँडेको भन्दै शेखर पक्षले घेराबन्दी गर्ने रणनीति बुनिरहँदा सभापति देउवानिकट नेताहरू उनको बचाउमा उत्रिएका छन्।

पार्टी र सरकार दुवै मोर्चामा देउवा असफल भएको शेखर पक्षको आरोपलाई उनीहरूले निराधार बताएका छन्।
सभापति देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको दाबी नेता रमेश लेखको छ। शेखर समूहले पार्टी सभापतिबारे निकालेको निष्कर्षमा आफ्नो सहमति नभएको उनको भनाइ छ।

‘पार्टीभित्र विभिन्न विषयमा छलफल हुने गर्छन्। विभिन्न कोणबाट साथीहरूले छलफल गर्नुहुन्छ,’ शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा लेखले भने,‘’केही साथीहरू सरकारले सफलतापूर्वक काम गर्न नसकेको, अनि पार्टीमा सभापतिले ठीक ढंगले काम गर्न नसकेको निष्कर्ष निकाल्नुभएको छ, त्यो निष्कर्ष पूर्णरूपले ठीक छैन।’

देउवाले काम गर्न नसकेको भन्ने कुरामा सत्यता नरहेको उनको जिकिर थियो।


Leave a Reply

Your email address will not be published.