हामी किन गरीब भयौं?

हामी किन गरीब भयौं?

कस्तो राम्रो देश! कति मेहनती र जेहन्दार जनता। अत्यन्त पुरानो र धनी संस्कृति। प्राकृतिक श्रोतले भरिपूर्ण। तै पनि हामी किन गरीब? के हामी यो गरिबीको कहाली लाग्दो भूमरीबाट बाहिर निस्कन सक्छौं?

अवश्य सक्छौं!

कसरी गरिबीको चक्रबाट बाहिर निस्कने कुरा गर्नुभन्दा पहिले हामी गरीब कसरी भयौं भन्ने कुरा गरौं।

इतिहासलाई फ़र्केर हेर्ने हो भने हामी धनी त ख़ास कहिले पनि थिइनौं। तर आत्मनिर्भर थियौं। ख़ुसी थियौं। बहादुर थियौं। एकाएक बितेका ७५ वर्षमा हाम्रो परनिर्भरता बढ्दै आयो। हामी दुःखको बाटोतिर लाग्यौं। संसारका अरु धेरै देश समय अनुसार बदलिए तर हामी चुक्यौं।

के मा चुक्यौं त?

१. गत १०० वर्षमा जुन देशले शिक्षाका लागि भनेर अधिकतम सरकारी बजेट खर्च गरे, ती देशले उन्नतीको बाटोमा लागे। हाम्रो देशमा न शिक्षा कुनै बेला प्राथमिकतामा पर्‌यो न आज नै छ।

अचेल शिक्षाका निजी उद्यमीलाई ठग र डाँका भन्छौं हामी र सरकारी शैक्षिक निकाय तहस-नहस भएको पनि टुलुटुलु हेरेर बस्छौं। फलस्वरूप शिक्षाको गुणात्मक र संख्यात्मक दुबै स्तरमा क्रमश गिरावट देखिने क्रम जारी छ।

२. सय वर्ष अगाड़ी हामी कहाँ उद्योगधन्दा गर्न जति सजिलो थियो, आज त्यो भन्दा कयौं गुना गाह्रो छ। हामी लगातार कसरी सरकारी निकायले निजी उद्योग व्यवसायलाई सहयोग गर्ने भन्दा कसरी भाँजो हाल्ने भन्नेतिर लग्य्यौं। उद्योग त सरकारले खोल्ने हो, जनताले त जागिर खाने हो भन्ने मनसायले गत सय वर्षमा हामीले निजी उद्यमी त चोर नै हुन् यिनलाई पेल्नु नै बेश भन्ने विषय आम जनताको दिमाग़मा भरिदियौं।

३. बितेका सय वर्षमा संसारका धेरै देशले जनताबाट जुन कर उठाए त्यो करको प्रयोग निजी उद्योग व्यवसायलाई चाहिने पूर्वाधार क्रमश सुदृढ़ गर्नतिर लागे। र ती देशहरूले अभूतपूर्व विकास गरे। तर हाम्रो देशमा जनताबाट उठेको कर क्रमश सरकारी कर्मचारीको संख्या बढ़ाउने र सरकारले आफैं उद्योग व्यवसाय खोल्नेतिर खर्च भए। अन्तमा सरकारले खोलेका व्यवसाय बेकाम ठहरिए र सरकारी कर्मचारीले कसरी निजी उद्यमीलाई दुःख दिने भन्ने कुरा सिके। कर्मचारी संयन्त्र बलियो र कठोर बन्दै आयो र निजी उद्यमी सेलाउँदै गए।

यो सानो ब्याख्या भयो, हामी कहाँ चिप्लियौं भन्ने बारेमा।

जे भो, भो। अब बिगतका गल्ती क़सरी सच्याउने र कसरी गरिबीको भूमरीबाट बाहिर उछिट्टिने भन्ने बारेमा सोचौं।

उपाय सरल छ तर साहस ठूलै चाहिन्छ। यतिखेर संसारमा सावित भइसकेको छ कि देश विकास गर्ने निजी क्षेत्रले नै हो। सरकारको काम उद्योग व्यवसाय खोल्ने होइन तर निजी उद्योगीहरूलाई सहयोग गर्नु हो। देशको कायापलट गर्नुछ भने कसरी निजी उद्यमीलाई सहयोग गर्ने भन्ने कुरा सोचौं।

– जुन देशमा उद्योग खोल्न, सञ्चालन गर्न र सञ्चालन गर्न नसके क्षणभरमै बन्द गर्न अति सजिलो हुन्छ, त्यो देशमा निजी उद्यमीहरू अत्यन्त सकारात्मक र जागरूक हुन्छन्। अचेल कुनै देशमा उद्योग गर्न कति सजिलो छ भनेर अनुमान गर्न एउटा इन्डेक्स पनि प्रकाशित गरिन्छ र त्यो इन्डेक्सलाई ‘इजी अफ डुइङग बिज़नेस’ इन्डेक्स भनिन्छ। उक्त इन्डेक्समा दाँज्दा नेपाल १०८ मा पर्छ भने सिंगापुर २ मा र अमेरिका ६ मा पर्छ। हुन त कतिले भन्लान्, त्यो नम्बर हावा हो भनेर। तर हावा नै भए पनि संसारका १०७ देश भन्दा तल पर्नु चिन्ताको बिषय हो।

जुन देशमा निजी उद्योगको मुहान फुटाउनै परेको छ त्यै देशमा निजी उद्योग चलाउन संसारका १०७ देशमा भन्दा मुस्किल छ। हामी त टप १० मा पर्नुपर्ने हो। अनि पो केही हुन्थ्यो कि?  तसर्थ नेपालले देशमा विद्यमान ‘रेड टेप’ हटाएर ‘इजी अफ डुइङग बिज़नेस’ इन्डेक्स टप १० मा झार्न पर्छ। खटेर लाग्ने हो भने यो एक वर्षमा गर्न सकिन्छ।

३. शिक्षा, बिजुली, सुरक्षा, सफ़ाई, खाने पानी, सिंचाई र बाटो जस्ता निजी उद्योगलाई चाहिने पूर्वाधर द्रुत गतिमा तयार पार्न सरकारले निजी उद्यमीसँग नै साझेदारी गर्न आवशयक छ। यसमा पहिलो शिक्षा नै हुनपर्छ। संसारमा बढ्दो शिक्षित जनशक्तिको आवश्यकताबाट फ़ाइदा उठाउन नेपालले बिशेष गरेर आईटी(सूचना-प्रविधि) सम्बन्धी उच्च शिक्षामा लाखौं लाख जनशक्ति उत्पादन गर्न सक्नुपर्छ।

निजी व्यवसायीले गरेका सरकारी काममा घट्दो गुणस्तर नेपालको पहिलो समस्य हो। त्यसको कारण सरकारी निकायमा विद्यमान घुसख़ोरी नै मुख्य कारण हो। घुसख़ोरी क़ायम रहने हो भने सबै कुरा गफ मै सिमित रहनेछ। गफ त हामीले सय वर्ष अगाड़िदेखि नै सुन्दै आएका छौं।

३. गरिबीको मुख्य कारण जन-नैराश्य हो। देशमा जनता निराश छन्?

सबैको ठाड़ो उत्तर हुन्छ ‘यो देशमा जे गरे पनि हुन्न।’

जब सम्म जनतामा उत्साह र केही गर्न सकिन्छ भन्ने आश हुँदैन अनि देशमा उद्योगधन्दा खुल्दैनन् र उद्योग नखुले देश विकास हुने कुरा नै भएन।

जनगुनासो, नैराश्य र नकारात्मक भावनाको कारण देशमा १०० वर्ष यता क्रमश बढ्दै आएको भ्रष्टाचार हो। सरकारी कर्मचारीबाट संस्थागत रूपमा हुने भाष्टाचारले  देशलाई पूरै खोक्रो बनाइदिएको छ।

भ्रष्टाचारले नै ‘रेड टेप’ सिर्जना गरेको हो। भ्रष्टाचारले नै उद्यमीहरूलाई निरुत्साहित बनाएका हुन्। भ्रष्टाचारले नै देशका पूर्वाधर नबनेका र बनेका समेत ध्वस्त भएका हुन्। भ्रष्टाचार अन्त्य गर्न इमान्दार राजनैतिक इच्छाशक्ति हुनुपर्छ। नेताहरूमा राजनैतिक दूरदर्शिता, त्याग, अठोट र साहस चाहिन्छ।

देशको क़ानून सरल खालको हुनुपर्छ । क़ानुनलाई जब टाँठा-बाँठाले आफ़्नै पाराले ब्याख्या गर्न सक्छन्, अनि भ्रष्टाचारको सुरूवात हुन्छ। नेपालमा अहिले यस्तै क़ानुनी जञ्जालको फ़ाईदा उठाएर कर्मचारीहरूले भ्रष्टाचारको जालो बुनेका छन्।

समग्रमा नेपाल गरिबीको जालोबाट निस्कन सक्छ तर त्यसका लागि पहिलो कदम राजनैतिक नेताले चाल्नुपर्छ।

क़ानुनको तीव्र सरल र सहजीकरण गरेर सम्पूर्ण ‘लुपहोल’ हरू बन्द गरे भ्रष्टाचारीलाई घेरामा पार्न सकिन्छ।

भ्रष्टाचारको अन्त्य भएपछि मात्रै गरिबी निवारणको सपना बुन्न सकिन्छ।

संसारमा कुनै पनि भ्रष्ट मुलुक उन्नत बन्न सकेका छैनन्। भ्रष्टाचारको अन्त्य पछि ‘रेड टेप’ स्वत: समाप्त हुने र विकासका लाग़ि चाहिने पूर्वाधार क्रमश बन्दै जानेछ। अनि हाम्रो देश पनि धनी हुनेछ।


Leave a Reply

Your email address will not be published.