हटाउनुपर्ने अर्थमन्त्रीलाई काँध थापिरहेछन्, देउवा र प्रचण्ड

प्रचण्डले केही नभन्दासम्म अर्थमन्त्री शर्मालाई देउवा एक्लैले केही गर्नै सक्दैनन्

हटाउनुपर्ने अर्थमन्त्रीलाई काँध थापिरहेछन्, देउवा र प्रचण्ड

भित्र मन्त्रिपरिषदको बैठक बस्ने तरखर भइरहँदा मंगलबार अपराह्नतिर सिंहदरवारको पूर्वी छेउमा एमालेनिकट युवाहरू नारा घन्काउँदै थिए- अर्थमन्त्री राजीनामा दे!

बानेश्वरतिर त्यस्तै माग गरिरहेका अर्को एकहुल युवाहरूलाई प्रहरीले लछारपछार गर्दै थियो।

तर मन्त्रिपरिषदमा उनकाे राजीनामाबारे छलफल नै भएन।

गठबन्धन सरकारमा अर्थमन्त्री भएर मन्त्रालय छिर्दादेखि नै विवादमा मुछिएका जनार्दन शर्मामाथि यतिबेला राजीनामा गर्नेपर्ने दवाबमा छन्। तर उनी आफू मौन छन्। उनको पार्टी मौन छ र प्रधानमन्त्री पनि मौन छन्। सडकमात्रै तातेको छ। नेपाली मिडियाहरूले ‘हेडलाइन’मै अर्थमन्त्रीको राजीनामा मागिरहेका छन्।

जेठ १५ गते उनले संसदमा पेश गरेको बजेटमा उनले अघिल्लो रात सरकार र मन्त्रालयभन्दा बाहिरका मान्छे लगाएर रातारात बजेटका केही कर र दरहरू परिवर्तन गरेको आरोप लगेको थियो।

सञ्चार मन्त्रालयहरूमा त्यसबारे समाचारहरू ब्यापक भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवासमा बोलाएर उनलाई बेस्सरी हप्काएका थिए। र, राजीनामा दिन भनेका थिए। तर न उनले राजीनामा दिए न कुनै प्रतिक्रिया। बरू त्यसपछि पार्टी पनि मौन भयो। प्रचण्डले पनि मुख खोलेनन्।

मन्त्रालयमा जेठ १४ राति के भएको थियो? भनेर अर्थमन्त्रालयसँग माग भएको सिसी क्यामेराको फुटेज पनि डिलिट भयो भनेर जवाफ आएपछि अहिले झन उनको राजीनामा माग्ने र आलोचना झन् तीखो बनेको छ।

सोमबार संसदको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि अर्थमन्त्रीलाई वर्खास्त गर्न माग गरेका थिए।

उनले अर्थमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति बनाउन पनि माग गरे।

‘देशको अर्थतन्त्रको अस्मितासँग खेलवाड भएको छ, अर्थतन्त्रलाई डमाडोल पार्ने काम भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले छानबिन समिति गठन गर्नुपर्छ। यसको छानबिन गरेर प्रतिवेदन संसदमा आउनु पर्दछ। हुँदाहुँदा फुटेज डिलिट गरियो। डिलिट गर्न पाइन्छ? मन्त्रीले त फुटेज ल्याएर देखाउनु पर्थ्यो। आउनुस् छानबिन गरौं भन्नु पर्दथ्यो। यस विषयमा संसदीय छानबिन समिति बनाएर छानबिन हुनुपर्दछ। राष्ट्रको अर्थतन्त्रलाई ध्वस्त पार्ने यो भन्दा बढी तमासा के हुन्छ सभामुख महोदय!’

मौनता

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका महामन्त्रीदेखि केही सांसदहरूले समेत अर्थमन्त्रीले किन राजीनामा नदिएको र प्रधानमन्त्रीले किन बर्खास्त नगरेको भनेर प्रश्न गरिरहेका छन्।

सोमबार संसदको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्रीले आफैले राजीनामा दिन वा उनले नदिए प्रधानमन्त्रीले नै बर्खास्त गर्नुपर्ने भनेका थिए।

‘यत्रो विषय संसदमा उठिसक्यो। संसदमा उठ्यो। यत्रो भइसकेपछि कि त अर्थमन्त्रीले राजीनामा दिनुपर्छ कि त प्रधानमन्त्रीले वर्खास्त गर्नुपर्छ। र छानबिन गर्नुपर्छ’ उनले भने ‘यो अर्थमन्त्री ज्यूका लागि पनि हितमा हुन्छ र प्रधानमन्त्रीले उहाँलाई अहिले बर्खास्त गरेर छानिबिन गर्नुपर्छ।’

महामन्त्री थापाले करका दरहरू हेरफेरि गरिनु भनेको सामान्य कुरा नभएको भन्दै त्यसमा मनपरि गर्न नहुने पनि बताए।

‘अर्थ मन्त्रालयले सिसिटिभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसकेपछि प्रधानमन्त्रीले तत्काल एक्सन लिनुपर्छ। मेरो बुझाइमा अर्थमन्त्रीजीले अहिले राजीनमा दिनुपर्छ, कि प्रधानमन्त्रीले उहाँलाई हटाउनुपर्छ। यसबारे तत्काल छानबिन गर्नुपर्छ,’ थापाले भने, ‘बजेटमा करको दर हेरफेर गरिएको भनिएको छ। करको दर सामान्य कुरा होइन। मानवीय त्रुटि भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन। त्यसको जवाफ चाहिन्छ। मैले बजेटमाथि छलफल हुँदा पनि भनेको हुँ। मैले गरें त गरें भनेर उम्किने हुँदैन।’

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डिला संग्रौलाले पनि अर्थमन्त्रीको नैतिकतामाथि प्रश्न गरेकी छन्।

‘नैतिकता भन्ने कुरा हराएको हो? प्रश्न उठिसके पछि राजीनामा दिनु पर्दैन!! प्रसङ्ग सिसिटिभी फुटेज… मन्त्रीको जवाफदेहिता खोई?’ उनले सामाजिक सञ्जालमा लेखेकि छिन्।

यो सबै भइरहँदा पनि प्रधानमन्त्री भने मौन छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पार्टी पनि मौन छ।

सोमबार प्रचण्डले आफ्नै निवास खुमलटारमा माओवादीका शीर्ष नेताहरू(पूर्ण पोलिटब्युरो सदस्यहरू) बोलाएका थिए। त्यो छलफल खासगरी माओवादीले अब केन्द्रीय पदाधिकारीहरूमा कसलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा थियो। तर त्यो भन्दा धेरै बैठकमा अर्थमन्त्री जनार्दन शर्माका बारेमा कुरा उठेका थिए।

छलफलले पदाधिकारी चयन गर्ने जिम्मेवारी प्रचण्डलाई दियो। अनि अर्थमन्त्रीका बारेमा पनि सभामुखसँग छलफल गरेर अघि बढ्न प्रचण्डलाई नै भन्यो।

तर त्यसबारे पार्टी आधिकारिक रूपमा बोलेको छैन। माओवादी अध्यक्ष प्रचण्डले पनि यसबारेमा आधिकारिक रूपमा बोलेका छैनन्।

मंगलरबा मन्त्रिपरिषदको बैठक हुनुअघि त्यो बैठकमा अर्थमन्त्रीको राजीनामा बारेमा पनि छलफल हुने भनिएको थियो। बालुवाटारले अर्थमन्त्रीको राजीनामा माग्ने तयारी भइरहेको भन्ने अनौपचारिक जानकारीहरू सञ्चार माध्यममा त आए तर त्यसको पुष्टि भने कसैले गरेनन्।

बरू आयोमेलसँगको कुराकानीमा माओवादी अध्यक्ष प्रचण्डका निजी सचिव रमेश मल्लले भने- अर्थमन्त्रीका बारेमा पार्टीमा कुनै त्यस्तो छलफल भएको छैन।

‘अहिले उहाँले राजीनामा दिने-नदिनेबारेमा पार्टीमा कुनै छलफल भएको छैन’ उनले भने ‘राजीनामा दिने वा प्रधानमन्त्रीले राजीनामा माग्ने तयारी भन्ने कुरा साँचो होइन। राजीनामा माग्न के तयारी गर्नुपर्छ र?’

बालुवाटार-खुमलटार

पाँचौपटक प्रधानमन्त्री बनेका देउवा सरकारका सबैभन्दा विवादित मन्त्री हुन्, अर्थमन्त्री जनार्दन शर्मा। एकीकृत समाजवादीका मन्त्री प्रेम आलेपछि निकै चर्चा र विवादमा आउने मन्त्री शर्माका बारेमा भने न बालुवाटार बोलेको छ, न खुमलटारले मुख खोलेको छ।

पार्टीभित्र औपचारिक छलफल पनि भएको छैन।

‘अहिले पार्टीमा अर्थमन्त्रीका बारेमा त्यस्तो कुनै छलफल भएको छैन’ माओवादीका एकजना केन्द्रीय सदस्य भन्छन् ‘बरू माओवादीका मान्छे अर्थमन्त्री भएका बेला ‘लोकप्रिय’ बजेट ल्याएका कारण पार्टी र मन्त्रीको बदनाम गर्ने उद्देश्यले यस्ता कुराहरू आइरहेका छन् भन्ने पार्टीको ठहर छ।’

यसको अर्थ अहिले माओवादी हेडक्वार्टर नै जनार्दनलाई जोगाउने पक्षमा छ।

र, त्यसमा बालुवाटारले पनि काँध मिलाएको छ।

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मन्त्रीहरूका गतिविधिलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निजकबाट निगरानी गरिरहेको बताए।

उनले अर्थमन्त्रीको राजीनामाबारेमा स्पष्ट केही भनेनन्। बरू घटनाक्रमहरूको सत्यतथ्य बुझेर त्यसबारे प्रधानमन्त्रीले उचित निर्णय लिनसक्ने बताए।

‘प्रधानमन्त्रीजीले त्यो विषयलाई निगरानी गरिरहनुभएको छ। जुनसुकै दलका मन्त्रीहरू किन नहोउन्। कुनैले पनि कानुनको परिधि नाघेर काम गर्न पाइँदैन। कसैले त्यसको परिधि नाघेको भए सत्यतथ्य बाहिर आउनुपर्छ’ उनले भने।

उनले कतिपय कुराहरू पार्टीका नेताहरूले छलफल गरेर निर्णय लिनुपर्ने पनि बताए।

प्रचण्ड निकट स्रोतका अनुसार अर्थमन्त्री हटाउनेबारेमा उनको निर्णय नभइ प्रधानमन्त्री देउवा एक्लैले केही पनि गर्न सक्दैनन्।

‘कसलाई मन्त्री बनाउने वा कसलाई हटाउने भन्ने कुरा प्रधानमन्त्री एक्लैले गर्ने होइन’ प्रचण्ड निकट एकजना नेताले भने ‘किनकि यो कुनै दलको एकलौटी सरकार होइन। यो गठबन्धनको सरकार हो। त्यसबारेमा सबै दलको निर्णय हुन जुरूरी छ।’


Leave a Reply

Your email address will not be published.