बजेट निर्माण प्रक्रियामा आफ्नो संलग्नता पुष्टि गर्न चौधरी ग्रुपको चुनौती

बजेट निर्माण प्रक्रियामा आफ्नो संलग्नता पुष्टि गर्न चौधरी ग्रुपको चुनौती

काठमाडौं-

चौधरी ग्रुप (सिजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले बजेट निर्माण प्रक्रियामा सिजीको कुनै संलग्नता र सरोकार नरहेको बताउँदै आक्षेप लगाउनेहरूलाई पुष्टि गर्न चुनौती दिएका छन्।

बजेटका सन्दर्भमा आफ्नो ग्रुपलाई जोडेर सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएका कुराहरूप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै चौधरीले बजेट निर्माण प्रक्रियामा आफ्नो ग्रुपको कुनै चासो र सरोकार नरहेको स्पष्ट पारेका हुन्।

सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा बजेट निर्माण प्रक्रियामा सिजीको संलग्नता रहेको भन्दै चर्चा गरिएकोमा ग्रुपका तर्फबाट प्रबन्ध निर्देशक चौधरीले खण्डन गरेका हुन्।

‘हाम्रो संलग्नताबारे बिनाआधार केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरूप्रति खेद व्यक्त गर्दछौं। उहाँहरूले लगाउनुभएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौं,’ सिजीका प्रबन्ध निर्देशक चौधरीेले भने।

सिजी नेपालको एकमात्र फोर्ब्समा सुचिकृत डलर अर्बपति कम्पनी हो। ‘हामी उच्चस्तरको सुशासन र प्रतिष्ठासहितको व्यवसायमा विश्वास गर्छौं,’ उनले भने, ‘यदि हामीले पारदर्शिता नअपनाएको भए विश्वकै प्रतिष्ठित कम्पनीका रूपमा कसरी फोब्र्समा सुचिकृत हुन्थ्यौं होला?’

सुशासन र पारदर्शितामा विश्वास गर्ने कम्पनी भएकै कारण विश्वमा प्रतिष्ठित बन्न सकेको उल्लेख गर्दै चौधरीले ‘नेपालमा सिजीमात्रै यस्तो कम्पनी हो जसले सरकारलाई कति कर तिर्छ भनेर प्रत्येक वर्ष विवरण सार्वजनिक गर्दै आएको’ बताए। गत आर्थिक वर्षमात्रै सिजीले १४ अर्ब रुपैयाँ कर तिरेको जानकारी उनले दिए।

सिजीको व्यावसायिक सफलताप्रति ‘इष्र्या गर्नेहरू’ को सुनियोजित भ्रमबाट प्रभावित भएर नकारात्मक टिप्पणी गर्नुको साटो वास्तविकता के हो भन्ने बुझेर मात्रै टिप्पणी गर्न पनि उनले आग्रह गरेका छन्।

‘यहाँहरूलाई आश्यक सूचना उपलब्ध गराउन हाम्रो टिम सदैैव तयार छ। नियोजित रूपमा फैलाइएका भ्रमहरूको पछाडि नलागी वास्तविकता के हो भन्ने जानकारी लिनुहुन सबैमा आग्रह गर्दछु,’ चौधरीले भने।

प्रबन्ध निर्देशक चौधरीले आफूहरूलाई जोडेर गरिएको गलत प्रचारको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन पनि सम्बन्धित निकायलाई आग्रह गरेका छन्। छानबिनबाट आफूहरूको संलग्नता कहीँ कतै पुष्टि भए कारबाही भोग्न तयार रहेको उनले उल्लेख गरे।

साथै, आफ्नो संलग्नता पुष्टि नभए मिथ्या आरोप लगाउनेहरू पनि कारबाही भोग्न तयार रहनेछन् भन्ने अपेक्षा गरेको पनि उनले बताए।


Leave a Reply

Your email address will not be published.