जनार्दनको स्पष्टीकरण : सुपारी र मरिचकाे तस्करी बन्द गरेपछि भ्रम छरियो

जनार्दनको स्पष्टीकरण : सुपारी र मरिचकाे तस्करी बन्द गरेपछि भ्रम छरियो

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले विगतमा भइरहेका तस्करी रोख्न खोज्दा आफूविरूद्ध षडयन्त्र भएको स्पष्टीकरण दिएका छन्।

प्रतिनिधिसभाको बैठकमा बुधबार सम्बोधन गर्दै शर्माले विगतमा भइरहेको अर्बौको तस्करी बन्द हुनेगरी बजेट ल्याउँदा आफूविरूद्ध षडयन्त्र भएको बताए।

‘विगतमा अर्बौंका सुपारी र मरिचको तस्करी बन्द हुनेगरी बजेट ल्याएपछि म विरूद्ध भ्रम फैलाउने प्रयास भयो, मैले तस्करी बन्द गरेपछि म विरूद्ध षडयन्त्र गरियो,’ शर्माले भने,‘भ्रम सिर्जना गर्ने प्रयत्न भयो, राजीनामाको मागलाई म स्वागत गर्दछु। तर, तथ्यको गहिराइमा पुग्नै पर्छ। गहिराइमा नपुग्दा अन्याय हुनसक्छ।’

शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश नगराइएको दाबी गरेका छन्।

‘मैले संसदमा आएर बोल्न नपाउने नैतिकता के कारणले गुमाएँ? न मैले कोरोनाका बेला नागरिक संकटमा पर्दा नैतिकता गुमाएँ न मैले बजेट निर्माणमा करको दर हेरफेर गर्न कुनै व्यापारीलाई समान भित्र्याउन सूचना दिएँ,’ उनले भने,‘न मैले बच्चाको दूधको रेट बढाएर चकलेटको रेट घटाएँ। अहिले एउटा पूर्वाग्रहको पराकाष्ठा देखिएको छ। यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो।’

उनले सिसिटिभीको कुरा झिकेर आमनागरिकमा भ्रम सिर्जना गर्न खोजिएको दाबी गरे। सिसिटिभीका विषयमा आफूलाई नभएर प्राविधिकलाई जानकारी हुने उनको भनाइ छ।

‘सभामुख महोदय कुन सिसिटिभीको क्षमता कति हुन्छ म कसरी थाहा पाउँछु, कति वर्ष पहिले राखेको सिसिटिभीबारे मलाई कसरी थाहा हुन्छ,’ शर्माले भने,‘यो प्राविधिक व्यक्तिले जान्ने कुरा होला, त्यसलाई डिलिट ग¥यो भनेर आमनागरिकलाई जसरी भ्रमित गरियो त्यसलाई म खारेजी गर्न चाहन्छु।’

शर्माले आफूमाथि छानबिन गर्नका लागि गठन भएको संसदीय छानबिन समितिलाई पूर्ण सहयोग गर्ने बताए।

‘एउटा होइन हजारौं छानबिनका लागि तयार छु, संसदीय छानबिन गरियोस्, एउटा होइन हजारौं छानबिनका लागि तयार छु,’ उनले भने,‘हिजो पनि छानबिन समिति बनेका अनुभवहरू छन्। यस्ता छानबिन बन्दा मन्त्री कायम भएर छानबिन गर्ने काम भयो। छानबिन समितिलाई मेरो पूर्ण सहयोग रहनेछ। छानबिनका लागि मार्गप्रशस्त गर्न म पदबाट राजीनामा दिएको घोषणा गर्दछु।’


Leave a Reply

Your email address will not be published.