मंसिर २ गते प्रतिनिधिसभा र प्रदेससभा निर्वाचन गर्न आयोगले गर्‍यो प्रस्ताव

मंसिर २ गते प्रतिनिधिसभा र प्रदेससभा निर्वाचन गर्न आयोगले गर्‍यो प्रस्ताव

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेससभा निर्वाचन आगामी मंसिर २ गतेका लागि तोक्न सरकारलाई परामर्श दिएको छ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहित अन्य आयुक्तहरू बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न परामर्श दिएको हो।

निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तोक्ने व्यवस्था गरेको छ।

संविधानको धारा ८५ ले प्रतिनिधिसभाको कार्यकाल तथा धारा १७७ ले प्रदेससभाको कार्यकाल अगावै विघटन भएकोमा बाहेक पाँच वर्षको हुने उल्लेख गरे पनि कार्यकाल कहिलेदेखि प्रारम्भ हुनेबारे स्पष्ट कानुनी व्यवस्था नभएकोले पहिलो निर्वाचित मितिलाई आधार मानेर निर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनलाई हेर्दा खर्च कटौतीलगायतका उपलब्धि हुने भएकाले प्रतिनिधिसभा र प्रदेससभा निर्वाचन पनि एकै चरणमा सम्पन्न गर्न सरकारलाई परामर्श दिइएको उनले बताए।

त्यस्तै विद्युतीय मतदानको सन्दर्भमा आयोगद्वारा गठित समितिले पेश गरेको प्रतिवेदनअनुसार विद्युतीय मतदान केन्द्र( इभिएम) व्यवस्था गर्न आयोगले सरकारलाई ध्यानाकर्षण गराएको छ।

२०७४ मा भएको प्रतिनिधिसभा र प्रदेससभा निर्वाच्नमा ७ अर्ब ८० करोड खर्च भएकोमा हाल तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा भएको वृद्धिका कारण १० अर्ब खर्च हुने आयोगको अनुमान छ।

 


Leave a Reply

Your email address will not be published.