‘साख’ गिरेपछि राजीनामा!

‘साख’ गिरेपछि राजीनामा!

काठमाडौं – बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिलाई प्रवेश दिलाएको आरोप लागेपछि जनार्दन शर्मा चर्चामा बनिरहे।

१५ जेठमा प्रतिनिधिसभामा बजेट प्रस्तुत गरेसकेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिलाएर शर्माले करको दर हेरफेर गर्न लगाएको’ आरोप लगायो।

त्यसयता शर्मा निरन्तर विवादको केन्द्रमा रहे।

एमालेले राजीनामाको माग गर्दै शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन माग ग¥यो। हुँदाहुँदै सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका प्रभावशाली नेताहरूले समेत ‘नैतिकता’ को आधारमा शर्मालाई राजीनामा दिन सुझाए।

यहाँसम्म कि शर्माले राजीनामा नदिए प्रधानमन्त्री शेरबहादुर देउवाले ‘एक्सन’ लिएर उनलाई बर्खास्त गर्नुपर्ने धारणासमेत कांग्रेसका नेताहरूले राखे।

तर, विवादमा मुछिएका शर्मा टसमस भएनन्।

बरू भनिरहे– कसैले भन्दैमा राजीनामा किन दिने? मेरो राजीनामा माग्ने र अर्थ मन्त्रालयको सिसिटिभी फुटेज माग्ने एमाले को हो?

शर्मामा एकखाले ‘दम्भ’ देखिन्थ्यो। बजेटजस्तो संवेदनशील विषयमा प्रश्न उठ्दा अघिल्ला अर्थमन्त्रीले राजीनामा दिएको प्रसंग उनले ख्याल गरेनन्। पाँचदलीय गठबन्धनको अहं देखिन्थयो शर्मामा।

चौतर्फी दबाब बढेपछि अन्ततः शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका छन्। बजेट निर्माणमा ‘विचौलिया’ को प्रवेशबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समितिसमेत गठन भएको छ।

विशेष समितिले तोकिएको समयसीमा १० दिनभित्र आफ्नो प्रतिवेदन देला नै। तर, बुधबार प्रतिनिधिसभाको रोस्टममा उभेर राजीनामाको घोषणा गर्नुअघि शर्माले आफू के करणले अनैतिक भनेर प्रश्न उठाइरहेकाप्रति प्रतिप्रश्न गरे।

रोस्टममा उभिँदा विगतको भन्दा फरक हाउभाउ थियो, उनको। अनुहार मलिन थियो। बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश दिलाएको आरोप लागेका शर्मा भावकु पनि देखिन्थे।

सुरूमा आफ्नो पुरानै शैली अपनाउँदै चर्को स्वरमा मन्तव्य राख्दै आफू चोखो रहेको देखाउने प्रयास गरे। दुईपटक भएको संसद विघटनको प्रसंग कोट्याउँदै विगतका सरकारले गरेका कामप्रति प्रश्न उठाए।

आफूमाथि लागेका सबै आरोपलाई खारेज गरेर निर्दोष भएको देखाउने प्रयत्न गरे, शर्माले।

प्रमुख प्रतिपक्षी दल एमालेले ‘अनैतिक’ अर्थमन्त्री संसदमा उभिएर बोल्ने अधिकार नरहेको बताइरहेको थियो।

आफूलाई ‘अनैतिक’ भनिरहेको एमालेलाई शर्माले रोस्टमबाट भने,‘म के कारणले अनैतिक भएँ? मैले संसदमा आएर बोल्न नपाउने नैतिकता के कारणले गुमामएँ?’

राजनीतिक पूर्वाग्रहका कारण आफूलाई जबरजस्ती निशाना बनाइएको भनेर शर्मा आफूलाई सही साबित गर्ने कोसिस गरे। बजेट निर्माणमा करको दर हेरफेर नगरेको दाबी गरे।

‘मैले संसदमा आएर बोल्न नपाउने नैतिकता के कारणले गुमाएँ? न मैले कोरोनाका बेला नागरिक संकटमा पर्दा नैतिकता गुमाएँ न मैले बजेट निर्माणमा करको दर हेरफेर गर्न कुनै व्यापारीलाई समान भित्र्याउन सूचना दिएँ,’ उनले भने,‘न मैले बच्चाको दूधको रेट बढाएर चकलेटको रेट घटाएँ। अहिले एउटा पूर्वाग्रहको पराकाष्ठा देखिएको छ। यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो।’

आफूलाई ‘अनैतिक’ भनिरहेको एमालेप्रति शर्माको बढी आक्रोश संसदमा प्रष्टै देखिइरहेको थियो।

आफू राष्ट्र र नागरिकप्रति इमानदार रहेको जतिसुकै दाबी गरिरहे पनि केही विवादित कार्यका कारण उनी उम्किनसक्ने अवस्था पक्कै पनि छैन।

बजेट निर्माण प्रक्रियालाई ज्यादै संवेदनशील मानिन्छ। मन्त्री र केही सचिवबाहेक अरू कोहीको संलग्नता नहुनुले पनि यसको गाम्भीर्यतालाई प्रष्टाउँछ।

तर, बजेट घोषणा हुनुअघि जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिलाइयो। त्यही व्यक्तिको सुझावअनुसार करका दर हेरफेर गरियो। बजेटमा कैयौं करका बुँदा परिवर्तन गरियो। यो विषय संसदमा उठ्दा शर्माले प्रश्न उठाउनेलाई उल्टै हप्काइरहे।

अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिनको माग उठिरहेका बेला सिसिटिभी फुटेज ‘डिलिट’ भएको सूचना सार्वजनिक भयो।

अर्थ मन्त्रालयले भन्यो– १३ दिनपछिका भिडियो नरहरने भएकाले जेठ १४ रातिको फुटेज ‘डिलिट’ भयो। जबकि यससम्बन्धी कार्यविधिले ३ महिनासम्म फुटेज सुरक्षित राख्नुपर्ने व्यवस्था गरेको छ।

‘बिचौलिया’ प्रवेशबारे छानबिनका लागि माग उठिरहँदा शर्मा र अर्थ मन्त्रालयले जेठ १४ रातिको फुटेज जसरी पनि जोगाएर राख्नुपर्ने थियो। तर, त्यसो भएन। फुटेज मेटिएको भनियो। शर्माकै निर्देशनमा अर्थ मन्त्रालयका उच्च अधिकारीहरूले त्यस दिनको फुटेज डिलिट गर्न लगाएको आरोप पनि लागेको छ।

सिसिटिभी फुटेज मेटिएको अर्थ मन्त्रालयको सूचना बाहिरिएपछि शर्मा थप शंकाका घेरामा परे। यद्यपि बुधबार प्रतिनिधिसभा बैठकमासिसिटिभी फुटेज प्राविधिक विषय रहेको भनेर शर्मा उम्किन खोजे।

उनले भने, ‘कुन सिसिटिभीको क्षमता कति हुन्छ म कसरी थाहा पाउँछु, कति वर्ष पहिले राखेको सिसिटिभीबारे मलाई कसरी थाहा हुन्छ, यो प्राविधिक व्यक्तिले जान्ने कुरा होला, त्यसलाई डिलिट ग¥यो भनेर आमनागरिकलाई जसरी भ्रमित गरियो त्यसलाई म खारेजी गर्न चाहन्छु।’
यो त बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश र फुटेज डिलिटको विषयमात्रै हो। आगामी आर्थिक वर्षको बजेटमा शर्माले लिएका नीतिबाट केही निश्चित व्यापारी घरानालाई लाभ दिइएको प्रष्ट हुन्छ।

बजेटले १ सय किलोवाटभन्दा माथिको विद्युतीय सवारीमा अन्तःशुल्क लगाउने नीति लियो। त्यस्ता सवारीमा यसअघि लाग्दै आएको भन्सार दर पनि बढाइएको छ।

शर्माले ल्याएको नयाँ नीतिअनुसार १ सयदेखि २ सय किलोवाटसम्मका विद्यतूयि सवारीलाई ३० प्रतिशत, २ सयदेखि ३ सय किलोवाटसम्मका लागि ४५ प्रतिशत र ३ सय किलोवाटभन्दा बढीलाई ६० प्रतिशत अन्तः शुल्क लगाइएको छ।

त्यस्तै १ सयदेखि २ सय किलोवाटसम्मका सवारीमा १५ प्रतिशतबाट बढाएर ३०, २ सयदेखि ३ सय किलोवाटसम्मका सवारीमा ३० बाट बढाएर ४५ र ३ सयभन्दा माथि ४० बाट बढाएर ६० प्रतिशत पु¥याइएको छ।

शर्माले बजेटमा लिएको नीतिका कारण सेनेटरी प्याडका स्वदेशी उद्योग समस्यामा पर्ने भएको छ। सेनेटरी प्याड आयातमा लाग्दै आएको भन्सारमा ९० प्रतिशत छुट दिने व्यवस्था उनले बजेटमा गर्न लगाएका छन्।

जबकि त्यही सेनेटरी प्याड स्वेदशमा तयार पार्न चाहिने कच्चा पदार्थ आयात गर्दा लाग्ने महसुलबारे बजेट मौन छ। कच्चा पदार्थको आयातमा १ प्रतिशत भन्सार महसुल र केही प्याकेजिङ तथा कच्चा पदार्थमा लाग्ने ५ प्रतिशत अन्तः शुल्कबारे बजेटले सम्बोधन नगर्दा तयारी आयातित वस्तुभन्दा उद्योगले बढी कर तिर्नुपर्ने अवस्था देखिएको छ।

त्यस्तै चाउचाउ, बिस्कुटजस्ता खास उद्योगलाई प्रशोधित पाम र पामोलिन तेल आयात गर्न ५ प्रतिशतमात्रै भन्सार महसुल बजेटमा कायम गरिएको छ।

तर, तेल उद्योगहरूले ल्याउने कच्चा पदार्थमा १० प्रतिशत भन्सार महसुल तोकिएको छ। बजेटको यो व्यवस्थाका कारण स्वेदशी उद्योग धारासायी बन्ने उद्योगीहरूको गुनासो छ।

शर्माको विवादित निर्णय यतिमै सीमित छैन। राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरकै बेला उनी विवादमा मुछिएका थिए। त्यो विवादका कारण राष्ट्र बैंकको गभर्नरसँग उनको सम्बन्ध नै बिग्रियो।

व्यापारी पृथ्वी शाहका नाममा विदेशबाट शंकास्पद रूपमा आएको ४० करोड रूपैया राष्ट्र बैंकले रोकिदियो। त्यो छुटाउन शर्मा आफैं अघि सरे।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकले अनुसन्धान गरिरहेकै बेला शर्माले पैसा छुटाउन लिखित निर्देशन दिएपछि त्यो विषय थप गम्भीर बन्यो।

शर्माले आफ्नो बचाउका लागि कैयौं तर्कहरू दिइरहेका छन्। राष्ट्र र नागरिकप्रति आफूलाई समर्पित देखाउने प्रयास गरिरहेका छन्। तर, बजेट निर्माण प्रक्रियामै गम्भीर आरोप लागेपछि भारी मनले पदबाट राजीनामा गर्न बाध्य भए।

प्रतिनिधिसभाको रोस्टमबाट राजीनामाको घोषणा गरिरहँदा उनले भने, ‘एउटा होइन हजारौं छानबिनका लागि तयार छु, संसदीय छानबिन गरियोस्, एउटा होइन हजारौं छानबिनका लागि तयार छु। यस्ता छानबिन समिति बन्दा मन्त्री कायम भएर छानबिन गर्ने काम भयो। छानबिन समितिलाई मेरो पूर्ण सहयोग रहनेछ। छानबिनका लागि मार्गप्रशस्त गर्न म पदबाट राजीनामा दिएको घोषणा गर्दछु।’


Leave a Reply

Your email address will not be published.