त्यो घटना जसपछि ब्रिटेनका मन्त्रीले छाडे प्रधानमन्त्रीको साथ

त्यो घटना जसपछि ब्रिटेनका मन्त्रीले छाडे प्रधानमन्त्रीको साथ

काठमाडौं – ब्रिटेनमा मंगलबार प्रधानमन्त्री बोरिस जौनसनको सरकार एक्कासी भुइँचालो गयो। आधा घण्टाको अन्तरालमा दुई ठूूला मन्त्रीले बोरिसको साथ छाडे।

देश चलाउने बोरिसको क्षमतामाथि प्रश्न उठाउँदै दुई मन्त्रीले पदबाट राजीनामा दिए।

यो संकट एक ‘सेक्स स्क्यान्डल’ का कारण उब्जिएको हो। प्रधानमन्त्री बोरिसनिकट एक सांसद यसमा संलग्न रहेको दाबी गरिएको छ।

अर्थमन्त्री ऋषि सुनकले राजीनामा दिँदै भनेका छन्,‘ब्रिटेनका नागरिकको अपेक्षा छ कि सरकार सही, योग्य र गम्भीर तरिकाले काम गरोस्।’

उता स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएका साजिद जाविदले सरकार देशहितमा काम गर्न नसकेको बताए।

यी दुई जनाले राजीनामा दिएपछि सरकारको आयुबारे ब्रिटेनमा चर्चा सुरू भएको छ। विपक्षी दलले प्रधानमन्त्री बोरिसको राजीनामा मागेका छन्।

लेबर पार्टीका नेता कीर स्टार्मर भन्छन्,‘सबै असफलतापछि कन्जरभेटिभ पार्टीको सरकार ढलिरहेको प्रष्ट भइसक्यो।’

लिबरल डेमोक्रेटिक पार्टीका नेता एड डेवीले प्रधानमन्त्री बोरिसलाई अराजक बताउँदै मुलुकलाई असफल बनाएको आरोप लगाए।

प्रधानमन्त्री बोरिसले अविश्वास प्रस्तावको सामना गरेको एक महिना नबित्दै फेरि राजीनामको माग भइरहेको छ। अविश्वास प्रस्तावको सामना गर्दा उनको आफ्नै पार्टीका ४१ प्रतिशत सांसदले उनीविरूद्ध मतदान गरेका थिए।

त्यतिबेला बोरिस कोरोना महामारीका कारण लगाइएको प्रतिबन्धविपरित आफ्नो आवासमा पार्टी गरेका थिए। जसले गर्दा उनी कठिनाइमा परेका थिए।

३० जुनमा ब्रिटेनको समाचारपत्र ‘द सन’ ले छापेको एक समाचारमा सत्ताधारी कन्जरभेटिभ पार्टीका सांसद क्रिस पिन्चरले लन्डनस्थित एक निजी क्लबमा दुई पुरुषलाई आपत्तिजनक तरिकाले छोएको भनिएको थियो।

बोरिसले पिन्चरलाई यसै वर्ष फेब्रुअरीमा दलको उपसचेतकमा नियुक्त गरेका थिए।

‘द सन’ ले समाचार प्रकाशित गरेपछि पिन्चरलाई पदबाट राजीनामा दिनु परेको थियो।

तर यसबीचमा ब्रिटेनको मिडियामा यस्तै खाले अरू समाचारहरू पनि प्रकाशित भयो। हालका वर्षमा पिन्चरसँग जोडिएका यौन दुव्र्यवहारसम्बन्धि कम्तिमा ६ अरू घटना सार्वजनिक भयो।

पिन्चरलाई दलबाट निलम्बन गरियो। उनले माफी माग्दै छानबिनमा सहयोग गर्ने प्रतिवद्धता जनाए।

बोरिस आफैं त यो ‘सेक्स स्क्यान्डल’ मा संलग्न छैनन्। तर यो घटनाले उनलाई कठिनाइमा ल्याइदिएको छ।

एकतर्फ उनको चयनमाथि प्रश्न उठिरहेको छ। अर्कोतर्फ यस मामिलामा सरकारले अख्तियार गरेको रवैयाको आलोचना पनि भइरहेको छ।

केही दिनअघि सरकारका प्रवक्ताले पिन्चरको नियुक्तिअघि उनीमाथि लगाइएको आरोबारे प्रधानमन्त्री अनभिज्ञ रहेको बताएका थिए।बिबिसीबाट।


Leave a Reply

Your email address will not be published.