ठाउँ काँडा, मन फूल
पहाडका खोंचबाट स्काईलाईन एयरवेजले आफ्नो उचाई घटाउँदै सेतीको बगर पछ्याउँछ। अनि घाँसे मैदानमा जहाजका टायरले घर्षण दिँदा मन झसङ्ग हुन्छ।
स्काईलाईन एयरवेजले नेपालगन्जको राँझा विमानस्थलबाट उडान भर्यो। ठ्याक्कै कति समय लाग्यो याद छैन।
घाँसे मैदानको सिमखेत एयरपोर्ट ल्याण्ड भईयो। साल थियो सन् २००४ फेब्रुअरी।
बाउलीगाडको झोलुङ्गेपुल अस्थिपञ्जर झैं थियो। मानिसहरू त्यसैबाट वारपार गरिरहेका देखिन्थे।
ठाउँको नाम काँडा तर यहाँका मान्छेहरूको मन फूल जस्तै छ। उकालो चढ्दै जाँदा सेतीको खोंच आसपास अग्ला ठूला पहाडहरूबीच अर्को सानो गाउँ आउँछ यस्को नाम धुली हो। त्यहाँका मन्छेको ब्यवहार आकाश झैं छ, खुल्ला र कञ्चन।
तिब्बत ताक्लाकोट पुग्नुअघि नेपालको अन्तिम वस्ती हो त्यो। सेतीको किनार रमणीय चैनपुर, जिल्लाको सदरमुकाम हो।
टेलिफोनका तारहरू त सदरमुकामभरि यत्रतत्र थिए तर फोन जिल्ला बाहिर जाँदैनथ्यो। भोगपुर हुँदै उत्तरी भेगको यात्रा सेतीले खाएको पहिरोसँगै कालोमाटो चिप्लो र ढारले लर्किने त्यो बाटो। बिर्सन नसकिने थियो।
एरीगाउँको सिंचाई कुलो भत्किए पनि बाटो छेवैको चौतारो लिपघस गरेको चिटिक्कै हुन्थ्यो। उकालो र केही तेस्रोबाटो पार गरेपछि तपोवन तातोपनी कुण्ड पुगेर फाल्गुनको चिसोमा डुबुल्कि मारेर न्यानोपनमा भुलियो।
फाल्गुनदेखि असार सम्मको बझाङ बसाई थियो। तपोवनबाट उकालो लाग्दै सल्लेरीको बाटो सल्लिपीरमा गन्तव्य कहिले पुगिएला भन्ने मनको पीर मिसाउँदै हिंडियो।
तलकोट नपुग्दासम्म शरिर गलेर फत्रक्कै हुन्थ्यो। तलकोटको चिया पसल थकाई बिसाउने एउटा थलो थियो।
सल्लाघारीको सुसेली र सेतीको गडगडाहटले धलौन हुँदै जाने कि बुङ्च्याको उकालो कुन तय गर्ने दोधार हुन्थ्यो।
काँडा गाउँमा फूलजस्तै मन भएका प्रेम बोहोराले मलाई देउडा का केही लाईन भाका हलेरै सुनाए: ‘सेतीका छलकन्या छाल एक मर्या झुराउनो हुन्छ दुवै लैजा पापी काल…
हिमपातले कठ्याङ्ग्रिएको ज्यानलाई चोतो र गुँरासको दालसँगै भाँगोको अचार मिसाएर ढिंडो भोग लगाईयो।
हिउँ परेपछि कुवा वस्तीमा मान्द्रोमाथि स्लिपिङ्ग ब्यागको बिछ्यौनामा त्यो एक रात बित्यो।
निन्द्रा प्यारो थियो कि बिछ्यौना खासै फरक परेन।
याशिका क्यामेराभित्र बेरिएको कोडाकको रिलमा हिमपातका केही दृश्यहरू कैद भए।
पछिल्लो यात्रा चैतमासको हुरीसँगै सुरू भयो। लाली गुँरासको फेरो मार्दै घाँटी लाग्ने बुङ्च्याको उकालो नै मेरो रोजाई थियो।
घाटगंगादेखि बलौंडी अनि धुली हुँदै किडा अर्थात् यार्चागुम्वा टिप्ने गाउँलेहरूसँग पाटनहरूमा खुबै दौडियो।
सेती नदीको मुहान त्यो मनमोहक दृश्य फेरि अन्त कहाँ देख्न पाईएला!
लक्ष्य मानसरोवर पुग्ने थियो तर प्राविधिक कारणले त्यो भने अधुरै रह्यो।
करिव ३ महिना मानव वस्तिका हिसावले पातलो ठाउँमा मोटो समय बिताईयो।
माथि आकाश, सामुन्ने हिमाल अनि तल उर्लिरहेको सेती। पाटनमा चौंरीले चौर डोलाउँदै गरेका दृश्य देख्दा मन उडेर हिमाल पारि-पारिसम्म पुग्थ्यो।
चैनपुर देखि ३ दिने पहिलो पैदल यात्रा सेती नदीको सहायक घाटगङ्गा पुगेर टुङ्गिन्छ।
त्यहीमाथि छ फूल जस्तै मन भएकाहरूको काँडा गाउँ।
फर्किँदा धलौनको बाटो फेरो मारियो। गुच्छी च्याउको स्वाद पनि लिईयो। धलौनमा नमकिन चिया चौंरीको घ्यू मिसिएको धित नमरुञ्जेल थपि-थपि खाएको हिजैजस्तै लाग्छ। तर १८ बर्ष बितिसकेछ।
धमेना र रिलु गाउँ अनि झोता र सिमखेत। चैनपुरको खड्का गेष्ट हाउस धुपी सल्लाका फल्याकले बारेका कोठा धुपीको मगमगाहट शहरका कुनै पँचतारे होटलको रुम फ्रेसनर भन्दा कम थिएन।
उतिबेलाको मेरो प्यारो फुच्चे साथी मिलन खड्का यतिबेला डाक्टर भएर जिल्लामै सेवा दिँदैछन् भन्ने सुनेको छु।
मिलन र म अनिल सिंहको प्रेम पत्र…खुबै सुन्थ्यौं। मैले नेपालगन्जबाट नेपाली पप र हिन्दी अनि केही अंग्रेजी गीतका क्यासेट बोकेर लगेको थिएँ। तर दिनहरू बित्दै जाँदा देउडाको लत बस्यो।
मलाई थाह छैन यतिबेला बाउलिगाड कसरी उर्लिएको होला, सेतीले चयनपुरलाई कसरी फन्को मारेर छाल मारिरहेकी होलान्।
सुर्मादेवीको मन्दिरमा भाकल गर्नेहरू उस्तै होलानकी फेरिए होलन्?
वास्तवमा नोष्टाल्जिया बडो बदमास हुँदो रहेछ, आजकाल यस्तो लाग्छ।
अञ्जुलीभरि सेती नदीको पानी लिएर अनुहारलाई छपक्क स्पर्श गराउँदा प्रेमिकाको चुम्बन भन्दा कतै कम प्यार मिल्थेन।
हे सेती तिम्रो वयान त शेष नाग र ब्रह्माले पनि नसक्ने छ, मजस्तो पार्ट टाईम यात्रीले के गर्न सक्थें र!
गाउँघरमा बनेका स-साना खोलाका पानीघट्ट घुमेका दृश्य पहिलोपटक मेरा लागि आश्चर्यका चिज थिए। प्रविधिलाई प्रकृतीमैत्री बनाउन पुर्खाको त्यो ईन्जिनियरिङ्ग निकै ‘टफ’ लाग्छ।
विडम्वना मेरो बझाङ डायरी उतै छुट्यो म नेपालगन्ज फर्किएँ अनि मन भने काँडामै अल्झिरह्यो।
मलाई तलको रोयलदेखि माथिको धुली काँडा मुखाग्र लाग्छ, तर अब धेरै कुरा सम्झनाको तरेलीमा छन्।
सेती मात्रै होईन कालंगा, बाहुलीगाड, तारुगाड, सुनीगाड, तल्कोटीगाड, थलारीगाड, जडारीगाड, भ्यागुतेगाड, लिस्तीगाड, घाटगंगा, डिलगाड, विडीगाड, गनईगाड अनि उतिबेलाका गोरेटो बाटो चुत्रा, ऐसेलु।
वाह! बझाङ्ग नयाँ वर्षमा सिस्नोले झ्याप्प अनि गाला रातै-गाला रातै त्यो सप्रेम शुभकामना थियो।
फेब्रुअरी टू जुलाई सन् २००४ टू बि कन्टिन्युस्…