सहकर्मी राेजाइमा बीपीकाे त्रुटि

सहकर्मी राेजाइमा बीपीकाे त्रुटि

आफ्ना केही साथीहरूका साथ परशुनारायण चौधरी ४/५ दिन अघि मात्र पञ्चायत पस्नु भएको थियो। उहाँले आफ्नो वक्तव्यको शीर्षक “अबको नयाँ बाटो” राख्नु भएको थियो । यसका हस्ताक्षरकर्तामा यसअघि पञ्चायत पसेका केही मानिसहरू पनि थिए।

परशुनारायण चौधरीको पञ्चायततिर पलायनको बडो ठूलो चर्चा थियो। आजको जस्तो सामाजिक संजाल र मिडियाको बिशाल संख्या त थिएन। तर, सरकारी सञ्चार माध्यमहरूले लामो समयसम्म यस समाचारलाई प्रमुखता दिई राखे।

जनमत संग्रह ताकाको प्रचारका क्रममा काठमाडाैंकाे टुँडिखेलको आमसभामा बीपी कोईरालाले मुलुकमा बहुदल आए परशुनारायण नेपालको प्रधानमन्त्री हुने भन्नु भएको थियो। त्यससभाको मञ्चमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई पनि रहनु भएको थियो। अप्रत्याशित रूपमा बीपीको यो भनाइ सुनेर कालो चश्मा लगाउनु भएका गणेशमानजी मुसुक्क हाँसेको र किसुनजीले मञ्चको सिमेन्ट  भूँईमा छाताको डण्डी थिचेको मैले प्रष्ट देखेको थिएँ। यो विषय उहाँहरूका बीचमा सुबिचारित थियो वा थिएन मलाई पछिसम्म जानकारी भएन। यद्यपि बीपीको ठूलो विश्वास परशुनारायणका लागि मुखरित भएको थियो। बीपीको बिश्वासमा रहेका यस्तो मानिस सुटुक्क पञ्चायत पसेको अवस्था थियो। यसर्थ बीपीको रोजाईका वारेमा पनि प्रश्न उठेको थियो ।

परशुजीको पलायनका सम्बन्धमा बीपीको प्रतिकृया पनि जोशिलो र आलोचनात्मक थिएन। “नेपाली जनताले जुन कारणले परशुनारायण चौधरीलाई माया गरेका थिए, सो कारण अब रहेन ।” यति थियो बीपीको प्रतिकृया। बीबीसीलाई बीपीले यतिमात्र भन्नु भयो। एमालेबाट बामदेव निस्किँदा “पिलो निचोरियो” भनेर उ बेला केपी ओलीले भनेको, आज पनि केपीले माधव नेपालहरूलाई आलोचना गरेझै, उपेन्द्रले बाबुराम भट्टराईका बारेमा बैगुनी कुरा गरेको या शेरबहादुर देउवाजीले शेखर कोईरालाको वजूदलाई इन्कार गरी शेखी झार्न तम्सेको भाषा प्रयोग गर्ने त्यो जमाना थिएन क्यार! काँग्रेसभित्र भ्रमको जालो फैलाउन र बीपीलाई चालबाज देखाउन रमेशनाथ पाण्डेले त भित्रभित्र पञ्चायतसँग कुरा मिलाएर बीपीले परशुलाई पठाएका हुन कि? यस्तो आशंका गर्दै लेखेका थिए।

तर, गम्भीर चर्चा के थियो भने बीपीको चयन प्रायसः गलत हुने गरेको छ। बीपीले सारै पत्यार गरेका मानिसहरू बीपीलाई नै फाप्दैन।

डा. तुलसी गिरी, विश्वबन्धु थापा, डा. नागेश्वर प्रसाद सिंह, बखान सिंह गुरूंग, सूर्य प्रसाद उपाध्याय, श्रीभद्र शर्मा, चैतु चौधरी लगायत केही पछिका पुस्तामा प्रदीप गिरी तथा दुर्गा सुवेदी-यस्ता मानिसहरूको सूची लामै थियो, जो एक समय बीपीका बडो नजिक थिए। प्रदीप गिरी कहिल्यै पञ्चायत पस्नु भएन। तर ०३०/३१ पछिको अवधिमा बीपीका सोचहरूको कटु आलोचना गर्नु हुन्थ्यो। जबकि हवाई अपहरणको काममा बीपीले पत्याएका दुर्गा सुवेदी धुरन्धरै धुन्धकारी देखिएका थिए। यस्ता अनेकन प्रेम र धोकाको अध्यायमा मानिसहरूका बीच कुराकानी हुन्थ्यो कि, सहकर्मीको रोजाईमा बीपीमा बढी त्रुटी छ, यस्तो चर्चा खुब हुने गर्थ्यो ।

बीपी सन् १९७७ नोभेम्बरमा उपचार गराई अमेरिकाबाट फर्किनु हुँदा परशुनारायण र गिरिजा बाबु दुबै जनालाई पटना-काठमाडाैंकाे हवाईजहाजमै उहाँले प्रतिबन्धित नेपाली कांग्रेसको महामन्त्री बनाउनु भएको थियो । राष्ट्रिय मेलमिलापको नीतिका साथ लामो भारत प्रवासपछि २०३३ मा बीपी र उहाँका साथ गणेशमान सिंह, निलाम्बर पंथी, खुमबहादुर खडकाहरू काठमाडाैं हवाई अड्डाबाटै गिरफ्तार गरिनु भएको थियो।

केही समयपछि बीपीको स्वास्थ्य निकै बिग्रिएपछि राजा बीरेन्द्रले उपचारका लागि अमेरिका जान पेरोलमा रिहा गर्ने सदासयता देखाउनु भएको थियो। उपचारपश्चात बीपी पटना हुदै नेपाल फर्किनु भयो र पुनः थुनामा राखिनु भयो। यसअघि पटनामा नेपाली काँग्रेसको सम्मेलन भएको थियो, जहाँ बीपीले किसुनजीलाई पार्टीको कार्यवाहक सभापति बनाउनु भयो। यो मेरो सौभाग्य थियो कि म एकदमै कम उमेरमा सप्तरीबाट त्यस सम्मेलनमा सहभागी भएको थिएँ।

अँ, यहीबेला बीपीले शानेवानिको विमानमै बसी परशुजी र गिरिजाबाबु महामंत्री नियुक्त गरिएको एक सानो बिज्ञप्ति कुनै सहयात्रीलाई दिनु भयो, जो पछि सबैले थाहा पाए। यो एक छुट्टै रोचक ऐतिहासिक प्रसंग हो । फेरी लेखौँला।

यसरी एकै पटक दुई जना महामन्त्री भएको सायद गिरिजाबाबुलाई त्यतिसारो मन परेको थिएन क्यार !

त्यस साँझ चावहिल मित्रपार्कको बीपी निवासमा शेख इद्रिस पनि हुनुहुन्थ्यो। परशुजीको पलायनपछि शेख साहेबले बीपीका प्रति दरो भरोसा जनाउनु भएको थियो। बीपीले बिशेष नेताहरूलाई भोजनमा बोलाउनु भएको थियो। खानाको अन्त्यमा बीपीले रूचिपूर्वक खीर खादै गर्दा चक्र बास्तोलाले कुरा उठाई हाल्नु भो । यो कुरा फेरि गिरिजाबाबुको पनि रूचिको कुरा भएको थियो। त्यसैले बीपीले यसको जवाफ नपन्छाउनु होस् भनेर गिरिजाबाबुले चक्रजीतिर उन्मुख हुँदै जिज्ञासा गर्नु भो- के भन्नु भो अरे चक्रजी ? बीपी, गिरिजा बाबु, सुशील दा, शेख इद्रीस, बीरेन्द्र दाहाल, लक्ष्मण बस्नेत र म पनि; हामी सबै चक्रजीका प्रति उन्मुख भयौ । चक्रजी बीपीसँग सदैव निर्भिक रहनु हुन्थ्यो । गिरिजाबाबु सदैब थिचिएको ! चक्रजीले भन्नु भयो; हैन सान्दाजु, परशुनारायणलाई त तपाईले निकै पत्याउनु भएको थियो । उनले धोका दिए। तपाईलाई शंका थिएन ? के पहिलेदेखि नै उनीप्रति तपाईको विश्वास अडिग थियो र ?

बीपीले चक्रजीलाई भन्दा पनि गिरिजाबाबुतर्फ मुखातिव हुदै सोध्नु भयो-गिरिजा कुनै पनि सहयोगीसँग तिम्रो सम्बन्ध विश्वासबाट शुरू हुन्छ कि आशंकाबाट ?

गिरिजा बाबुले संकोचका साथ भन्नु भयो-म त लामो समयसम्म मानिसको परख गर्छु । शुरूमा त शंका गरिरहन्छु । परफेक्ट देखिएपछि मात्र विश्वास गर्छु । बीपीले सोध्नु भयो-ओखलढुंगा काण्डमा के भयो ? के कारणले नख्खुबाट झिकिएर लिला, ठगीहरू मारिए ? दुर्गा सुवेदीहरू किन तिमीसँग रहेनन् ?

बीपीले थप्नु भयो: सोच्दै गर्नु । म त विश्वासलाई नै आधार मान्दछु । पत्यार, अपत्यार, विश्वास र अविश्वास, भरोसा र धोका चिरन्तर र चिरस्थायी कहाँ हुन्छ र ? यो सर्वकालिक हुदैन । मानिसको सोचलाई तत्कालिक परिस्थितिले निर्धारित गर्दछ । तत्कालीक परिस्थितिलाई भने उस्को बाध्यता, प्रतिकूलतालाई ब्यहोर्ने क्षमता, लोभ र नि:स्पृहताले निर्धारित गर्दछ । यसर्थ, कोहीसँगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहँदैन ।

सबैले विस्तारै दुधको खीर सकेका थिए । मन मिठो भएको थियो । तर, यस सम्वादले भने सबैलाई, खासगरी बीपीवाहेक हामी सबैलाई उद्वेलित पारेको थियो ।

म त्यसबेला चावहिलको बीपी निवासमै बस्थे। मेरो उ बेलाको उमेर नेताको कुरामा प्रश्न उठाउने थिएन । तर, बीपीले जे जवाफ दिनु भयो; मेरो लागि आज पनि प्रश्न रहित नै छ ! हो त, कोहीसँगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहदैन। को कहाँ रहन्छ, कोही कहाँ पुग्छ । तर, ज्ञान र इमानदारिता भने सर्वकालिक नै हुन्छ । आज नेपालको राजनीति अलिक बढी घात, प्रतिघात, प्रेम र धोकामा फसेको छ। हुन त नेपाल मात्र हैन-सबै तिर यही अवस्था छ। बडेमानका बिश्वासीहरूले नेताहरूलाई चटक्क छोडेर तम्बु फेरेको देखिन्छ। कसले यस प्रश्नको अकाट्य जवाफ दिएका छन् कि नेताका कुनै पनि सहयोगीसंग त्यस नेताको सम्बन्ध विश्वासबाट शुरू हुन्छ कि आशंकाबाट ?

बीपीको आदर्श त मेरो मनमा छ। तर, मैले पनि मलाई पहिचान दिएको नेपाली काँग्रेस छोडे, अझ गिरिजा बाबुलाई छोडे। म स्वयंसंग पनि यसको जवाफ छैन कि “ म बिश्वास योग्य थिए कि नेताले मलाई पत्याएको बखत उनी धोकामा परे, म आशंका योग्य थिए।”

जे होस्, यो मेरो इमान्दार स्वीकारोक्ति हो कि “साथ रहुन्जेल,पुरै ईमान्दार थिए,भरोसा योग्य थिए।”

आज बीपीलाई संझिदैछु। थोरै भेटेँ तर भरपुर संझना छ। साउन ६ गते । बीपीको प्राणहीन शरिरका छेउ उभिएको थिएँ, त्यसबेला। जीवनका केही थोरै काल उहाँको वरिपरिमा बित्यो । त्यसमा म गर्व गर्दछु ।

साउन ६ गते । बीपी स्मृति दिवसमा उहाँलाई हार्दीक श्रद्धांजली छ ।

(बीपीको प्राणहीन शरिरका साथ लेखक/पूर्वमन्त्री जयप्रकाश गुप्ताकाे फेसबुकबाट साभार)

 


Leave a Reply

Your email address will not be published.