कांग्रेसबाट दूर हुन नसकेको बीपीकाे चिन्ता

कांग्रेसबाट दूर हुन नसकेको बीपीकाे चिन्ता

‘नेपाली कांग्रेस क्रान्तिको प्रतिक र क्रान्तिपछि उदय भएको प्रजातान्त्रिक शक्तिको प्रतिक हो। यो संगठन कमजोर हुनुको तात्पर्य हुन्छ, नेपालको प्रजातान्त्रिक शक्तिको कमजोरी। … सानोतिनो स्वार्थपूर्तिको लागि हामी लाग्न थाल्यौं भने, यो स्वार्थका आधारमा बनेका विभिन्न पार्टीहरूलाई हामीले स्थान दिन थाल्यौं भने देशले उन्नति गर्न सक्दैन।… चुनावमा स्वार्थी व्यक्तिहरूलाई मौका दिनु हुँदैन।…यदि कसैले कांग्रेसलाई एउटा व्यक्तिगत स्वार्थको साधन बनाउन खोज्छ भने हामीले त्यसलाई टाढै राख्नुपर्छ।… हामी सबैले निस्वार्थी सेवाको व्रत लिनुपर्छ। गेरूवा रङकाे लुगा नलगाए पनि हामीले मनमा जोगीको जस्तो निष्काम प्रवृत्ति धारण गर्नुपर्छ,’  बाग्लुङका आफ्ना साथी ओमप्रसाद थकालीलाई २०१३ साल पुस १० गते बीपी कोइरालाले लेखेको पत्रांश हो यो।

बीपीको यो पत्रमा त्यसबखत पनि नेपाली कांग्रेस स्वार्थी व्यक्तिहरूको चङ्गुलमा फस्नसक्ने चिन्ता जताएको पाइन्छ। कांग्रेसका कार्यकर्ताहरूमा विचलनको संकेत पाएरै बीपीले सम्झाउनुपरेको बुझिन्छ। कांग्रेसको भविष्यबारे बीपीकाे चिन्ता चुलिएको करिब साढे ६ दशक नाघिसक्यो। तर कांग्रेसजनमा यो चिन्ता दूर हुनुको साटो झनै झाङ्गिएको छ। फरक यत्ति हो कि, त्यो समय मुख्य नेताहरू कांग्रेस पार्टीको भविष्यबारे चिन्ता गर्थे र कार्यकर्ताहरूलाई सिद्धान्त छाडेर सम्झौता नगर्न सजग गराउँथे। र, यो समय कार्यकर्ताहरूले मुख्य नेतालाई सिद्धान्तबाट च्यूत नहुन झक्झक्याइरहनु परिरहेको छ!

बीपीले आफ्ना कार्यकर्ताहरूलाई कुन रूपमा हेर्न चाहन्थे भन्ने कुरा कांग्रेसजनले जोगीको जस्तो निष्काम प्रवृत्ति धारण गर्नुपर्ने उनको भनाइबाट प्रष्टै हुन्छ। तर बिडम्बना परिस्थिति अहिले ठ्याक्कै उल्टो छ। आसक्ति नभएका, लोभ नभएका नेता-कार्यकर्ता कांग्रेसमा भेट्न मुस्किल हुँदै गएको छ। २०१५ सालको पहिलो विधायिका निर्वाचनको पूर्वतयारीका क्रममा कांग्रेसभित्र देखिएको अवस्था आसन्न निर्वाचनका क्रममा पनि उस्तैउस्तै देखिन्छ। पार्टीभित्र विभिन्न स्वार्थी व्यक्तिहरू हाबी हुनु र अन्य पार्टीहरूलाई अनावश्यक महत्व दिनु अहिले पनि कांग्रेसको ठूलो रोग हो।

अहिले कांग्रेसको नेतृत्वबारे जति पनि चर्चाहरू सतहमा आएका छन् तिनले सिद्धान्तनिष्ठ नेता-कार्यकर्ताहरूलाई त झस्काएको छ नै, आममानिसलाई आक्रोशित समेत बनाएको छ। जुन कांग्रेसको मात्र नभई देशकै भविष्यको चिन्ता गर्नुपर्ने अवस्था हो। कांग्रेस यतिबेला आन्तरिक र बाह्य गरी दुई किसिमका स्वार्थको काबुमा गुज्रिरहेको छ। यी स्वार्थबाट पार पाउन नसक्ने हो भने यिनले पहिले कांग्रेस सिध्याउने छन् अनि शासन व्यवस्था र देश।

अहिलेको अनपेक्षित अवस्था आउनुमा कांग्रेसको मूल नेतृत्व पदीय हिसाबले बढ्ता जिम्मेवार अवश्य होला। तर, नेतृत्वको गलत कदम र व्यवहारलाई चाकरशैलीमा स्वीकार्ने वा अझैं अघि बढेर गज्जब भन्न पछि नपर्ने दोस्रो दर्जाका दासहरू पनि कम्ता दोषी छैनन्। नेताको फेरो समातेर माथि उक्लिन अभ्यस्त भएकाहरूको नै अहिले पार्टीमा सबैभन्दा धेरै बोलबाला छ। र त, कसैले नेतृत्वलाई गम्भीर विषयमा ध्यानाकर्षण गराउँदासमेत उसको विरुद्धमा खन्निइहाल्छन्। बदलावको कुरा गर्नासाथै नेतृत्वको रक्षा कवच बनेर चाप्लुसी दर्साउँछन्। नेतृत्वको गाथा गाउनुबाहेक अरू सबै बकवास ठान्छन् उनीहरू।

अधिनायकवादी, स्वेच्छाचारी र भ्रष्टाचारी भयो भन्दै कांग्रेसकै नेतृत्वमा बनेको गठबन्धनद्वारा केपी ओलीलाई हटाइयो। तर अहिले ओलीलाई हटाउनुको औचित्य पुष्टि गर्न सत्ता गठबन्धनले सकिरहेको छैन। गठबन्धनका नेताहरूमाथि नै अहिले अधिनायकवादी र स्वेच्छाचारी हुँदैगएको उल्टो आरोप लागिरहेको छ। हुन पनि हो, गठबन्धनका नेताहरूबाट भइरहेका अहिलेका गतिविधिहरू आफूमाथि लागेका आरोपलाई खण्डित गर्न सक्ने छैनन्। हिजो ओलीको जुन मुख्य गल्तीले यो गठबन्धन जन्माउन सघायो, आज त्यही गल्ती दोहोरिएको छ।

गठबन्धन आफूले उठाएको मुद्दाबाट विल्कुलै भट्किएको छ। जनजीविकाको सवालमा पूरै बेवास्ताजस्तै छ। भ्रष्टाचारका अनेकन श्रृङ्खलाहरू सामने आइरहेका छन्। मिलिजुली सत्ताको स्वाद चाख्ने चक्र चलिरहेकै छ। आसन्न निर्वाचनपछि कसरी आफू वा आफूले चाहेकैलाई नेतृत्वमा बिराजमान गराउन सकिन्छ भन्ने कसरतमा सत्ता गठबन्धन दलका नेताहरू छुट्टाछुट्टै लागेकै छन्। आपसमा धम्क्याउने र अरूलाई चारो हाल्ने चालबाजी चुलिएकै छ। यी सर्वगुणले सम्पन्न भइसकेपछि सत्ता गठबन्धनको नियती के थियो र नियत के भइदियो भन्नेमा अब भने कोही अलमलिनु नपर्ला। सत्ता गठबन्धनको नेतृत्वकर्ता भएकाले यी सबैको भारी पनि कांग्रेस नेतृत्वले नै बोक्नुपर्छ।

आफूलाई बीपीका अनुयायी भन्न रूचाउने हामीले नै उनको आदर्श, विचार र सिद्धान्तलाई आत्मसात गर्न सकिरहेका छैनौं। बीपीले प्रष्टगरी भनेका छन्- ‘हामीले सरकारले गरेका उचित कार्यको सराहना गर्नुपर्छ र अनुचित कामको निन्दा पनि गर्नुपर्छ।’ सरकारले गरेको काममा ठीक वा बेठीक नछुट्ट्याई प्रशंसामात्र गरिरह्‍यो भने सरकारले हामीबाट जुन मद्दत चाहेको हुन्छ त्यो नपाउने बीपीकाे बुझाइ हो।

‘हाम्रो पार्टी सरकारबाट भिन्न वस्तु हो भन्ने हामीले प्रष्टसँग बुझ्नुपर्छ। हामीले नै गठन गरेको सरकार भए पनि त्यसविरुद्ध आन्दोलन गर्ने स्वतन्त्रता पनि हामीलाई प्राप्त छ।’- बीपी (२६ पुष २००८ स्रोत युगवाणी)। हाम्रा संस्थापक र सम्मानित नेता बीपीले उहिल्यै राखिसकेका विचार हाम्रा लागि आजपर्यन्त उत्तिकै अनुसरणीय छ। तर हामी यस्ता कुराहरूलाई बेवास्ता गरिरहेका छौं। सहीलाई सही र गलतलाई गलत भन्न नसक्ने हाम्रा नेता वा कार्यकर्ता साँचो अर्थमा कांग्रेसको भलो चाहने हुनै सक्दैनन्। कुनै पनि नेता-कार्यकर्ताले संगठनको भलो चाहन्छ भने उसले नेतृत्वको प्रशंसा वा आलोचना दुबै गर्नसक्ने सामर्थ्य राख्नुपर्छ।

यो लेखको सुरुआतमै उल्लिखित बीपीका भनाइहरू त्यसबेला आएका हुन् जुनबेला देशमा पहिलो पटक विधायिका निर्वाचनको तयारी भइरहेको थियो। अहिले पनि हामी विधायिका निर्वाचनकै तयारीमा छौं। फरक के भने, त्यो बेलाको नेतृत्वमा आन्तरिक असमझदारीका बीच पनि कांग्रेस एक्लैले सानदार जित हासिल गर्ने विश्वास थियो। अहिले गठबन्धनको सहारा नभई जित्न सकिने विश्वासमा नेतृत्व छैन। कांग्रेस नेतृत्व सत्ता गठबन्धन बनेदेखि नै रक्षात्मक अवस्थामा देखिएको छ। जसले गर्दा कार्यकर्ताहरू चाहँदाचाहँदै पनि आक्रामक हुन सकिरहेका छैनन्। गठबन्धनको ताल यो एक वर्षमै देखिइसक्यो। यसलाई निर्वाचनपछि पनि निरन्तर अगाडि लैजाने हो भने त्यो कांग्रेसका लागि प्रत्युत्पादक हुने निश्चित छ। त्यसैले कांग्रेसको अबको दृष्टि जसरी भए पनि आफ्नो एकल सरकार बनाउने हुनुपर्छ। त्यसो नहुँदा के हुनसक्छ भन्ने संकेत त सत्ता गठबन्धन र तिनका नेताहरूले दिइसकेकै छन्।

(झा नेपाली कांग्रेसका नेता हुन्।)

 

 

 

 

 


Leave a Reply

Your email address will not be published.