चली अब बुह्रान…

चली अब बुह्रान…

न्यारेटरले फिस्स हँसाउने ‘पहाडी’ र मुसुक्क हाँस्ने ‘निङ्मा’ उपन्यासलाई जीवन्त राख्ने मुख्य पात्र हुन्। ‘बुह्रान’ छिरेका ‘पहाडी’ थारू समुदायलाई उपन्यासमा झल्काउने एक बलियो पात्र हुन्।

पूर्वी पहाडमा हुर्के बढेकी निङ्मा लोकसेवा पास गरेर पहिलो पटक सरकारी जागिरका लागि दक्षिणपश्चिमको त्यो समथर माटोमा पुगेकी हुन्।

उत्तरार्द्धमा ‘पहाडी’ ओझेल पर्छन्।

दिन जान समय लाउँदो रहेनछ। (पृष्ठ ३२) पार्वतीका सरल शब्द हुन्। बुझिने गरी सरल भाषामा आफ्ना कुरा लेख्नु पनि यो पुस्तकको विषेशता हो।

सुकुम्वासी किसानको वस्तीमा सिंचाई सुविधा छ। तर किसानलाई सिंचाईले मात्रै पुग्दैन भन्ने कुराको अभिब्यक्ति हो माईलाले निङ्गमासँग अभिब्यक्त गरेको भावना। (पृष्ठ३३)

माईला पात्र राज्यबाट आफूहरू हेपिएको महशुस गरिरहन्छन्। उनी भन्छन्- ‘समस्या लिएर जानेहरू समाधान लिएर कहिल्यै आउँदैनन्।‘

अत्यन्तै सरल शब्दमा ठूलै अर्थ बाक्ने कुरा पोख्छन् माईला। जल, जमिन र जंगलसँग थारुहरूको गहिरो साइनो छ।

माईलाले फेरि सरल रुपमा थारुको अस्तित्व र भूमिकाको मैदान बनाए- उपन्यासमा।

‘निङ्मा’ चुपचाप सुनिरहन्छिन्।

जिज्ञासाका चाङ त कति थिए, थिए। सकेजति डायरीमा टिपोट गर्छिन्। उपन्यासमा माईला पात्र केही क्रान्तिकारी पनि देखिन्छन्। माईलाका बाबु दाङबाट ‘बुह्रान’लाई सपनाको संसार ठानेर आएका हुन्।

आफ्ना बाजेका मुखबाट स्वर्ग झैं छ बुह्रान भन्ने सुन्थे। अनि ‘चली अब बुह्रान’।

सम्पत्ति, जमिन हडपेर जमिन्दारले कमैया बनाए, श्रम शोषण गरेर दास बनाए।

खासमा बर्दिया जिल्लालाई बुह्रान भन्दथे। ‘सपनाको संसार’ बुह्रानबाट कमैया लिन जमिन्दारहरू दाङ पुग्दथे।

दाङ्गबाट बुह्रान झर्नेहरूको भारी भन्दा गह्रौं मन हुन्थ्यो। अनि सामानहरूको पोको भन्दा ठूलो सपनाको पोको हुन्थ्यो। उपन्यासका पूरै पानाहरु नै दुःखका सपना कुम्लो पारेर सुखका सपना खोज्दै बुह्रान पसेका छन् थारुहरू।

यही सेरफोरो हो- उपन्यासको मुल पाटो।

पश्चिम दाङको मुल बोकेर बग्ने मलै खोलाको मिठो पानी पिउँदै पीडा कम गर्दथे बुह्रान हिंडेका पैदल यात्रुहरू।

निङ्माका कथाका प्लटहरूमा माईलाका दु:ख लिपिवद्ध भईरहेका हुन्छन्। सँगै थारु समुदयको सिङ्गो मन।

उपन्यासको केन्द्र सुकुम्वासी वस्ती कन्द्रा बन्छ। कन्द्रा आन्दोलनको केन्द्र बन्यो। तर राज्यको शक्तिका अघिल्तिर कन्द्रा कमजोर हुँदै गयो। सुकुम्वासी समस्या समाधानका लागि प्रक्रिया अघि बढ्यो। कन्द्रा आन्दोलनको सामर्थ्य थियो। मंगल थारु अर्थात् माईला भनिएका पात्रले पनि जमिन पाउँछन्। त्यो जमिनको पूर्जा लिएर सरकारी कर्मचारीले माईलालाई जग्गा देखाइदिन्छन्। अनि त्यसैको नाम हुन्छ ‘लालपूर्जा’। लाल भनेको रातो। रातो पूर्जा पाएको दिन औंठा छाप लगाउँदा माईलाका हात खुसीले काँप्छन्।

नापी कार्यालयबाट खटिएका कर्मचारीले तोकिदिएको ठाउँमा बुढी कुलोलाई साँध मानेर दिनको घाम र रातको जुन छल्ने आफ्नै घर बनायो माईलाको परिवारले। उपन्यासका पात्र र प्लटहरू प्राकृतिक छन्। फिक्सनाईज्ड कुनै लाग्दैनन्। आफ्नो शरिरको बायाँ कोखतिर डेलिहा र दायाँ काँधमा हेल्का बोकेर थरुनीहरू (थारु महिला) काममा निस्कनछन्। माछा परे पनि नपरे पनि हेल्का बोकेर पानी खेल्न पाउँदा थारु वस्तीका महिलाहरू उन्मत्त हाँसो हाँस्छन्।

या डड्डै……हाँसो उन्मत्त… माघी आउँदै थियो।

सुकुम्वासी वस्तीमा पनि विस्तारै स्वतन्त्रता र खुसी चढ्दै गएको देखिन्छ। तर पेटको अगाडी पीडाको के लाग्छ र!

माघ महिनामा को कहाँ कमैया बस्ने वा छोड्ने, खेत जोत्ने निर्क्योल हुन्छ, थारु समुदायमा।

सबैलाई कामको पिरलो।  उपन्यासमा लेखकले पात्रहरुमाथि न्याय गर्ने प्रयास पुरापूर गरेका छन्।

पार्वती नाम गरेकी पात्रलाई सागरमा डुबेको मोती झै निकाल्न खोजेका छन् लेखकले।

माईला पात्रलाई कलात्कम रुपले प्राकृतिक रुपमा उपन्यासमा उभ्याएका छन्। थारु भाषाको प्रयोग सँगै त्यसको उल्था माड भन्दा मिठो र जाँड भन्दा मात लाग्नेछ।

तेह्र वर्षमै दुलही हुन पुगेकी पार्वतीको दुई हातमा सुनका चुराको हतकडी थियो समग्र विवाह। सम्बन्ध, विवाह, समाज संघर्ष र रीतिरिवाजको मनोवैज्ञानिक पक्षमा पार्वती अब्बल पात्र हुन, उपन्यासमा।

कसैको मृत्युलाई कसैको भाग्यसँग जोड्ने विषयमा पार्वती मनोवैज्ञानिक रुपमा खरो उत्रेकी छन्। समाजको मनोविज्ञानमा उतिबेलै पार्वती क्रान्तिकारी पात्र हुन्, त्यसमाथि संघर्षशील पनि।

जीवनलाई अनुमान र अनुभव दुवै तरिकाले बुझ्ने पात्रका रुपमा छन् पार्वती।  आफ्ना आँखा अगाडी आफ्नै सन्तानहरू र जीवनसाथी गुमाएकी पार्वतीले मृत्युलाई नजिकबाट ब्यहोरेकी छन्।

पार्वती दुःख र पीडाका अगाडी चट्टान झैं चित्रित छन्।  उही समुदायकाले उही समुदायमाथि गर्ने शोषण र थिचोमिचोलाई पनि उपन्यासमा मलिलो गरी रोपिएको छ।  पात्रमा पाठक डुबे भने कतिपय सन्दर्भमा आँखा नरसाउलान भन्न सकिन्न। लेखकले परेलीका डिलमा टिलपिल गर्नेगरी लेखेका छन्।

कतिपय सन्दर्भहरुमा लेखकले बुढी कुलोले बाटोफेरे झैं फेरेका पनि छन्। उपन्यासको धरातल राज्यबाट विभेद खेपेको थारु समुदाय नै हो। त्यसभित्र पनि कमैया र सुकुम्वासी समस्याले उत्पन्न परिवेश कृतिको आत्मा बन्छ।

देशमा चलेको दशक लामो द्वन्द्वका खाटा पनि छन् उपन्यासका पानमा।

एकजना पात्र सर्वराज उपन्यासको उत्तरार्धमा फक्रिन्छन्।  माईलाको छोरा सोमलाललाई कामदार राख्छन्। त्यही कमैयाको सर्वराजकी छोरीसँग प्रेम सम्बन्ध झाङ्गिन्छ, सम्बन्धले विवाहको वैधानिकता पाईसक्छ।

संयोगले यो उपन्यास पढिरहँदा कृष्णअष्टमी पर्‍यो। यही दिन देखि थारु समुदायको सखिया नाच सुरु हुन्छ। उपन्यासमा थारु संस्कृति र चाडपर्वका बारेमा मनग्य शब्दहरू छन्। यौनका विषयलाई मन्द रुपले रसिलो भावमा उपन्यासमा मिसाईएको छ। जसरी तातो भातमा घ्यू मिसाईन्छ अनि पग्लिएर भातलाई स्वादिलो बनाउँछ।

कतिपय अश्लील लाग्ने गालीलाई भाषाले छोप्ने खोजेर भाव दर्शाउन खोजिएको पनि छ।

राजनीतिको प्रभाव बेसमारी पर्छ, उही कमजोर बनेको सोमलाल बदलिएको राजनीतिक विकास क्रममा भूमिगत हुन्छ। द्वन्द्वले एउटै परिवार र छिमेकी कसरी खोलाका दुई किनार हुन्छन् भन्ने देखाउँछ।

पार्वती र माईलाको परिवार विद्रोही र राज्य पक्षमा बाध्यतावस बाँडिन्छन्। पार्वतीका छोराहरू प्रहरीमा छन् यता माईलाको छोरो विद्रोहीको कमाण्डर। तर पनि माईला र पार्वती पुरानै समबन्ध बचाईराख्न परिस्थितसँग पौठेजोरी खेलिरहन्छन्।

रामेछापकी निङ्मा, पहाडकी पार्वती र तराईका माईलाका कथा बुन्न ‘बुह्रान’को समथर जमिनमा निपुण देखिन्छन्। पुस्तकमा मधेस नलेखेर ‘मदेश’ लेखिनुले पनि ठूलो संकेत गरेको छ। कमैया मुक्तिको लडाईं र थरुहटको आन्दोलनका बाछिटाहरूलाई बहस गर्ने पाटालाई यतिबेला उपन्यास पढेर थाती मार्नुपर्ने देख्छु म।

गरिव, मजदुर, सुकुम्वासी र सिप नभएका अनि अशिक्षित जनताका हरेक आन्दोलनका उर्जा हुन्छन् तर समय बित्दै जाँदा राजनीतिक रुपमा अवसर र अधिकारबाट यही वर्ग फेरि विभेदमा पर्छ, भन्ने कुरालाई उपन्यासमा छर्लङ्ग देख्न सकिन्छ।

राप्तीको उत्तरी बेल्ट चुरेपहाडको जगंलको फेरो मार्दै हिंडेका बटुवाहरू माझ उपन्यास ‘बुह्रान’ भेरी, बबई र कर्णाली जस्तै सलल बगेको छ।

अन्त्यमा, महानन्द ढकालको उपन्यास ‘बुह्रान’ मौलिक रुपमा पाकेको स्वादिलो साहित्यिक व्यञ्जन हो।


Leave a Reply

Your email address will not be published.