गठबन्धन कार्यदल : अधुरो प्रतिवेदन बुझाउने तयारी

गठबन्धन कार्यदल : अधुरो प्रतिवेदन बुझाउने तयारी

काठमाडौं- सत्ता गठबन्धनले आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्न बनाएको कार्यदल सहमतिमा पुग्न असफल भएको छ।

बुधबार साँझ बसेको कार्यदलको बैठक सहमतिमा पुग्न नसकेको हो।

सिट भागबन्डामा सहमति जुट्न नसकेपछि कार्यदलले अधुरो प्रतिवेदन शीर्ष नेतालाई बुझाउने भएको छ।

बिहीबार कार्यदलको बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने र शीर्ष नेतालाई बुझाइने कार्यदलका एक सदस्यले जानकारी दिए।

प्रतिनिधिसभाका कुल १६५ सिटमध्ये बुधबारसम्म जम्मा ८८ सिटमा मात्रै कार्यदल समझदारीमा पुग्न सकेको एक नेताले बताए।

बाँकी रहेका सिटमा सहमति जुटाउने प्रयास गर्ने र सहमति नजुटे बाँकी कामको जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने गरी प्रतिवेदन बुझाउने तयारी भइरहेको बताइएको छ।

नेपाली कांग्रेसले प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये सय सिटमा दाबी गरिरहेको छ। त्यो भन्दा कममा सहमति गर्दा पार्टीभित्र टिकटको व्यवस्थापन गर्न चुनौति हुने उसको भनाइ छ।

यस्तै माओवादी केन्द्रले ६० र नेकपा(एकीकृत समाजवादी) को ४० सिटमा दाबी छ। जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेको छ।

२० साउनमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो।

त्यही बैठकले सिट बाँडफाँटको मोडालिटी तयार पार्न ११ सदस्यीय कार्यदल गठन गरेको थियो।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलको बैठक यसबीचमा पटक–पटक बसे पनि सिट बाँडफाँटका लागि सहमति जुटाउन सकेको छैन।

 


Leave a Reply

Your email address will not be published.