प्रतिगमनको ऊँट चढेर अग्रगमनको यात्रा

प्रतिगमनको ऊँट चढेर अग्रगमनको यात्रा

आम चुनाव नजिकिँदै गर्दा अरू ठाउँ भन्दा बाँके क्षेत्र नम्बर-२ को चुनावी गतिविधि दुईकदम अगाडि देखिएको छ।

उम्मेदवार को-को हुने हुन्? कस्तो ध्रुबीकरण हुन्छ भन्ने एकीन भइसकेको छैन। तर पनि प्रतिनिधि सभा सदस्यका आकांक्षीहरू आफ्नो दाबेदारी प्रस्तुत गर्दै मैदान तताउन थालिसकेका छन्।

आफ्नो पक्षमा चुनावी माहोल बनाउन यतिबेला सबैभन्दा बढी चिन्ता र तनाबमा देखिएका पात्र हुन्, राप्रपाका महामन्त्री धवलसमशेर राणा।

उनमा काम गर्ने हुटहुटी त होला तर दूरदर्शिता भने देखिँदैन।

धवलसमशेरले आफूलाई पहिल्यैदेखि विकासवादी नेताका रूपमा चिनाउन जोडबल गरिरहेका छन्।

तर यतिबेला मतदाताले नपत्याइदिँदा भने उनको निद हराम भएको छ।

प्रतिगमनको ऊँट चढेर परिवर्तनको ढिंढोरा पिट्दै हिँडेका धवलसमशेरलाई मतदाताले कत्तिको पत्याउँछन् त्यो त मंसिर ४ पछि थाहा होला नै!

उनको राजनीतिक सोंच र परिवर्तनको नाराबीच ठूलो विरोधाभाष छ। जुन व्यवस्थाले देशमा असमानता र विभेदलाई मलजल गर्‍यो, जुन शासन प्रणालीले समुन्नतितर्फ अघि बढ्न रोक्यो अनि जुन संस्थाले स्वतन्त्रतामा लगाम लगाएर राख्यो, त्यसैको वकालत गर्दै कस्तो परिवर्तनको परिकल्पना गरेका हुन् उनले? मतदाताले राम्ररी बुझेका छन्।

त्यो परिवर्तन होइन, पूरापूर पश्चगमन हो। स्वतन्त्रता र विकास पक्षधर कुनै पनि स्वतन्त्र नागरिक अब फेरि पछाडि फर्कन चाहँदैन। कसैको गुलामी चाहँदैन, दासत्व स्वीकार्दैन। विद्यमान शासन व्यवस्थामा सुधारका लागि सङ्घर्ष गर्ला, गलत गरेका नेतृत्वलाई चुनावमार्फत नै सच्च्याउन खोज्ला तर व्यवस्थै उल्टाउन लागिपरेकाहरूको पक्षमा कदापि उभिँदैन।

अर्को कुरा, धवलसमशेरले वकालत गर्ने हिन्दूत्वको नारा सबैभन्दा खतरनाक छ। हो, आ-आफ्नो धर्म-सम्प्रदायप्रति सबैले गर्व गर्नुपर्छ, संरक्षण गर्नुपर्छ। तर धर्मकै आधारमा कसैलाई विशेषाधिकार दिने र कसैलाई निषेध गर्ने सोंच गलत हो।

राजनीति हाम्रो समाजकै ऐना हो। समाजलाई फोहोर पारेर सङ्लो राजनीतिको स्वैरकल्पना सुहाउँदैन।

धवलसमशेरले के हेक्का राख्नु जरूरी छ भने, राजनीति भनेको समाज जोड्नका लागि हो, तोड्नका लागि होइन!

विभेदलाई बढावा दिने सोंच पालेका राप्रपाका ‘जिम्मेवार’ नेता धवलसमशेर विकासको मामिलामा पनि आलोकाँचो नै सावित भइसकेका छन्।

नेपालगन्ज उमहानगरको प्रमुख हुँदा आफूले गरेका स-साना कामलाई पनि यसो गरें, उसो गरें भन्दै ठूलै फूर्ति लाउँछन्। तर उनले गरेका कयौं काम शीर निहुर्‍याउनुपर्ने खालका छन्।

अहिलेलाई मात्र दुई वटा उदाहरण लिऊँ।

पहिलो, अत्याधुनिक सौचालय र दोस्रो, नगर बस सेवा। यी दुवै कार्यक्रमलाई उनले आफ्नो ठूलो उपलब्धी भएको डंका पिट्ने गरेका छन्।

धवलसमशेरले अत्याधुनिक र मोबाइल शौचालयका नाममा लाखौं रूपैयाँ खर्चिए।

तर ती शौचालयहरू लगभग प्रयोगमै नआइ हराए। अघिदेखि नै भएका कयौं शौचालय पनि बन्द नै रहे।

सञ्चालनमा रहेका भने पस्नै नसकिने दुर्गन्धित रहिरहे।

नेपालगन्ज बजारमा कामले निस्किएकाहरूलाई अपर्झट शौच गर्नुपर्ने अवस्था भयो भने अहिले पनि निकै कष्टकर हुन्छ। सार्वजनिक शौचालयको निरन्तरताका लागि धवलको हुत्तिले भ्याएन।

झट्ट हेर्दा त यो कार्यक्रम अत्याधुनिक र आकर्षक देखियो तर उपयोगिता शून्य!

दोस्रो, महिला कर्मचारीसहित नगरबस चलाउने भनेर धवलले नगरप्रमुख छँदा आधा दर्जनबढी बसहरू खरिद गरे।

मिडियामार्फत यसको हल्लीखल्ली यहाँमात्र होइन देशैभर मच्चाइयो। तर केही समयमै ति नगरबसहरू निजी क्षेत्रको जिम्मा लगाइयो। नगरपालिकाले घाटा ब्यहोर्नुपर्‍यो। महिलालाई रोजगारी दिने एउटा राम्रो योजना तुहियो।

आफूलाई विकासवादी भनेर चिनाउन चाहने धवलसमशेरले के बुझ्नु जरूरी छ भने, भौतिक संरचना खडा गर्नु र साधन खरिद गर्नुमात्र विकास होइन। तिनको उपयोग र सेवाको निरन्तरता पनि विकासका अभिन्न पक्ष हुन्।

त्यसैले विकासका बहुआयामिक पक्ष पर्गेल्ने र त्यसअनुसार नै कार्यनीति तय गरेर लक्ष्य हासिल गर्ने सवालमा धवलसमशेर नाजवाफ हुन पुगेका छन् भन्दा अन्यथा हुँदैन।

धवलसमशेरले आफ्ना उपलब्धीमा गणना गरेका यी काम विकास होइनन्, विनास हुन्। विनास यसअर्थमा कि, जनताको करको सही सदुपयोग भएन। नगरबासीको करको लगानी ब्यर्थ हुनपुग्यो।

यी साधनहरूको उपयोगिताका सम्बन्धमा दुरदृष्टि राख्न सकेको भए नगरवासीले थोरै भए पनि सेवा र रोजगार त पाउँथे।

त्यसो त विकासको मामिलामा धवलसमशेरमा दूरदृष्टि छैन भन्ने उनको पहिलो कार्यकालमै नदेखिएको होइन।

आफूभन्दा अघिका नगर प्रमुख विजयकुमार गुप्ताले कोरेको नक्सामा उनले काम अघि बढाए।

तर त्यसलाई समयानुकल परिवर्तित गर्न भने चुके। जसको एउटा उदाहरण हो न्यूरोड। त्यत्रो न्यूरोड बजार बिस्तार हुँदैगर्दा भोलिका दिनमा त्यहाँ पार्किङ चुनौति हुनसक्छ भन्नेसम्म उनले पहिलो कार्यकालमा त ठम्म्याउन सकेनन् नै।

दोस्रो कार्यकालमा पनि त्यसलाई सच्च्याउने तत्परता देखाएनन्।

विकास चाहनु एउटा कुरा हो तर विकास गर्नसक्नु फरक कुरा हो।

धवलसमशेरले जस्तै हामी सबैले यहाँको विकास चाहेकै छौं। तर चाह्यो भन्दैमा हामी सबै जिम्मेवार ठाउँमा पुगी पनि त हाल्दैनौं! जिम्मेवारीमा पुग्न त कि आफूलाई सफल साबित गर्न सक्नुपर्‍यो, कि जनताको विश्वास जित्न सक्नुपर्‍यो। धवलसमशेर यी दुबैकुरामा चुकेका छन्।

समयक्रमसँगै हुने विकासलाई आफूले गरेको भनेर दुहाई दिँदैमा अब जनताले पत्याउने छैनन्। विकासको चाहना राख्ने नेताकारूपमा भलै धवलसमशेर अब्बल भनेर चिनिँदा हुन्। तर सम्भावित विकास-निर्माणका ति चाहनालाई उपयुक्त नतिजामा पुर्‍याउने सीप-क्षतामा प्रशस्तै कमजोरी छन् भन्ने उनको नगर प्रमुखको दुई कार्यकालमा परीक्षण भइसकेको छ।

अत: विरोधाभाषपूर्ण नै भए पनि नेपालगन्जको भलो चाहने छबि देखिएकाले मतदाताले उनीप्रति सदासयता त राख्न सक्लान् तर समर्थन नै गर्न भने मुस्किल देखिन्छ।

बाँके-२ का बासिन्दाले अब विकासलाई चाहनामै मात्र सीमित राख्ने नभई नतिजामा अनुभूत गर्न चाहेका छन्।

पछाडि फर्केर नभइ अगाडि बढेर विकासको बाटो पहिल्याउन खोजेका छन्।

यसको सन्देश मंसिर ४ को चुनावमार्फत उनीहरूले अवश्य दिनेछन्।


Leave a Reply

Your email address will not be published.