राष्ट्रपति भण्डारीविरूद्ध रिट दायर

राष्ट्रपति भण्डारीविरूद्ध रिट दायर

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

संघीय संसदको दुवै सदनले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लंघन गरेको भन्दै राष्ट्रपति भण्डारीविरूद्ध रिट दायर भएको हो।

अधिवक्ता सुनिल रञ्जन सिंह र अधिवक्ता सरिता थापाले रााष्ट्रपति कार्यालय शीतल निवास र राष्ट्रपति भण्डारीलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

‘प्रतिनिधिसभाको सभामुख र राष्ट्रियसभाका अध्यक्षले दोस्रोपटक प्रमाणीकरणका लागि पेस गर्दा राष्ट्रपतिद्वारा उक्त विधेयकलाई प्रमाणीकरण गर्ने समयसीमाभित्र नेपालको संविधानको धारा ११३ को उपधारा ३ अनुसार प्रमाणीकरण नगरी नेपालको संविधानको धारा ११३(४) को उल्लंघन भएको’ रिटमा उल्लेख छ।

त्यस्तै दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि पठाएको विधेयक प्रमाणीकरण नगरेर नागरिकबाट चुनिएको संसदको घोर अपमान गरेको, नागरिकताबाट बञ्चित लाखौं नेपाली नागरिकको संवैधानिक हक र अधिकारमाथि कुठाराघात गरेको रिटमा जनाइएको छ।

विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको धारा १०, ११, १२, १३, १४, १५, १६(१), १८(१), ६६(१), १११ र ११३ (४) को गम्भीर उल्लंघन गरेको रिटमा उल्लेख छ।

रिटमाथि सुनुवाइका लागि शुक्रबारको पेसी तोकिएको छ।

संसदबाट दोहोर्‍याएर पारित भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्थाविपरित राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।

 


Leave a Reply

Your email address will not be published.