गुल्जार छ भारतीय बजार,  नेपाली भने सुनसान

गुल्जार छ भारतीय बजार,  नेपाली भने सुनसान

महामारी रोक्नका लागि सरकारले लामो समयसम्म बन्द सीमानाकाहरू बन्द गर्दा रुपैडिहाका व्यापारीहरूले मोदीलाई एउटा पत्र लेख्दै भनेका थिए – नेपाली सीमा नाका बन्द छन्। नेपाली ग्राहक नआउँदा हाम्रो बजार सुक्न लाग्यो। धेरै व्यापारीहरूले व्यापार छोडिसके…!

उनीहरूले सीमानाका खोल्नका लागि नेपाल सरकारसँग कुरा गर्न पनि मोदीलाई भनिपठाएका थिए।

सत्य यही हो।

सिमानाका भारतीय बजार नेपाली उपभोक्ताले नै धानिएका छन्। फरक यत्ति हो, कतै बाध्यताले थिचिएका नेपाली भारतीय हाटबजार भर्न हप्तामा एकदिन जान्छन्। तर नेपालगन्जजस्ता नाकाका सहरमा हरेक क्षण हुलका हुल नेपाली उपभोक्ता रुपडिहाजस्ता बजारमा ठेलमठेल गर्छन्।

वारि सुनसान, पारि रमझम

दसैको माहोल छ।

सँगै जोडिएकाे रुपडिहा बजार गुल्जार भएकाे धेरै भइसक्यो। दसै आँगनमै छिर्दासमेत नेपालगन्ज बजार भने सुनसान छ।

नेपाली बजारमा पैसा ओइरिने बेला पनि यही हो। यतिबेला नेपाली उपभोक्ताले नेपालगन्ज सहर भरिनुपर्ने हो तर त्यस्तो छैन। नियमित खुद्रा किनमेलबाहेक यहाँ ग्राहक छैनन्। ब्यापारीहरू दिनभरि पंखामुनि सुस्ताएर बसिरहेका छन्।

जमुनाह नाका। नेपालगन्जको मुख्य बजारदेखि लगभग ३ किलोमिटर दक्षिणमा एउटा गेट छ। त्यही हो सिमाना। उतातिर रुपडिहा छ यतातिर नेपालगन्ज बजार।

यतिबेला त्यो नाका खचाखच छ। रिक्सा र टाँगाहरूमा मान्छे ओइरिइरहेका छन्। भारतमा काम गर्न गएकाहरू दसै मान्न फर्किरहेका छन्। कोही भारत पसिरहेका छन्। र, सबैभन्दा धेरै त नेपाली उपभोक्ताहरू दसैको किनमेल गर्न रुपडिहा ओइरिइरहेका छन्।

आफ्ना पसलमा बसेर उतैतिर ओइरिएका नेपाली ग्राहक टुलुटुलु हेरेर बस्नुपर्ने भएपछि यहाँका व्यापारीले फेरि एकपटक सिमानामा पुगेर ‘धर्ना’ दिए।

‘किन जाने सिमापारि?’ ब्यानर र पर्चाहरू रुपडिहा जान हिँडेका नेपाली ग्राहकलाई दिँदै व्यापारीहरू सम्झाउँदै थिए ‘नेपालगन्जमै पाइन्छ गुणस्तरीय सामग्री, अबको खरिदारी मात्र सिमावारी…।’

यस्तो अहिलेमात्रै होइन। नेपालगन्जका व्यापारीहरूले धेरैपटक गरिसकेका छन्। कुनैबेला व्यापारीहरू भन्सारमै बसेर प्रहरीसँगै सामान चेकसमेत गर्थे। त्यो बेला रुपडिहाबाट किनेर ल्याएको एक किलो चिनीमा समेत भन्सार लगाउन थालेपछि उतातिर किनमेल केही कम भयो। भलै त्यसको व्यापक विरोध पनि भयो।

विरोध यसकारण कि नेपालगन्ज भन्दा रुपडिहामा दैनिक उपभोग्य सामान केही सस्तो पाइन्छ।

गुणस्तरको कुरा आफ्नो ठाउँमा होला तर रुपडिहामा नेपालीहरू एक किलो चिनी र नुनतेल किन्नमात्रै जाँदैनन्। उनीहरू एकैपटक घरभरिका सामान किन्छन्।

घरटोलमा कुनै सामाजिक वा सांस्कृतिक काम, भोजभतेरका लागि समान किन्न रुपडिहा नै जान्छन्। त्यस्तो सामूहिक कामका लागि एकैपटक धेरै सामान किन्दा दुवैतिरका चेकप्वाइन्टमा अवरोध पनि हुँदैन।

किन उतै जान्छन् नेपाली ग्राहक?

यो त पहिलादेखि नै चलिआएको हो।

कतिपय नेपालीका त रुपडिहामा पुस्तैनी पसलहरू पनि छन्। उधारो पनि चल्छ। पारिवारिक पसल जस्तै। एकपटक टन्न सामान उधारो लैजाने अनि अर्कोपटक फेरि त्यसलाई चुक्ता गरेर नयाँ लैजाने। यो क्रम वर्षौंदेखि चलिआएको हो।

नेपालगन्जमात्रै होइन, वरिपरिका छिमेकी जिल्लाबाटसमेत हुलका हुल मानिस रुपडिहामै किनमेल गर्न जान्छन्।

भारतबाट फर्किएर आउनेहरूले घरपरिवारलाई चाहिने सामान उतैबाट ल्याएर आउँछन्। नेपालगन्ज आफैमा तीन प्रदेशको प्रवेश ढोका पनि हो। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै मानिसहरू नेपालगन्ज भएर रुपडिहामा किनमेल गर्नजान्छन्।

सिमानामा धर्ना दिइरहेका नेपालगन्जका ब्यापारीहरूको हुल छिचोलेर आफन्तहरूसँग रुपडिहा जाँदै गरेकी मीना बस्नेत भन्दै थिइन्, ‘जहाँ किने पनि हाम्रो मन त हो…।’

‘स्वदेशमै किनमेल गरौं’ भनेर लेखिएको एउटा पर्चा दिँदै एकजना व्यापारीले उनलाई सम्झाए ‘त्यो त तपाईंकै मन हो। तर किन नेपालगन्जमा सामान नकिन्ने?’

उनले जवाफ फर्काइन्, – ‘नेपालगन्जमा महंगो हुन्छ। यतातिर सस्तो। धेरै सामान किन्दा झन सस्तो हुन्छ।’

तर व्यापारीहरू भन्छन् ‘त्यो गलत हो। भ्याटबाहेक सामान त नेपालगन्जमै सस्तो पर्छ। अझ त्यहाँभन्दा राम्रो क्वालिटी पनि हुन्छ। भारतीय व्यापारीको विश्वास पनि हुन्छ। आफ्नै देशका व्यापारीले केही ठगी गरिहालेमा ग्राहकले सजिलै त्यसको क्षतिपूर्ति भराउनसक्छन्।’

तर पनि नेपाली उपभोक्ता विश्वास गर्दैनन्। जस्तोसुकै गाह्रोसारो होस् उनीहरू उतै सामान किन्छन् र फर्किन्छन्।

‘हामीले धेरैपटक प्रहरी प्रशासनलाई भनिसक्यौं। मन्त्री, सांसदहरू सबैलाई भनिसकेका छौं। तर कसैले पनि सुन्दैनन्। अनि हामी पटक पटक यसरी सिमानामा धर्ना दिन बाध्य छौं’ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाइद मन्सुरी भन्छन् ‘यो धर्ना भन्दा पनि उपभोक्तालाई सचेत बनाउने अभियान हो।’

उनका अनुसार नेपालगन्जमा भन्दा त्यत्तिधेरै सस्तो पनि रुपडिहा छैन, जति उपभोक्ताले ठान्छन्। कतिपय चिजहरू त नेपालगन्जभन्दा महंगो पनि छन्।

अझ कतिपय सामान त रुपडिहाका व्यापारीले नेपालगन्जबाट किनेर लैजान्छन् र फेरि उतैबाट नेपालीलाई नै बेच्छन्। नेपालगन्जमा महंगो भनेको भारतबाट आउने केही खुद्रा सामानहरू हुन् जसमा भन्सार शुल्क लागेको हुन्छ। तर रुपडिहामा त्यस्तो हुँदैन र त्यो सामानको मूल्य यताभन्दा कम पर्नजान्छ।

‘तर नेपालीको बानी त कस्तो छ भने बहुराष्ट्रिय कम्पनीका सामानहरू पनि उतैबाट ल्याउँछन्। जब कि नेपालमा प्लान्ट भएका बहुराष्ट्रिय कम्पनीका सामानहरू त नेपालमै सस्तोमा पाइन्छन्’ संघका महासचिव चिरञ्जिवी वली भन्छन् ‘नेपाली उपभोक्ताहरूमा रुपडिहामा सस्तो पाइन्छ भन्ने भ्रममात्रै छ। तर सबै कुराहरूको हिसाब गर्दा त नेपालगन्ज नै सस्तो हो। भरपर्दो हो अनि सजिलो पनि हो।’

त्यतिमात्रै होइन, अरु पनि दैनिक उपभोग्य सामानहरू हरेक हिसावले नेपालमै सस्तो र सजिलोसँग पाइन्छ।

कतिपय उपभोक्ता ठगिएर आउँछन् किनकि जेजस्तो भए पनि त्यो विदेशी भूमि हो। यता त्यस्तो हुँदैन। ग्राहकले सजिलै प्रतिवाद गर्नसक्छन्। आउँदा-जाँदा दुइतिरका प्रहरीको किचकिच पनि झेल्नुपर्दैन। अनि सामान किन्न जाने सवारी भाडा र फर्किँदा उनीहरूलाई तिर्नुपर्ने भाडा जोड्ने हो भने नेपालगन्जमा किनमेल गर्दा र रुपडिहामा खासै फरक पर्दैन।

तर पनि ग्राहक त उतै ओइरिरहन्छन्। यताका व्यापारी त्यो ओइरो टुलुटुलु हेरिबस्छन्। वर्षौंदेखि नेपालगन्जका व्यापारीले भोगिआएको नियति पनि यही हो।

व्यापारीको धर्ना जुलुसले छेक्न सक्ला?

खुला बजार प्रणालीमा उपभोक्ताको रोजाइ नै पहिलो हुन्छ। एकाध ‘कार्टेलिङ मार्केट’बाहेक।

तर नेपालगन्जका व्यापारी भने पटक पटक नेपाली ग्राहकलाई छेक्नका लागि सिमानामा उत्रिन बाध्य छन्। उनीहरू सम्झाउँछन् बुझाउँछन्। कतिसँग त बाझाबाझ पनि हुन्छ।

खासमा त यो राज्यको नीतिमा पनि भर पर्छ।

‘धेरै उपभोक्ता भ्रममा परेर हो। हाम्रो मात्रै कारण होइन राज्यले पनि गर्नुपर्थ्यो। स्वेदशमै खरिद गर्दा धेरै सामान सस्ता पनि छन्’ महासचिव वली भन्छन् ‘कतै महंगो लागेको छ भन्ने लागेको छ भने हामीलाई भन्दा हुन्छ। नियमअनुसार हामी सस्तो भन्दा सस्तोमा सामान उपलब्ध गराउँछौं।’

खुला सिमाना छ। न कुनै छेकवार छ न कुनै रोकावट। साइकल अनि रिक्सामा झुन्ड्याएर सामान ल्याउने र त्यसलाई गोदाम गरेर सस्तोमा व्यापार गर्नेहरू पनि यही बजारमा छन्। कानुनी उल्झनहरूलाई पार गर्दै महंगो कर अनि महंगो सटर भाडा तिरेर व्यापार गर्नेहरू पनि यही सहरमा छन्।

अनि कहिलेकाहिँ यो विषयमा पनि द्वन्द्व चर्किन्छ। व्यापारीहरू विरोध गर्छन्, भन्सारमा प्रहरीहरू केही दिन अलि कडाइ गर्छन् तर फेरि उस्तै।

‘त्यसका लागि सरकारले पनि पहल गर्नुपर्छ। सरकारी स्तरबाटै दुवैतिरका सरकारी अधिकारीहरू बसेर यो समस्याको समाधान खोज्नुपर्छ’ महासचिव वली भन्छन् ‘सबै ग्राहकहरू उतै जाने हो भने त हामी कतिदिन झिंगा धपाएर बस्नु?’

ठूला पर्वहरूमा आँगनमै छन्। हरेक व्यापारी व्यवसायीको पर्खाइ पनि यही हुन्छ। तर नेपालगन्जका व्यापारी यस्ता ठूलो पर्वहरूमात्रै होइन, अरू बेला वा हरेक दिन यही नियति हेर्न बाध्य छन्।

‘यस्तो पहल हामीले मात्रै गरेर हुँदैन। हरेक दिन हामी सिमानामा बसेर ग्राहकलाई सम्झाउन सक्दैनौं। उहाँहरूलाई रोक्न पनि सक्दैनौं कहाँ किनमेल गर्ने भन्ने कुरा उहाँहरूको अधिकार हो’ महासचिव वली भन्छन् ‘त्यसका लागि सरकारले केही नियमहरूमा कडाई गर्नुपर्छ। राज्य नै नलाग्दासम्म यस्तो त रोकिन्न।’


Leave a Reply

Your email address will not be published.