धनुषा छाड्दैछन् राजेन्द्र महतो!

धनुषा छाड्दैछन् राजेन्द्र महतो!

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा धनुषा ३ बाट निर्वाचित भए।

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई पराजित गरेर महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

मधेस आन्दोलनको रापतापपछि भएको त्यो निर्वाचनमा गृहजिल्ला सर्लाही छाडेर धनुषा पुगेका महतोलाई त्यहाँका मतदाताले पत्याए। र, निर्वाचित गराएर प्रतिनिधिसभासम्म पुगाए।

त्यो चुनावमा संघीय समाजवादी फोरम (हाल जसपा) सँग तालमेल गरेको तत्कालीन राजपाबाट महतो उम्मेदवार बनेका थिए।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा महतो पुनः धनुषाबाट लड्लान् वा अर्को कुनै जिल्लाबाट चासोको विषय बनेको छ।

गृहजिल्ला सर्लाही भएका महतो २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही २ मा महिन्द्रराय यादवसँग चुनाव हारेका थिए।

त्यसपछि २०७४ सालको चुनावमा रायसमेत एकै पार्टी राजपामा रहेपछि निर्वाचन खोज्दै महतो धनुषा पुगेका थिए।

अहिले पाँचदलीय गठबन्धन भएपछि कुन क्षेत्र कसको भागमा पर्ने वा भागबन्डामा धनुषा क्षेत्र नम्बर ३ कसको भागमा पर्छ, टुंगो लागिसकेको छैन।

तर, सत्ता गठबन्धनबाट त्यो निर्वाचन क्षेत्र कांग्रेसकै भागमा पर्ने करिब निश्चित जस्तै छ।

धनुषा ३ बाट चुनाव लड्दै आएका कांग्रेस नेता निधि समानुपातिकतर्फ गइसकेका छन्। निधिको नाम बन्दसूचीको पहिलो नम्बरमा सूचीकृत भएको छ।

कांग्रेसले त्यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि परमेश्वर महासेठ र गणेश तिबारीको नाम सिफारिस गरेको छ।

गठबन्धनभित्र धनुषा ३ कांग्रेसको भागमा परे महासेठ वा तिबारीमध्ये कोही एक जना उम्मेदवार हुनेछन्।

अर्कोतर्फ निधिले समानुपातिकलाई रोजेपछि फेरि धनुषा ३ बाटै चुनाव लड्ने र जित्नेमा ढुक्क थिए, महतो। निधि नलड्दा आफूलाई चुनौति दिने ‘हेभि वेट’ उम्मेदवार नहुने र चुनाव निकाल्न सहज हुने लागेको थियो, महतोलाई।

तर, त्यस क्षेत्रबाट चुनाव लड्न उनलाई समस्या भइदिएकी छन् एमाले नेतृ जुली महासेठ।

एमाले सचिव रघुवीर महासेठकी श्रीमती जुली धनुषा ३ बाटै चुनाव लड्ने तयारीमा छन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनलाई कांग्रेस नेता निधिले पराजित गरेका थिए।

२०७४ सालको निर्वाचनमा समानुपातिकबाट प्रतिनिधिसभासम्म पुगेकी जुली यसपटक प्रत्यक्ष चुनाव लडेर त्यहाँसम्मको बाटो तय गर्न खोजेकी छन्।

अघिल्लो चुनावमा माओवादी र एमालेको गठबन्धन थियो। वाम गठबन्धनको भागबन्डामा धनुषा ३ माओवादीको भागमा पर्‍यो।

वाम गठबन्धनबाट उम्मेदवार बनेका थिए, रामसिंह यादव। वाम गठबन्धन हुँदा पनि रामसिंहले जम्मा २ हजार ३४६ मतमा चित्त बुझाउनुपरेको थियो।

रामसिंहले आफ्नो संगठनको भोट त पाए तर एमालेको भोट पाएनन्। र, एमालेको भोट पाएर महतो जितेका थिए।

माओवादी केन्द्रसँग मिलेर आफ्नो नेतृत्वको सरकार ढाल्न भूमिका खेलेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले निधिसँग ‘रिसिइभी’ साध्न पार्टीका भोट महतोतिर ‘डाइभर्ट’ गराउन लगाएका थिए।

मधेस आन्दोलनका बेला ओलीको सबैभन्दा बढी विरोध गर्नेमध्येका एक थिए, महतो। ओलीको विरोध गरेर भोट तान्ने चुनावीनिती थियो, उनको।

तर, ‘अदृष्य’ रूपले ओलीले महतोलाई सघाएका थिए। ओलीको त्यही ‘अदृष्य’ सहयोगले महतो धनुषा ३ बाट चुनाव जिते।

त्यो चुनावमा एमालेको भोट महतोलाई हाल्नका लागि ओलीका विश्वासपात्र रघुवीर र जुलीले ‘उर्दी’ नै जारी गरेका थिए।

वाम गठबन्धन हुँदा पनि कम मत पाएको भन्दै माओवादीका उम्मेदवार रामसिंह  असन्तुष्ट बने।

यसपटक धनुषा ३ को परिदृष्य फेरिएको छ। एमालेका तर्फबाट जुली लड््ने निश्चितप्रायः छ। केही दिनअघि पार्टी प्रवेश कार्यक्रमका लागि ओली जनकपुर पुगेका बेला धनुषा ३ बाट जुली चुनाव लड्ने सार्वजनिक रूपमै भनेका थिए।

हुनत लोसपाले आगामी चुनावमा एमालेसँग तालमेल गर्ने निर्णय गरेको छ। तालमेलका लागि लोसपाले बनाएको वार्ता समितिका संयोजक महतो आफैं छन्।

एमालेसँग तालमेल गरेर धनुषा ३ आफ्नो पोल्टामा पारेर महतो आफू सुरक्षित हुन चाहिरहेका छन्। तर, एमाले अध्यक्ष ओलीले धनुषा ३ नछाड्ने प्रष्ट संकेत दिइसकेका छन्।

लोसपाका एक नेताका अनुसार धनुषा ३ बारे जिल्लामा छलफल गरेर सहमति जुटाउन भनेका छन्।

‘ओलीजीले जिल्लामै छलफल गरेर धनुषा ३ बारे सहमति जुटाउन भन्नु भएको छ। यो टार्ने कुरामात्रै हो। उहाँले चाहेको भए निर्णय नै गर्नसक्नु हुन्छ। धनुषा ३ बाट एमालेकी जुली महासेठ लड्ने पक्का छ,’ लोसपाका ती नेताले भने।

त्यो क्षेत्रबाट जुली चुनाव लड्ने भएपछि एमालेको भोट महतोले पाउने छैनन्। त्यस क्षेत्रमा लोसपाको संगठन खासै दह्रिलो नभएकाले पार्टीकै भरमा उनको चुनाव जित्ने सम्भावना पनि न्यून छ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ भित्र जनकपुरधाम उपमहानगरपालिका, नगराईन नगरपालिका, धनौजी गाउँपालिका र मुखियापट्टी मुसहरिनया गरी चारवटा स्थानीय तह पर्छ।

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा कांग्रेसका बागी उम्मेदवार मनोज साह जितेका छन्।

त्यस्तै नगराईन नगरपालिका र धनौजी नगरपालिकामा पनि कांग्रेसकै नेतृत्व छ। मुखियापट्टी मुसहरनिया पालिका भने जसपाले जितेको छ।

यसको अर्को आयाम पनि छ। २०७४ सालको स्थानीय तह चुनावमा जनकपुरका मेयर लालकिशोर साहको बलियो सहयोग पाएका थिए, महतोले।

त्यतिबेला राजपामा रहेका लालकिशोर अहिले जसपामा छन्। जसपाले उनको नाम धनुषा ३ बाट सिफारिस नै गरेको छ।
महतोले लालकिशोरको सहयोग पाउने बाटो पनि बन्द भएको छ।

स्थानीय तह चुनावको नतिजाका कारण पनि महतो धनुषा ३ बाट चुनाव लड्न हिच्किएका छन्।

‘बदलिएको राजनीतिक परिस्थितिका कारण उहाँ धनुषाबाट चुनाव लड्ने सम्भावना लगभग न्यून छ,’ लोसपाका ती नेता भन्छन्,‘सम्भवतः सर्लाहीबाटै चुनाव लड्नु हुन्छ होला।’

अघिल्लो चुनावमा आफूलाई सहयोग गरेकी जुली आफैं धनुषा ३ बाट चुनाव लड्ने पक्का हुन थालेपछि महतो सुरक्षित क्षेत्रको खोजीमा छन्।

धनुषामा आफूलाई असुरक्षित महसुस गर्न थालेपछि महतो पुनः गृहजिल्ला सर्लाहीतर्फ नै फर्किन चाहेका छन्।

लोसपाका नेताहरूका अनुसार महतो आफ्नो पुरानो निर्वाचन क्षेत्र सर्लाही २ बाट चुनाव लड्ने बढी सम्भावना देखिएको छ।

सर्लाही क्षेत्र नम्बर २ पुगेर उनले मतदाताहरूको राय पनि बुझेका छन्। ब्रम्हपुरी, पर्सा, हरिपुर्वालगायतका ठाउँमा पुगेका महतोले,‘के गर्ने चुनाव यसै क्षेत्रबाट लड्ने हो भनेर’ मतदाताहरूको राय मागेका थिए।

त्यहाँका मतदाताहरूले पनि महतोलाई सर्लाही २ बाटै चुनाव लड्न सुझाव दिएका छन्। क्षेत्र नेताविहीन भएको भन्दै महतो त्यसै क्षेत्रबाट चुनाव लड्नुपर्ने उनीहरूले भनेका थिए।

जवाफमा महतोले यहाँबाट चुनाव लडे धेरै मिहिनेत गर्नुपर्ने भएकाले त्यसका लागि तयार रहेको भनेर कार्यकर्ताहरूलाई प्रश्न सोधेका थिए।

‘तपाईं सबैको इच्छा यही हो। चुनाव यहीँबाट लड्ने हो?,’ उनले भनेका थिए,‘त्यसो भए काम गर्नुपर्ने हुन्छ। भोट माग्नुपर्छ। चुनाव जित्नुपर्छ। बढीभन्दा बढी भोटले जित्नुपर्छ। तपाईंहरू सबैलाई मन्जुर छ? चुनाव लड्नु छ, यहीँबाट लड्नु छ?’


Leave a Reply

Your email address will not be published.