दसैंका लागि पौने २ खर्बको आयात, गत वर्षभन्दा १३ प्रतिशत कमी

दसैंका लागि पौने २ खर्बको आयात, गत वर्षभन्दा १३ प्रतिशत कमी

काठमाडौं – दसैंको सम्मुखमा भदौ महिनामा १ खर्ब ८३ अर्बको आयात भएको छ। दसैंका कारण भदौ महिनामा आयात बढे पनि गत वर्षको भदौभन्दा कम आयात भएको छ।

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब ३१ अर्बको आयात भएको थियो भने दुई महिनामा कुल आयात ३ खर्ब १४ अर्ब पुगेको छ।

गत वर्षको पहिलो २ महिनामा ३ खर्ब ५४ अर्ब भन्दा बढीको आयात भएको छ। जसअनुसार गत वर्षको तुलनामा १३ प्रतिशतले कम आयात भएको छ।

पहिलो २ महिनाको तथ्यांक हेर्दा सबैभन्दा बढी डिजेल आयात भएको छ। यो अवधिमा डिजल १८ अर्ब ४२ करोड, पेट्रोल १२ अर्ब १८ करोड र ग्यास १० अर्बको आयात भएको छ।

उक्त अवधिमा फलामजन्य वस्तु १३ अर्ब ४५ करोडको आयात भएको छ भने पाम तेल ६ अर्ब ३२ करोड र सोयाबिन तेल ६ अर्ब ४४ लाखको आयात भएको छ।

४ सय ४१ थान विद्युतीय सवारी

चालू आर्थिक वर्षको साउन र भदौमा १ अर्ब १९ करोड बराबरको विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। भन्सार विभागको तथ्यांकअनुसार यो दुई महिनामा विद्युतीय कार, जीप र भ्यान गरी ४ सय ४१ वटा आयात भएका छन्।

भदौ महिनामा भारतबाट मात्रै ३ सय ४ वटा विद्युतीय गाडी आयात भएका छन्। भारतबाट टाटाको विद्युतीय सवारी आयात हुने गरेको छ। कोरियाबाट ६४ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्।

यस्तै यो दुई महिनामा चीनबाट ४० वटा मात्र विद्युतीय सवारी आयात भएका छन्। भन्सार विभागको तथ्यांकअनुसार अमेरिकाबाट पनि यो दुई महिनामा ४ वटा विद्युतीय गाडी आयात भएका छन्।

२ लाख ६२ हजार स्मार्टफोन

भदौ महिनामा २ लाख ६२ हजार ७३६ थान स्मार्टफोन भित्रिएका छन्।

३ अर्ब ६० करोड रुपैयाँ बराबरका स्मार्टफोन ३ सय डलरभन्दा कम मूल्यका हुन्।

३ सय अमेरिकी डलरमाथिका फोनमा सरकारले प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध नलगाएका काराण् गत वर्षको भदौमा ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको ८ लाख ३१ हजार २४७ थान फोन आयात भएको थियो।


Leave a Reply

Your email address will not be published.