शेखर समूहले पार्टी कार्यालयमा धर्ना दिने

शेखर समूहले पार्टी कार्यालयमा धर्ना दिने

काठमाडौं- नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ।

प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फको बन्दसूची बनाउन सभापति शेरबहादुर देउवाले ‘एकलौटी’ गरेको भन्दै शेखर समूहले पार्टी कार्यालयमा धर्ना दिन लागेको हो।

सोमबार ठमेलस्थित यात्री होटलमा बसेको शेखर समूहको बैठकले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो।

बैठकमा सहभागी जगदिश्वरनरसिंह केसीले मंगलबार मध्याह्न १२ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने निर्णय भएको जानकारी दिए।

सभापति देउवाविरूद्ध जारी खबरदारी सभाअन्तर्गत १३ गते दसैं, दीपावली तथा छठ पर्वको अवसरमा पार्टी कार्यालयमा शुभकामना अदानप्रदान कार्यक्रम आयोजना गरिने उनले बताए।

‘मंगलबार १ घण्टा धर्ना बस्ने निर्णय भएको छ। खबरदारी सभाअन्तर्गत नै शुभकामना अदानप्रदान कार्यक्रम गर्ने कुरा पनि भएको छ,’ केसीले भने।

शेखर समूहले समानुपातिकतर्फको बन्दसूचीमा आफूहरूसँग भेदभाव गरिएको भन्दै त्यसलाई सच्याउन माग गरिरहेको छ। आफ्नो समूहबाट सिफारिस भएका नामहरू काटेर सभापति देउवाले बन्दसूचीमा एकलौटी गरेको शेखर समूहको आरोप छ।

शेखर समूहले १४ गतेसम्म बन्दसूचीको नाम सच्याउन संस्थापनलाई समयसीमा दिएको छ। त्यस अवधिसम्म पनि नाम नसच्चाइए सशक्त कार्यक्रम अगाडि बढाउन बाध्य हुने शेखर समूहका नेताहरूले बताएका छन्।

‘अहिले जे जति कार्यक्रमको निर्णय भएको छ त्यो सबै खबरदारीका लागि हो,’ केसीले भने,‘१४ गतेसम्म पनि बन्दसूचीको नाम नसच्याइए विरोधका सशक्त कार्यक्रम ल्याउन बाध्य हुने छौं।’

उनले आफूहरू गुटभन्दा सम्मान र न्यायका लागि संघर्ष गरिरहेको बताए।

केसीले भने,‘यो गुटको विषय नै होइन। शेरबहादुर दाइकै मानिसहरूसँग अन्याय भएको छ। हाम्रो त कुरौ नगरौं। उहाँहरूको सम्मानका लागि पनि हामी संघर्ष गरिरहेका छौं।’

समानुपातिकतर्फ सिफारिस भएर पनि बन्दसूचीमा समावेश नगरिएपछि विरोधमा उत्रिएको शेखर समूह संस्थापनको विरोधमा उत्रिएको छ।

सभापति देउवाले एकलौटी गरेर क्षमता भएका नेताहरूलाई किनारा लगाउन खोजेको आरोप यो समूहको छ।

 


Leave a Reply

Your email address will not be published.