किन लुकिरहेका छन् सन्दीप?

किन लुकिरहेका छन् सन्दीप?

काठमाडौं-एक नाबालिगको बलात्कार गरिएको आरोपमा मुछिएका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले भावुक हुँदै सामाजिक सञ्जालमा लेखेका छन्–मविरूद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रूपमा विक्षिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्नसक्ने अवस्था मेरो रहेन।

आइतबार राति सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै आफू मानसिक तनावमा रहेको बताएका छन्।

‘…एकातिर मानसिक असर ग¥यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिनुपर्‍यो। र, मानसिक तनाव र स्वास्थ्य खराबीका कारण मैले मलाई आइसोलेसमा राखेर बसेको छु,’ सन्दीपले भनेका छन्।

नाबालिगलाई बलात्कार गरेको आरोपमा आफूविरूद्ध दायर भएको किटानी जाहेरी झुटा रहेको आफ्नो दाबीलाई उनले दोहो¥याएका छन्। भनेका छन्,‘झुटा जाहेरीकै भरमा अपराधीको चित्रणले मानसिक र शारीरिक रूपमा प्रभावित भइ असन्तुलित अवस्थामा पुगी डाक्टरहरूलाई सामान्य अवस्थामा ल्याउँदै छु।’

स्वास्थ्यमा क्रमिक सुधार आउँदै गरेको सक्दो चाँडो नेपाल फर्किएर आफूविरूद्धको झुटा उजुरीको डटेर प्रतिवाद गर्ने तरखरमा रहेको सन्दीपले बताएका छन्।

नाबालिगले प्रहरी वृत्त गौशालामा भदौ २१ गते किटानी जाहेरी दिइरहँदा सन्दीप बेस्टइन्डिजको जमैकामा क्यारेबियन क्रिकेट लिग (सिपिएल) खेलिरहेका थिए।

पिङ्गला स्थानस्थित ‘होटल काठमाडौं इन’ मा लगेर सन्दीपले आफूलाई पटक–पटक बलात्कार गरेको आरोप ती नाबालिगले किटानी जाहेरीमा लगाएकी छन्।

किटानी जाहेरीबारे थाहा पाएलगत्तै सन्दीपले नेपाल क्रिकेट एसोसिएसन(क्यान) का पदाधिकारीहरूलाई लिग सकेसँगै आफू नेपाल फर्किने बताएका थिए।

सिपिएल सकिसकेको छ। तर, लिग सकिएसँगै नेपाल फर्किने बताएको २१ दिन बितिसक्दासम्म सन्दीपको अत्तोपत्तो छैन। बरू ‘लुकेर’ सामाजिक सञ्जालमा भावुक पोस्ट गरिरहेका छन्।

‘डाक्टरको सल्लाहमा आफूलाई आइसोलेसनमा राखेको’ बताएका सन्दीपले कुन ठाउँमा छन् खोलाएका छैनन्।

हालसम्म सम्पर्कविहीन रहेका सन्दीपका परिवारका सदस्यले समेत प्रहरीलाई सम्पर्क गरेका छैनन्। नेपाल पुग्नेबित्तिक्कै पक्राउ पर्ने ‘डर’ उनलाई छ।

त्यसैले विदेशबाटै आफ्नो सबै कानुनी व्यवस्थापन गरेर आउने तयारीमा लागेको प्रहरीको अनुमान छ।

नेपाली क्रिकेट टिमबाट निलम्बन भएयता उनले क्यानका पदाधिकारीहरूसँग पनि सम्पर्क गरेका छैनन्।

सन्दीप आफूहरूको औपचारिक सम्पर्कमा नरहेको क्यानले जनाएको छ। प्रहरीले भने उनीमाथिको अनुसन्धानलाई जारी राखेको छ।

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी भरत बोहरा प्रारम्भिक अनुसन्धान भइरहेको र थप कुरा सन्दीप पक्राउ परेपछि अघि बढ्ने बताए।

बोहराका अनुसार प्रहरीलाई सन्दीप अहिले नेपाल बाहिर नै रहेको जानकारी छ।

तर, उनलाई नेपाल फर्काउने प्रक्रियाहरू समय भएपछि अघि बढाइने उनले बताए।

सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंलाई अनुमति दिइसकेको छ। त्यस्तै अध्यागमनले पनि उनलाई ‘कालोसूची’ मा राखेको छ।

पक्राउ पुर्जी जारी भएको ३५ दिनपछि पनि सन्दीप नेपाल नआए प्रहरीले अन्तर्राष्ट्रिय (इन्टरपोल) सहयोग लिनसक्नेछ।

प्रहरी अधिकारीहरू सन्दीपलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिनबारे छलफल भइरहेको बताउँछन्।

सन्दीपले कानुनी सहयोगका लागि क्यानका अधिकारीलाई आग्रह गरेका थिए। त्यतिबेला क्यानका पदाधिकारीसँग उनले फोनमा सम्पर्क गरेर कानुनी साहयता उपलब्ध गराउन भनेका थिए।

तर पछिल्लो समय उनी क्यानको सम्पर्कमा आएका छैनन्।

‘सन्दीप अहिले औपचारिक रूपमा क्यानसँग सम्पर्कमा छैनन्,’ क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल भन्छन्,‘सम्पर्कमै नरहेकाले त्यसबारे खासै छलफल भएको छैन।’

सन्दीपले फेसबुक पेजमा ‘आफूमाथि एकलौटी रूपमा झुटा आरोपसहित जोहरी दिइएको’ गरेका छन्।

नाबालिगका आफन्तले प्रहरी वृत्त गौशालामा दर्ता गराएको किटानी जाहेरीमा भदौ ५ गते राति सन्दीपले दुईपटक बलात्कार गरेको उल्लेख छ।

साँझ नगरकोट घुमाउन लगेर मध्यराति ‘होटल काठमाडौं इन’ मा लगेर सन्दीपले बलात्कार गरेको उजुरीमा भनिएको छ।

प्रहरीले होटलबाट बरामद गरेको सिसिटिभी फुटेजमा सन्दीप र ती नाबालिग सँगै होटल पुगेको देखिएको छ।

सन्दीप ती नाबालिगसँग होटल पुगेको भोलिपल्ट ६ भदौमा टि–२० सिरिज खेल्न केन्या प्रस्थान गरेका थिए।

 


Leave a Reply

Your email address will not be published.