राष्ट्रपति कदमको बचाउ गरिरहेको एमालेसँग किन गठबन्धन गर्न खोजिरहेको छ लोसपा?

राष्ट्रपति कदमको बचाउ गरिरहेको एमालेसँग किन गठबन्धन गर्न खोजिरहेको छ लोसपा?

काठमाडौं- संसदमा नागरिकता विधेयक पेस हुनुअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि पाँचदलीय सत्ता गठबन्धनमा सामेल हुने व्यापक चर्चा चल्यो।

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले लोसपा नेताहरूसँग भएको विभिन्न भेटका बेला गठबन्धनमा आउन आग्रह गरेका थिए।

देउवाको त्यो प्रस्तावमा लोसपाका अधिकांश नेताहरूले लगभग सहमत थिए। यहाँसम्म कि त्यतिबेला लोसपा सरकारमा सामेल हुने कुरा पनि बाहिर आएको थियो।

सरकारमा सामेल हुने चर्चालाई लोसपाका नेताहरूले पनि इन्कार गरेका थिएनन्। नागरिकता नागरिकता विधेयक संसदमा पेस भएपछि सरकारमा जाने बाटो खुलेको लोसपाका नेताहरूले बताएका थिए।

गठबन्धनमा सामेल हुने विषयमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र लोसपाका शीर्ष नेताहरूबीच पटक–पटक छलफल पनि भयो।

सत्तारुढ पाँच दल अनि आफ्नै पार्टीभित्र सिट बाँडफाँटका लागि समस्या झेलिरहेका देउवा अन्ततः लोसपालाई गठबन्धनमा सामेल गर्ने निर्णयबाट पछि हटे। तालमेलबारे लोसपासँग छलफल गर्न समेत छाडिदिए, देउवाले।

कांग्रेसले ‘भाउ’ दिन छाडेपछि लोसपा अहिले आगामी चुनावका लागि नेकपा एमालेसँग तालमेल गर्न चाहिरहेको छ।

एमालेलगायतका दलसँग तालमेलका विषयमा सहमति जुटाउन लोसपाले उमाशंकर अरगरिया संयोजक रहने गरी वार्ता समिति नै बनाएको थियो। तर, वार्ता समितिका संयोजक अरगरिया गएको शनिबार एमाले प्रवेश गरिसकेका छन्।

चुनावी तालमेलका लागि यसबीचमा एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच पटक–पटक छलफलसमेत भएको छ। ठाकुर निरन्तर एमाले अध्यक्ष ओलीसँग संवाद गरिरहेका छन्।

तर, त्यसमा खासै प्रगति हुनसकेको छैन।

दुवै दलका शीर्ष नेताका साथै चुनावी तालमेलका लागि कार्यदलस्तरमा समेत वार्ता भएको थियो। गठबन्धनका लागि एमालेका तर्फबाट विष्णु पौडेल र लोसपाका तर्फबाट सर्वेन्द्रनाथ शुक्लसहितको दुई सदस्यीय कार्यदलले छलफल अगाडि बढाएको थियो।

शुक्ल बिरामी भएर उपचारका लागि अस्पताल भर्ना भएपछि लोसपाले गठबन्धनका लागि सहमति जुटाउन ६ सदस्यीय वार्ता टोली गठन गरेको छ।

वरिष्ठ नेता राजेन्द्र महतो संयोजक रहेको वार्ता समितिमा वरिष्ठ नेता शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल सदस्य छन्।

लोसपाका अनुसार यो वार्ता समितिले अब एमालेलगायत विचार मिल्ने अन्य पार्टीहरूसँग सहकार्यका लागि संवाद गर्नेछ।

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउमा एमाले उत्रिएको बेला लोसपाले गठबन्धनको कुरा अगाडि बढाएको हो।

जबकि विधेयक प्रमाणीकरण नगर्ने भण्डारीको निर्णयलाई ‘असंवैधानिक’ ठहर गर्दै लोसपाले विरोध गरेको थियो।

नागरिकता विधेयकको विरोधदेखि प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको बचाउमा उत्रिएपछि एमालेसँग गठबन्धन नगर्न लोसपाका शीर्ष नेताहरूलाई पार्टीभित्रबाटै दबाब आउन थालेको छ।

लोसपाका कतिपय नेताले आगामी निर्वाचनमा एमालेसँग गठबन्धन गरे त्यो ‘आत्मघाती’ निर्णय हुने टिप्पणी गरेका छन्।

एमालेसँग गठबन्धनका लागि कुराकानी भइरहे पनि निष्कर्षमै पुग्न त्यति सहज नरहेको लोसपा मधेस प्रदेसका सचिव रामविनोद चौधरी बताउँछन्।

उनले नागरिकता विधेयकमा एमालेले राखेको ‘स्ट्यान्ड’ का कारण गठबन्धन नगर्न कार्यकर्ताहरूको चर्को दबाब रहेको बताए।

‘राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेपछि हामी आन्दोलनमा छौं। दुई दिनदेखि सडकमा टायर बालिरहेका छौं। एमाले राष्ट्रपतिको पक्षमा बोलिरहेको छ,’ चौधरी भन्छन्,‘एमालेसँग हाम्रो एजेन्डा नै मिल्दैन। एमालेसँग गठबन्धन नै नहोला, शीर्ष नेताका लागि कुनै विशेष क्षेत्रमा तालमेल चाहिँ हुनसक्छ।’

लोसपाकै अरू नेताहरू पनि एमालेसँग तालमेल गर्न नहुने पक्षमा देखिएका छन्।

लोसपाका कार्यकारिणी सदस्य सुरेन्द्रकुमार झा नागरिकता विधेयक विरोधी, संघीयता र समावेशितालाई अस्वीकार गर्ने एवं मधेसी राष्ट्रियतालाई अस्वीकार गर्नेहरूसँग कुनै प्रकारको चुनावी सहकार्य, तालमेल र गठबन्धन गर्न नहुने बताएका छन्।

‘ठूला भनिने पार्टीहरू खासमा नेपाली कांग्रेस, एमाले र माओवादीहरूको विपक्षमा संघर्ष गरेरै मधेस केन्द्रित पार्टीहरू स्थापित भएको यथार्थ हो,’ सामाजिक सञ्जालमा झाले लेखेका छन्,‘हाम्रो लागि सत्ताधारी गठबन्धन या एमाले जो सुकैसँग चुनावी सहकार्य, तालमेल र गठबन्धन भएमा मधेसी दलहरूको आधारभूत मूल्य मान्यता सकिने निश्चित छ।’

२०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमसँग चुनाव लडेको लोसपा(तत्कालीन राजपा) पछिल्लो समय मधेसमा एक्लिएको छ। प्रतिनिधिसभा विघटनका बेला तत्कालीन प्रधानमन्त्री ओलीलाई साथ दिएपछि जसपासँग लगभग उसको ‘सम्बन्धविच्छेद’ भइसकेको छ।

त्यसैले आगामी चुनावमा मधेस प्रदेसमा आफ्नो उपस्थिति कायम राख्न लोसपा एमालेसँग सहकार्य गर्न खोजिरहेको छ।

मधेस प्रदेसबाट प्रतिनिधित्व गर्ने एमालेका एक केन्द्रीय सदस्य भने आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने पार्टीको निर्णय रहेको बताए।

‘चुनावमा एक्लै लड्ने एमालेले निर्णय गरिसकेको छ। गठबन्धन गर्ने कुनै निर्णय छैन,’ ती केन्द्रीय सदस्य भन्छन्,‘ठाउँ विशेषमा तालमेल हुनसक्छ। गठबन्धन नै हुँदैन।’

आगामी निर्वाचनमा सबैभन्दा अप्ठ्यारोमा परेका छन् लोसपाका वरिष्ठ नेता महतो र नेता अनिल झा।

अघिल्लो निर्वाचनमा महतो धनुषा ३ बाट निर्वाचित भएका थिए। त्यतिबेला उनले एमाले अध्यक्ष ओलीको ‘अदृष्य’ सहयोग पाए।

ओलीका विश्वासपात्र एमाले सचिव रघुवीर महासेठ र उनकी श्रीमती जुली महतोले संगठनको सबै भोट महतोतिर डाइभर्ट गर्न लगाएका थिए।

तर, यसपटक त्यो क्षेत्रबाट जुली आफैं चुनाव लड्ने तयारीमा छन्। चुनावी अभियानसमेत सुरू गरिसकेकी उनले टिकट पाउने लगभग पक्का छ।

जुली आफैं त्यो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेपछि महतो ‘बिलखबन्द’ मा परेका छन्।

महतो अब धनुषा छाडेर गृहजिल्ला सर्लाहीको क्षेत्र नम्बर २ बाट चुनाव लड्ने मनस्थितिमा रहेको बताइएको छ। यद्यपि उनले औपचारिक घोषणा भने गरिसकेका छैनन्।

अर्का नेता झालाई पनि त्यस्तै समस्या देखिएको छ।

अघिल्लोपटक झा जितेको रौतहट क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनका तर्फबाट नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल चुनाव लड्ने तयारीमा छन्।

सत्ता गठबन्धन एकै ठाउँमा उभिएर चुनाव लड्दा त्यहाँबाट जित्न झालाई कठिन देखिएको छ। एमालेसँग गठबन्धन हुँदा चुनावमा जित निकाल्न उनलाई सहज हुने देखिन्छ।

शीर्ष नेताहरू नै जोखिममा पर्नसक्ने संकेत देखिएपछि पछिल्लो समय लोसपा आगामी चुनावका लागि एमालेसँग गठबन्धन गर्नुपर्नेमा जोड दिन थालेको छ।

‘एजेन्डा नै नमिल्ने पार्टीसँग तालमेल गरे चुनावमा क्षति बेहोर्नु निश्चित छ,’ लोसपाका एक नेता भन्छन्,‘केही शीर्ष नेताहरू आफू सुरक्षित हुन कार्यकर्ताको भावनाविपरित एमालेसँग तालमेलका लागि जोड दिइ रहनुभएको छ।’


Leave a Reply

Your email address will not be published.