देउवाको चेपुवामा शेखर!

देउवाको चेपुवामा शेखर!

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ‘एकलौटी’ गरेर अगाडि बढिरहेको निष्कर्ष निकाल्दै नेता शेखर कोइराला समूह आन्दोलनमा उत्रिएको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची तयार पार्दा संस्थापन पक्षले ‘मनोमानी’ गरेको निष्कर्ष निकालेको शेखर समूह आन्दोलनमा उत्रिएको हो।

आइतबार ठमेलस्थित एक होटलमा बसेको शेखर पक्षका दोस्रो तहका नेताहरूको भेलाले संस्थापन पक्षले समानुपातिकतर्फको बन्दसूचीमा एकलौटी गरेको निष्कर्ष निकाल्दै धर्नामा बस्ने निर्णय गर्‍यो।

भेलाको त्यही निर्णयअनुसार शेखर समूह मंगलबार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म केन्द्रीय पार्टी कार्यालय सानेपामा धर्ना बस्दैछ।

त्यस्तै १३ असोजमा शेखर समूहले पार्टी कार्यालय सानेपामा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ।

परम्पराअनुसार कोजाग्रात पूर्णीमाको भोलिपल्ट कांग्रेसले दसैं, दीपावली र छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने गरेको छ।

तर, शेखर समूहले त्यसअगाडि नै यो कार्यक्रम राखेको छ।

शुभकामना आदानप्रदान कार्यक्रम भए पनि त्यो पनि संस्थापनलाई खबरदारीअन्तर्गत नै हुने शेखर समूहले बताएको छ।

समानुपातिकतर्फ निर्वाचन आयोगमा पार्टीको तर्फबाट पेस भएको बन्दसूचीले शेखर समूहलाई झस्काइ दिएको छ।

४० प्रतिशत सिटमा दाबेदारी गरिरहेको यो समूहका तर्फबाट ११० मध्ये १३ जनामात्रै समानुपातिकतर्फको बन्दसूचीमा परेका छन्। यो झन्डै ११ प्रतिशत हुन्छ।

तल्लो समितिबाट सिफारिस भएर आएका नामहरू संस्थापन पक्षले एकलौटी गरेर काटेको आरोप शेखर पक्षको छ। समानुपातिकमा नाम काटिएपछि प्रत्यक्षतर्फ यस्तै हुने डर यो समूहलाई छ।

त्यसैले सभापति देउवामाथि दबाब दिन शेखर समूह आन्दोलनमै उत्रिएको छ।

यो समूहले बन्दसूची सच्याउन संस्थापनलाई १४ गतेको समय दिएको छ। १४ गतेभित्र बन्दसूची नसच्याइए ‘विद्रोह’ मा उत्रिने शेखर समूहले चेतावनी दिएको छ।

‘विद्रोह’ को चेतावनी दिए पनि त्यो ‘विद्रोह’ को स्वरूप कस्तो हुने शेखर समूहले प्रष्ट पारेको छैन। यद्यपि मानुपातिकतर्फको बन्द सूचीमा आफूहरूसँग भएको ‘भेदभाव’ को असर निर्वाचनमा पर्नसक्ने चेतावनी यो समूहले दिइरहेको छ।

शेखर समूहले दिएको चेतावनीको प्रष्ट संकेत छ– बन्दसूची नसच्याइए प्रत्यक्षतर्फका उम्मेदवारलाई चुनावमा असहयोग वा आफ्नो समूहबाट छुट्टै उम्मेदवारी।

हुनत १६ असारमा बत्तीसपुतलीको फुडल्यान्डमा बसेको शेखर समूहको भेलाले सभापति देउवा एकलौटी गरिरहेको निष्कर्ष निकालेको थियो। त्यो सन्दर्भ भने भातृसंस्थाको नियुक्तिसँग जोडिएको थियो।

‘पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिवद्धता पूरा नगरेको’ शेखर पक्षको ठहर थियो।

र, त्यही बेला संस्थापनविरूद्ध ‘कन्स्ट्रक्टिभ रिभोल्ट’ गर्ने चेतावनी यो समूहले दिएको थियो।

शेखर समूहका नेता जगदिश्वरनरसिंह केसी संस्थापन पक्षले समानुपातिकतर्फ एकलौटी गरेको आरोप लगाउँछन्।

‘समानुपातिकतर्फ सभापतिज्यूले एकलौटी गर्नुभयो। हाम्रो समूहका साथीहरूको नाम काट्ने काम भयो,’ केसीले भने,‘सभापतिले एकलौटी गर्नुभयो, पार्टीभित्र मनपरितन्त्र हावी भयो।’

कांग्रेसभित्र सुरूदेखि संस्थापन र इतर पक्षबीच ६० / ४० को भागबन्डा हुँदै आएको छ। पार्टीको केन्द्रीय समिति, भातृसंस्था, चुनावका लागि टिकटवितरणलगायतका विषयमा भागबन्डा हुँदा संस्थापनले ६० प्रतिशत पाउँदा इतर पक्षले ४० प्रतिशत पाउने गरेको छ।

अहिले शेखर समूह त्यसै अनुसार समानुपातिक र प्रत्यक्षतर्फको सिट भागबन्डा हुनुपर्ने माग गरिरहेको छ।

शेखर समूहले दिइरहेको दबाबबाट देउवा कति हदसम्म गल्लान् त्यो त हेर्न बाँकी छ। तर, अघिल्ला घटनाक्रमहरूलाई हेर्ने हो भने त्यसको सम्भावना भने न्यून देखिन्छ।

सभापतिमा आफूसँग पराजित भएका शेखरको वरियतालाई तल झारेर देउवाले महाधिवेशन प्रक्रियामा भागै नलिएका रामचन्द्र पौडेललाई वरिष्ठ नेताको वरियतामा राखे।

महाधिवेशनमा पराजित भएका आफूनिकटलाई केन्द्रीय सदस्यमा मनोनयन गर्दा उनले इतर समूहका प्रमुख नेतालाई किनारा लगाए। त्यसैको चेपुवामा परेका छन् इतर समूहका मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायतका प्रमुख नेताहरू।

पछिल्ला घटनाक्रमले मोरङबाट प्रत्यक्षतर्फ सिफारिस भएका मिनेन्द्रले टिकट पाउने कम सम्भावना देखिरहेका छन्, इतर समूह। मोरङको एकै क्षेत्रबाट मिनेन्द्र र सुजाता कोइरालाको नाम सिफारिस भएको छ।

समानुपातिकमा सिफारिस भएकाहरूको नाम काटिएपछि मिनेन्द्रको टिकट पनि काटिनसकिने आशंका शेखर समूहको छ।

१४ औं महाधिवेशनपछि सभापतिमा दोहोरिएका देउवासँग केन्द्रीय समितिमा लगभग दुई तिहाइ बहुमत छ। तत्कालीन संसदको दोस्रो दल हुँदा पनि सरकारको नेतृत्व गर्ने अवसर देउवाले पाएका छन्।

देउवा पार्टीभित्रको बहुमतको बलमा आफूहरूलाई पेलेर हिँड्न खोजेको बुझाइ इतर पक्षको छ।

सभापति देउवाले आफूनिकटबाहेकका पार्टी नेताप्रति गरिरहेको व्यवहारका कारण शेखर पक्ष असन्तुष्ट देखिएको छ।

‘जसरी उहाँले व्यवहार गरिरहनुभएको त्यसप्रति हाम्रो गुनासो छ,’ इतर समूहका एक नेताले भने,‘दुईपटक सभापति र पाँचपटक प्रधानमन्त्री भइसक्नुभयो। पार्टीको आन्तरिक जीवनमा हारजित स्वभाविक प्रक्रिया हो। तर, उहाँले सहमति सहकार्य गरेर हिँड्न चाहनुभएको छैन।’

सभापतिमा पराजित भए पनि ४०–४१ प्रतिशत मत शेखरले पाउँदासमेत देउवा उनलाई ‘इग्नोर’ गरेर अगाडि बढिरहेको बुझाइ यो समूहको छ। भातृसंस्थाको नेतृत्व मनोनित गर्दासमेत कुनै सरसल्लाह नगरी देउवाले आफ्नै ढंगबाट निर्णय गरेको आरोप शेखर पक्षको छ।

‘४०–४१ प्रतिशत मतको भागिदार शेखरजी पनि हुनुहुन्छ, सभापतिमा पराजित भएकासँग सहकार्य गर्ने परम्परा कांग्रेसमा रहेको छ,’ ती नेताले भने,‘सभापतिज्यूले त्यो परम्परा पनि तोड्नुभयो। सहमति र सहकार्यका लागि तयार नभए पार्टीभित्र दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुनेछौं।’

 

 

 

 


Leave a Reply

Your email address will not be published.