गठबन्धन कार्यदलको बैठक बस्दै, बाँडफाँटको टुंगो लगाउने दाबी

गठबन्धन कार्यदलको बैठक बस्दै, बाँडफाँटको टुंगो लगाउने दाबी

काठमाडौं- आगामी निर्वाचनको सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक बस्दैछ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बस्ने गरी बैठक बोलाइएको हो।

बैठकले सिट बाँडफाँटको टुंगो लगाउने कार्यदलका सदस्यहरूले दाबी गरेका छन्।

प्रतिनिधिसभातर्फ मोटामोटी सहमति नजिक पुगिसकेको कार्यदलको छलफल पछिल्लो समय प्रदेसभाको सिट बाँडफाँडतर्फ केन्द्रित भएको छ।

यसअघि मंगलबार बसेको कार्यदलको बैठकले प्रदेससभातर्फको सिट बाँडफाँटका लागि मापदण्ड तोकेर प्रस्ताव तयार गरेको थियो।

सिट बाँडफाँटका लागि प्रस्ताव तयार पारिएको र त्यो प्रस्ताव शीर्ष नेताहरूलाई बुझाइने कार्यदलका सदस्य तथा जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए।

‘सिट मापदण्डको आधार तोक्दै कार्यदलले एउटा प्रस्ताव तयार पारेको छ,’ सुमनले भने,‘त्यो प्रस्ताव शीर्ष नेताहरूलाई बुझाउँदै छौं। आ–आफ्नो दलभित्र छलफल गरेर उहाँहरूले अन्तिम रूप दिनुहुनेछ।’

प्रतिनिधिसभातर्फको सिट बाँडफाँटका लागि सत्ता गठबन्धन लगभग सहमति नजिक पुगिसकेको छ।

प्रदेससभातर्फ सिट बाँडफाँटतर्फ छलफल केन्द्रित गरेको सत्ता गठबन्धन प्याकेजमै सहमति गर्ने तयारीमा रहेको बताइएको छ।

‘प्रतिनिधिसभातर्फ मोटोमोटी सहमति जुटिसकेको छ, केही ठाउँ बाँकी छन्। शीर्ष नेताहरूले टुंगो लगाउने कुरा छ,’ कार्यदलका एक सदस्यले भने,‘प्रदेससभातर्फ सहमति जुटेसँगै कुन दलले कहाँ पायो सार्वजनिक भइहाल्छ।’

उनले दिनभित्रै सहमति भएका विषय वक्तव्य जारी गरेर एक दुई दिनभित्रै सार्वजनिक गरिने दाबी गरे।

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि असोज २३ गतेको समय तोकेको छ। त्यसअघि सिट बाँडफाँटका लागि सहमति जुटाउन सत्ता गठबन्धनलाई दबाब छ।

 


Leave a Reply

Your email address will not be published.