धनुषा ३ मा यस्तो छ सम्भावित चुनावी भीडन्त

धनुषा ३ मा यस्तो छ सम्भावित चुनावी भीडन्त

काठमाडौं- प्रतिनिधिसभा निर्वाचन हुने मंसिर ४ घर्किँदै जाँदा राजनीतिक दलहरू रणनीति बनाउन र भोटको जोडघटाउमा जुटेका छन्।

२०७४ सालको प्रतिनिधिसभा र वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई हेरेर चुनावी समीकरण तयार गर्ने अभ्यासमा दल तथा सम्भावित उम्मेदवारहरू जुटेका हुन्।

पार्टीका तर्फबाट टिकट पक्का नहुँदै चुनाव लड्ने आकांक्षा राखेका उम्मेदवारहरू चुनावी अभियानमा जुटिसकेका छन्। उनीहरू घरघर पुगेर मतदाताहरूलाई भेटिरहेका छन्।

सम्भावित उम्मेदवारहरूको यो क्रम मधेस प्रदेसको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा समेत सुरू भइसकेको छ। धनुषा ३ हरेकपटकको चुनावमा चासोको विषय बन्ने गरेको छ।

त्यो क्षेत्रबाट नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि चुनाव लड्दै आएका छन्। २०५१ सालमा भएको मध्यावधि र २०६४ तथा २०७० मा भएको संविधानसभा निर्वाचनमा त्यस क्षेत्रबाट निधि निर्वाचित भएका थिए।

२०५६ मा भएको आमनिर्वाचनमा पूण्यप्रताप मल्ल र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा राजेन्द्र महतोबाट उनी पराजित भए।

निधि यसपटक भने समानुपातिक रोजेका छन्। कांग्रेसले उनको नाम समानुपातिकतर्फको बन्दसूचीमा पहिलो नम्बरमा सूचीकृत गरेर निर्वाचन आयोगमा पेस गरेको छ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा निधि प्रत्यक्षतर्फ नलड्ने भएपछि त्यस क्षेत्रबाट कांग्रेसले परमेश्वर महासेठ र गणेश तिबारीको नाम सिफारिस गरेको छ।

यद्यपि धनुषा ३ बाट कांग्रेसको उम्मेदवार को हुने तय भइसकेको छैन। गठबन्धनमा सिट बाँडफाँटको अन्तिम टुंगो नलागिसकेकोले कांग्रेसले प्रत्यक्षतर्फको उम्मेदवारबारे निर्णय गरेको छैन।

तर, गठबन्धनमा भएको प्रारम्भिक सहमतिअनुसार धनुषाका ४ निर्वाचन क्षेत्रमध्ये दुई कांग्रेसले पाउने भएको छ।

गठबन्धनको अर्को घटक दल माओवादी केन्द्रले धनुषा क्षेत्र नम्बर १ पाउने लगभग निश्चित छ। अघिल्लो निर्वाचनमा त्यस क्षेत्रबाट माओवादीका मातृकाप्रसाद यादव निर्वाचित भएका थिए। यसपटक पनि त्यो क्षेत्रबाट यादव नै चुनाव लड्ने लगभग पक्का छ।

जसपा र नेकपा(एकीकृत समाजवादी) ले १–१ सिटमा दाबी गरेको छ।

गठबन्धनमा भएको समझदारीअनुसार कांग्रेसले धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ र ४ पाउने बलियो सम्भावना देखिएको छ।

धनुषा ४ बाट कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव चुनाव लड्ने तयारीमा छन्।

यस्तो छ सम्भावित भीडन्त

२०७४ सालको निर्वाचनमा धनुषा ३ बाट तत्कालीन राजपाबाट राजेन्द्र महतो निर्वाचित भएका थिए। त्यतिबेला राजपा र संघीय समाजवादी फोरमबीच तालमेल भएको थियो।

त्यस्तै एमाले र माओवादी केन्द्र पनि गठबन्धन गरेर चुनाव लडेको थियो। वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका रामसिंह यादवले २ हजार ३४६ मतमा चित्त बुझाउनुपरेको थियो।

सिंहले आफ्नो संगठनको भोट त पाए तर एमालेको भोट पाएनन्। एमालेको भोट पाएर महतो जितेका थिए।

त्यो चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘अदृष्य’ रूपले महतोलाई सघाएका थिए। ओलीको त्यही ‘अदृष्य’ पाएका महतो प्रतिनिधिसभासम्म पुगे।

त्यो चुनावमा एमालेको भोट महतोलाई हाल्नका लागि ओलीका विश्वासपात्र रघुवीर महासेठ र जुली महतोले ‘उर्दी’ नै जारी गरेका थिए।

यसपटक भने धनुषा ३ को परिदृष्य फेरिएको छ। एमालेका सचिव रघुवीरपत्नी जुली आफैं चुनाव लड्ने तयारी गरिरहेकी छन्।

केही दिनअघि पार्टी प्रवेश कार्यक्रमका लागि ओली जनकपुर पुगेका बेला धनुषा ३ बाट जुली चुनाव लड्ने सार्वजनिक रूपमै भनेका थिए।

आगामी निर्वाचनमा एमालेसँग तालमेल गर्न लोसपा प्रयासरत छ। एमालेसँग तालमेल गरेर धनुषा ३ आफ्नो पोल्टामा पारेर सुरक्षित हुन चाहिरेका छन्, महतो।

एमाले अध्यक्ष ओलीले भने त्यो क्षेत्र नछाड्ने प्रष्ट संकेत दिइसकेका छन्।

त्यो क्षेत्रबाट जुली चुनाव लड्ने भएपछि एमालेको भोट महतोले पाउने छैनन्। र, त्यस क्षेत्रमा लोसपाको संगठन खासै दह्रिलो नभएकाले पार्टीकै भरमा चुनाव जित्न उनलाई सकस पर्ने देखिएको छ।

त्यसैले महतो आफू सुरक्षित हुनसक्ने वैकल्पिक क्षेत्रको खोजीमा छन्। त्यसका लागि उनले आफ्नो गृहजिल्ला सर्लाही क्षेत्र नम्बर २ मा पछिल्लो समय सम्पर्क बढाउन थालेका छन्।

महतो सर्लाहीतर्फ जाँदा धनुषा ३ मा फेरि एकपटक पुराना प्रतिस्पर्धी कांग्रेस र एमालेबीच नै भीडन्त हुने बलियो सम्भावना देखिन्छ। महतो धनुषा ३ लाई नै रोजे त्यहाँ त्रिपक्षीय भीडन्त हुनेछ।

कसको कति मत?

धनुषा क्षेत्र नम्बर ३ मा जनकपुरधाम उपमहानगरपालिकाको २५ मध्ये १६ वडाका साथै नगराईन नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरिनया गाउँपालिका र विदेह नगरपालिकाको एउटा वडा समावेश छ।

त्यस क्षेत्रभित्र जनकपुरधाम उपमहानगरपालिकाको १–८, १०–१२, १५, १६, २०, २३, २४ र २५ नम्बर वडा पर्छ।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतलाई विश्लेषण गर्ने हो भने धनुषा ३ मा सबैभन्दा बढी कांग्रेसको मत देखिन्छ।

निर्वाचन क्षेत्रभित्र पर्ने उपमहानगरपालिकाको सबै १६ वडामा कांग्रेसका वडाध्यक्षहरूले पाएको मत १० हजार ४६६ छ।

कांग्रेसपछि उपमहानगरपालिकाको वडामा सबैभन्दा बढी मत एमालेले पाएको छ। एमालेको ६ हजार ५५२ मत छ। त्यस्तै लोसपाको ५ हजार १८४ र जसपाको २ हजार ६३२ मत छ।

त्यस्तै नगराइन नगरपालिकामा पनि कांग्रेसकै वडाध्यक्षहरूले बढी मत ल्याएका छन्।

त्यो नगरपालिकामा कांग्रेसले ६ हजार ८९६, एमालेले ५ हजार १४९, लोसपाले १ हजार ५४३ र जसपाले १ हजार ५४३ मत पाएका छन्।

धनौजी गाउँपालिकामा कांग्रेसले २ हजार ८१६, एमालेलले १ हजार ५७९, लोसपाले १ हजार ५९० र जसपाले ८६० मत पाएका छन्।

धनुषा ३ मा पर्ने विदेह नगरपालिकाको एकमात्र वडा नम्बर ९ मा कांग्रेसको २८१, एमालेको ६९१, लोसपाको ३३, जसपाको ५ र नेकपा(एकीकृत समाजवादी) को ५४४ मत छ।

धनुषा क्षेत्र नम्बर ३ का पालिकाहरूको वडामा वडाध्यक्षका उम्मेदवारहरूले पाएको कूल मत हेर्दा कांग्रेसको सबैभन्दा बढी मत २३ हजार ३४९ छ।

त्यसपछि एमालेको १६ हजार १८९, लोसपाको ८ हजार ४९० र जसपाको ८ हजार २४३ मत छ। त्यस क्षेत्रमा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारहरूले ३ हजार २८३ मत पाउँदा माओवादी केन्द्रका वडाध्यक्षहरूले ६५६ मात्रै पाएका छन्।

वडाध्यक्षहरूले पाएको मतका आधारमा धनुषा ३ मा पाँचदलीय गठबन्धनका उम्मेदवारको पल्ला भारी हुने लगभग निश्चित छ।

 


Leave a Reply

Your email address will not be published.