शेखरलाई ‘हिस्सा’ दिन देउवा तयार

शेखरलाई ‘हिस्सा’ दिन देउवा तयार

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समानुपातिक उम्मेदवारको सूचीमा शेखर कोइराला पक्षलाई ‘हिस्सा’ दिन तयार भएका छन्।

समानुपातिकतर्फको बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै ‘विद्रोह’ मा उत्रिने चेतावनी दिएपछि देउवा नेता शेखर समूहलाई ‘सम्मानजनक हिस्सा’ दिन तयार भएका हुन्।

मंगलबार साँझ र बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारीको बैठकमा सभापति देउवाले सबै पक्ष समेटिने गरी समानुपातिक सूची सच्याउन तयार रहेको बताएका छन्।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले समानुपातिक उम्मेदवारको सूची पेस गर्ने सन्दर्भमा भएको कमजोरी सच्याउन पार्टी सभापतिबाट प्रतिबद्धता व्यक्त भएको बताए।

असन्तुष्टि राख्ने नेताहरूसँग पनि छलफल गर्न आफू तयार रहको देउवाले बताएको पाण्डेले जानकारी दिए।

समानुपातिकको बन्दसूची पेस गर्दा सभापति देउवाले भेदभाव गरेको तथा आफूहरूलाई पेलेको भन्दै शेखर समूहले आन्दोलनको कार्यक्रम नै सार्वजनिक गरेको थियो।

सभापति देउवाले समानुपातिकको बन्दसूची तयार पार्दा एकलौटी गरेर पार्टीभित्र मनपरीतन्त्र चलाएको शेखर समूहका नेताहरूले आरोप लगाएका थिए।

१४ असोजसम्म बन्दसूची नसच्चिए उनीहरूले पार्टीभित्र विद्रोह गर्दै देशभर स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिएका थिए।

समानुपातिकका साथै प्रत्यक्षतर्फको सिट भागबन्डामा आफूहरूले ४० प्रतिशत पाउनुपर्ने माग शेखर पक्षले राखेको थियो। अहिले निर्वाचन आयोगमा कांग्रेसले पेस गरेको बन्दसूचीमा लगभग १२ प्रतिशत शेखर समूहका नेताहरू समेटिएका छन्।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बन्दसूचीमा त्रुटि भएको स्वीकार गरे पनि पक्ष विपक्ष नभएको दाबी गरेका छन्।

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर उनले बन्दसूची तयार पार्दा भेदभाव भएको कुरा सत्य नभएको दाबी गरेका थिए।

निर्वाचन आयोगले बन्दसूची सच्याउन दलहरूलाई असोज १६ गतेसम्मको समय दिएको छ।

 

 


Leave a Reply

Your email address will not be published.