एप्पलले सुरू गर्‍यो भारतमा आइफोन १४ को उत्पादन, के अब सस्तो होला?

एप्पलले सुरू गर्‍यो भारतमा आइफोन १४ को उत्पादन, के अब सस्तो होला?

काठमाडौं- प्रविधि कम्पनी एप्पले भारतमा आइफोन १४ बनाउन सुरू भएको जनाएको छ। उसले चीनबाट आफ्नो आपूर्तिको सञ्जाल बाहिर लैजान खोजिरहेको छ।

एप्पलले आफ्ना अधिकांश फोन चीनमा उत्पादन गर्छ। तर, अमेरिका र बेइजिङबीच तनाव बढेकाले एप्पल कम्पनीले केही उत्पादन चीनबाहिर गर्न थालेको छ।

चीनमा लागु गरिएको ‘शून्य कोभिड’ नीतिका कारण व्यापक लकडाउन हुँदा महामारीका बेला व्यापार नराम्ररी प्रभावित भएको थियो।

एप्पलले केही साताअघि आइफोनको नयाँ संस्करण बजारमा ल्याएको हो।

‘नयाँ आइफोन १४ मा नवीनतम प्रविधिहरू र महत्वपूर्ण सुरक्षा क्षमता छन्। हामी भारतमा आइफोन १४ उत्पादन गर्न उत्साहित छौं,’ एप्पलले विज्ञप्तिमा भनेको छ।

ताइवानमा आधारित फक्सकन कम्पनीले एप्पलका अधिकांश फोनहरू निर्माण गर्दै आएको छ। यो कम्पनीले दक्षिण भारतको तमिलनाडुमा सन् २०१७ देखि आइफोनका पुराना संस्करणका ह्यान्डसेट बनाउँदै आएको थियो।

तर, अब एप्पलले आफ्नो नयाँ उत्पादन आइफोन १४ भारतमै बनाउन खाजेको छ।

के आइफोन अब सस्तो हुन्छ?

भारतमा आउँदा एप्पलले आफ्नो बजार बढाउने उद्देश्य पनि राखेको छ। गत वर्षसम्म भारतको बजारमा आइफोनको हिस्सा ४ प्रतिशतमात्रै थियो।

यो अमेरिकी कम्पनीले सस्तो स्मार्टफोनसँग प्रतिस्पर्धा गर्नुपरेको छ। भारतको मोबाइल बजारमा चीन र दक्षिण कोरियामा उत्पादित सस्तो फोनहरू निकै लोकप्रिय छन्।

भारतमा उत्पादन गरिए पनि आइफोनको मूल्यमा कुनै अन्तर भने पर्ने छैन।

आइफोनका अवयवहरू आयात गर्न लाग्ने चर्को शुल्क र अन्य करका कारण आइफोनको मूल्य नघट्ने देखिन्छ।

प्रयोगकर्ताहरूले आइफोनमा अब ‘अब मेड इन इन्डिया’ लेखिएको देखे पनि आइफोन किन्न ठूलो रकम तिर्नुपर्नेछ।

भारतलाई कस्तो फाइदा?

भारतमा आइफोन उत्पादन बढ्ने घोषणालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको उपलब्धिको रूपमा लिइएको छ।

८ वर्षअघि मोदी सरकारले ‘मेक इन इन्डिया’ अभियान सुरू गरेको थियो। त्यसअन्तर्गत भारतमा हुने उत्पादन र भारतबाट हुने निर्यात बढाउने उद्देश्य राखिएको थियो।

ताइवान र व्यापारको विषयमा अमेरिका र चीनबीच तनाव बढ्दै गर्दा चीनबाट हुने आपूर्ति प्रभावित हुनसक्ने आकलनसहित एप्पलले आफ्नो कारखाना अन्यत्र सार्न यो घोषणा गरेको हो।

लगानी बैंक जेपी मोर्गनका विश्लेषकहरूले आइफोनले आफ्नो पाँच प्रतिशत उत्पादन यो वर्ष भारतमा सार्ने अपेक्षा गरिएको बताएका छन्।

यो महिना प्रकाशित एउटा प्रतिवेदनमा उनीहरूले सन् २०२५ सम्मा आइफोनको २५ प्रतिशत उत्पादन भारतमा हुने पूर्वानुमान गरेका छन्।

गत वर्ष एप्पलको आपूर्तिकर्ता फक्सनले भियतनाममा १.५ अर्ब डलर लगानी गरेको भियतनाम सरकारले जनाएको छ।

गत मिहना भियतनामको सरकारी सञ्चारमाध्यमले जनाएअनुसार एप्पल कम्पनीले देशको उत्तरी भेगमा अवस्थित आफ्नो कारखान विस्तार गरेर उत्पादन बढाउन २० करोड डलरको एउटा सहमतिमा हस्ताक्षर गरेको थियो।

नयाँ आइफोनमा के छ?

एप्पलले आफ्नो नयाँ फोन दुईवटा आकारमा ल्याएको छ। ती आइफोन १४ र आइफोन १४ प्लस हुन्।

आइफोन १४ मा भू–उपग्रहसँगको सम्पर्क सञ्जाल र कार दुर्घटना भएका पत्ता लगाउनसक्ने प्रविधि जडान गरिएको छ।

नयाँ हेडसेटमार्फत भू–उपग्रहको माध्यमबाट आपतकालीन सहयोगको माग गर्दै कल गर्न सकिन्छ।

फोनले आकाशमाथि रहेको भू–उग्रहको अवस्था देखाउँछ र कसरी ठीक ढंगले तीसँग सम्पर्क स्थापित गर्ने पनि निर्धारण गर्छ।

एउटा साधारण सन्देश पठाउन १५ सेकेन्डदेखि केही मिनेटसम्म लाग्नसक्छ।

नयाँ आइफोनमा १२ मेगापिक्सलको क्यामेरा पनि छन्। त्यसले दु्रत गतिमा हिँडिरहेको वस्तुहरूको तस्बिर पनि खिच्नसक्छ।

एप्पल कम्पनीले कम प्रकाशमा तस्बिर खिच्ने क्षमता ४९ प्रतिशतले वृद्धि भएको दाबी गरेको छ।

अगाडिको क्यामेरामा पहिलोपटक अटोफोकस राखिएको छ, त्यसले अझ राम्रो सेल्फी खिच्नसक्छ।

डायानामिक आइल्यान्ड भनिने एउटा फिचरले कस्तो नोटिफिकेसन आउँछ त्यसअनुसार आफ्नो आकार बदल्न सक्ने भनिएको छ।

नचलाएको बेला फोनको स्क्रीन मधुरो हुन्छ र एप्लिकेसनहरू रिफ्रेस हुने दर घट्छ। फोनको सेट गाढा बैजनी, कालो, चाँदीजस्तो र सुनौलो रङ्गमा पाइन्छ।

 


Leave a Reply

Your email address will not be published.