महाष्टमीमा यस्तो देखियो जनकपुर (तस्बिरहरू)

महाष्टमीमा यस्तो देखियो जनकपुर (तस्बिरहरू)

जनकपुरधाम- बडादसैंको आठौं दिन महाष्टमीमा देशभरका शक्तिपीठमा श्रद्धालुहरूको भीड लागेको छ।

महाष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेको छ।

यस अवसरमा जनकपुरधामको राजदेवी मन्दिरसहित दुर्गा पूजा हुने विभिन्न ठाउँमा बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य भीड देखिएको छ।

राजा जनकको कुलदेवतासमेत रहेकी भनिएको राजदेवीमाताको पूजाअर्चना र प्रसाद चढाउन आइतबार मध्यरातिदेखि नै श्रद्धालुहरू लाम्बद्ध भएर बसेका थिए।

मध्यरातिदेखि सुरू भएको प्रसाद चढाउने क्रम सोमबार दिउँसोसम्म चलेको त्यहाँ पूजा आयोजना गर्दै आइरहेको महावीर युवा कमिटीले जनाएको छ।

महाष्टमीका दिन राजदेवी मन्दिरमा प्रसाद चढाउन भारतका विभिन्न स्थानबाट समेत श्रद्धालु आउने गरेका छन्।

महावीर युवा कमिटीले जनाएअनुसार राजदेवी मन्दिरमामात्रै ५० हजारभन्दा बढीले प्रसाद चढाएर पूजाअर्चना गरेका छन्।

महाष्टमीका दिन राजदेवी मन्दिरम प्रसाद चढाउन २ करोड मूल्य बराबरको ५ टनभन्दा बढी लड्डु बिक्रि भएको अनुमान गरिएको छ।

त्यस्तै महाष्टमीका दिन ब्रतालु महिलाहरू राजदेवी मन्दिरसहित दुर्गा पूजा हुने ठाउँमा ‘खोइँच’ भर्ने गरेका छन्।

फलफूल, मिठाइ, बस्त्रलगायतका सामग्रीसहित ब्रतालु महिलाहरू पूजा हुने स्थान पुगेर महाष्टमीका दिन ‘खोइँच’ भर्ने गरेका छन्।

राजदेवी मन्दिरसहित अन्य पूजास्थलमा यसका लागि उल्लेख्य संख्यामा महिलाहरूको भीड देखिएको थियो।

राति बोकाबली

राजदेवी मन्दिरमा वर्षको एक दिन महाष्टमीको राति बोकाबली हुने गरेको छ।

सोमबार रातिदेखि सुरू हुने बोकाबलीका लागि साँझैदेखि श्रद्धालुहरू लाइन लागेर बसेका हुन्छन्।

भाकल गरेकाहरूका साथै अन्य व्यक्तिले पनि महाष्टमीमा राजदेवी मन्दिरमा बोकाबली दिने गरेका छन्।

राजदेवी मन्दिरमा हरेक वर्ष १४ देखि १५ हजारको हाराहारीम बोकाबली हुने गरेको छ।

तस्बिरः बुद्धेश्वर रजक

 


Leave a Reply

Your email address will not be published.