कांग्रेसको निर्णय : पार्टी र गठबन्धनका उम्मेदवारलाई जिताउन पार्टीपंक्ति दृढताका साथ परिचालित हुने

कांग्रेसको निर्णय : पार्टी र गठबन्धनका उम्मेदवारलाई जिताउन पार्टीपंक्ति दृढताका साथ परिचालित हुने

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनको प्रत्यक्षतर्फका लागि नेपाली कांग्रेसले उम्मेदवारको मापदन्ड तय गरेको छ।

समानुपातिकतर्फका उम्मेदवारहरूको टुंगो लगाइसकेको कांग्रेसले प्रत्यक्षतर्फका उम्मेदवारको मापदन्ड निर्धारण गरेको हो।

सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवारहरूको मापदन्ड निर्धारण गरेको हो।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कुनै पनि पदमा उम्मेद्वार भएका व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फको उम्मेद्वार हुन नपाउने मापदन्ड कांग्रेसले बनाएको छ।

त्यस्तै पार्टीको विभिन्न तहबाट भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमतालगायतलाई उम्मेद्वार हुने मापदन्ड बनाइमे कांग्रेसले जनाएको छ।

पार्टीको अनुशासनको कारबाहीमा परेकाहरूलाई पनि आगामी निर्वाचनमा पार्टी तथा गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन सक्रिय भूमिका खेल्न कांग्रेसले अपिल गरेको छ।

‘स्थानीय तह निर्वाचनमा अनुशासन उल्लंघन गरेका र कारबाहीको प्रक्रियामा रहेका, कुनै पनि कारण निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंसिर ४ गते हुने निर्वाचनमा पूर्वत सक्रिय भएर पार्टीको विजय अभियानमा सहभागी हुन यो बैठक अपिल गर्छ। आगामी निर्वाचनमा पार्टी तथा गठबन्धनको उम्मेदवारलाई विजय गराउन व्यक्तिले निभाउने भूमिकाको आधारमा त्यस्ता सदस्यरु उपरको कारबाही प्रक्रियालाई तदनुकूल गर्ने गरी टुंगो गर्ने निर्णय यो बैठकले गर्दछ,’ कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आगामी निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन पार्टीपंक्ति सम्पूर्ण रुपले एकतावद्ध र अनुशासनका साथ दृढ भएर परिचालन हुने निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठकले गरेको छ।


Leave a Reply

Your email address will not be published.