मधेस लोकसेवा आयोग : १२ जना बढीको नतिजा कसरी आयो?

मधेस लोकसेवा आयोग : १२ जना बढीको नतिजा कसरी आयो?

काठमाडौं- मधेस प्रदेसको लोकसेवा आयोगले अधिकृत सातौं तहमा पदपूर्ति गर्न केही दिनअघि विज्ञापन निकाल्यो।

निवेदन दिने म्याद सकिएसँगै आयोगले २०७९ भदौ १८ गते परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि परीक्षा केन्द्र सार्वजनिक गर्‍यो।

२ हजार ५६७ सम्म रोल नम्बर भएका परीक्षार्थी सामेल हुनसक्ने गरी आयोगले परीक्षा केन्द्र सार्वजनिक गरेको थियो।

१८ भदौमा भएको लिखित परीक्षाको नतिजा आयोगले १३ असोजमा सार्वजनिक ग¥यो। त्यो नतिजामा २ हजार ५७९ सम्म रोल नम्बर समावेश गरिएको थियो।

अर्थात आयोगले सुरूमा सार्वजनिक गरेको परीक्षार्थीको संख्या नतिजा सार्वजनिक हुँदा १२ जना बढी परीक्षार्थी थपिएका थिए। थपिएका सबै लिखित परीक्षामा उतीर्णसमेत भए।

सार्वजनिक भएको भन्दा १२ जना बढीलाई समावेश गरेर नतिजा सार्वजनिक भएपछि मधेस प्रदेसको लोकसेवा आयोगको विश्वसनीयतामाथि कतिपयले प्रश्न उठाएका छन्।

मधेस प्रदेस लोकसेवा आयोगका प्रवक्ता गंगेश गुञ्जन झा परीक्षाको अन्तिम समयमा केही परीक्षार्थी थपिएकाले सुरूमा प्रकाशित भएकाभन्दा १२ जना बढीको नतिजा आएको बताए।

‘परीक्षाको अन्तिम समयमा केही परीक्षार्थीले आवेदनको प्रक्रिया पूरा गरी परीक्षामा सहभागी गराउन आग्रह गरे। परीक्षाका लागि फेरि एक वर्ष कुर्नुपर्ने उनीहरूले दुखेसो गरे। त्यसपछि थप १२ जनालाई आयोगले सहभागी गरायो,’ झा भन्छन्,‘केन्द्रीय लोकसेवा आयोगमा पनि यस्तो व्यवस्था छ। यो त्रुटि होइन।’

उनले यो त्रुटि नभएर स्वाभाविक रहेको दाबी गरे।

उनकाअनुसार अधिकृत सातौं तहको विज्ञापनमा कुल २ हजार ६१८ जनाले आवेदन दिएका थिए। जसमध्ये ३८ जनाको दरखास्त फारम प्रक्रिया नमिलेका कारण अस्वीकृत भयो।

त्यसैले सुरूमा २ हजार ५८० जना परीक्षार्थीका लागि मात्रै परीक्षा केन्द्र सार्वजनिक भएको उनको भनाइ छ।

पछि प्रक्रिया पूरा गरेर आवेदन दिएकाहरूको आग्रहअनुसार केही परीक्षार्थी थपिएकाले १२ जना बढीको नतिजा आएको देखिएको उनले बताए।


Leave a Reply

Your email address will not be published.