मनोनयन दर्ताको पाँच दिन बाँकी : पाँच दल भने अझ छलफलमै

मनोनयन दर्ताको पाँच दिन बाँकी : पाँच दल भने अझ छलफलमै

काठमाडौं- केही अन्यथा नभए अबको ४७ औं दिनमा आगामी पाँच वर्षका लागि प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनका लागि यतिबेला मतदान भइरहेको हुनेछ।

आगामी मंसिर ४ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा आफ्ना प्रतिनिधि चयन गर्न मतदाताहरू मतदान गरिरहेका हुनेछन्।

मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ता हुन अब मात्र ५ दिन बाँकी छ। निर्वाचन आयोगले ‘पहिलो हुने निर्वाचित हुने’ अर्थात प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्न २३ असोजको समय तोकेको छ।

प्रतिनिधिसभा र प्रदेससभातर्फ प्रतिस्पर्धा गर्ने आकांक्षी उम्मेदवारहरूले आ–आफ्नो निर्वाचन क्षेत्रको निर्वाचन अधिकृत कार्यालयमा त्यो दिन मनोनयन दर्ता गर्नुपर्ने हुन्छ।

मनोनयन दर्ताको समय घर्किइरहे पनि पाँचदलीय सत्ता गठबन्धनले सिटको बाँडफाँटमा सहमति जुटाउन सकिरहेको छैन।

२३ असोजअघि सिटको भागबन्डा टुंग्याउने दबाबमा रहेका गठबन्धनका घटक दलहरू आ–आफ्ना पार्टीभित्र टिकट वितरणका लागि छलफलसमेत सुरू गर्न सकिरहेका छैनन्।

सोमबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवारको मापदण्ड तयार पारे पनि टिकट कसले पाउने र यसका लागि कहिलेदेखि छलफल सुरू गर्ने टुंगोमा पुग्न सकेको छैन।

गठबन्धनका अरू घटक दलहरूको अवस्था पनि लगभग उस्तै छ।

२० साउनमा बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनझैं प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा पनि तालमेल गर्ने निर्णय गरेको थियो। त्यही बैठकले सिटको भागबण्डा टुंग्याउन ११ सदस्यीय कार्यदल बनायो।

त्यतिबेला कार्यदललाई सिटको बाँडफाँट टुंग्याउन साउन मसान्तसम्मको समयसीमा दिइएको थियो।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदल गठन भएको बिहीबार दुई महिना पुग्दैछ। तर, यो कार्यदल सिट भागबण्डाको टुंगो लगाउन सकेको छैन।

यसबीचमा कार्यदलका साथै गठबन्धनका शीर्ष नेताहरू पनि भागबण्डालाई सहमतिको विन्दुसम्म पु¥याउन पटक–पटक छलफलमा जुटे। दर्जनौंपटक बैठक बसे।

तर, ती सबै छलफल र बैठकका निष्कर्षहरू हालसम्म शून्यप्रायः छ।

केहीअघि गठबन्धनका घटक दलहरू सिट बाँडफाँटका लागि सहमति नजिक पुगिसकेको प्रतिक्रिया आवद्ध नेताहरूकै तर्फबाट आएको थियो।

प्रतिनिधिसभाको बाँडफाँट टुंग्याएर छलफल अब प्रदेससभातर्फ प्रवेश गरेको उनीहरूले बताएका थिए। कार्यदलले केहीअघि प्रदेससभातर्फ सिट बाँडफाँटका लागि प्रस्तावसमेत शीर्ष नेताहरूलाई बुझाए।

तर, स्थिति ज्यूँकात्यूँ रहेको नेताहरूले बताउन थालेका छन्।

पार्टी प्रवेश कार्यक्रमका लागि केही दिनअघि जनकपुर पुगेका जसपा अध्यक्ष उपेन्द्र यादवले सिटको भागबण्डा टुंगिएको भनेर गलत प्रचार गरिएको बताए।

सत्ता गठबन्धनभित्र भागबण्डा टुंग्याउन बाँकी रहेको उनको भनाइ थियो।

त्यसको दुई–तीन दिनपछि बसेको जसपाको कार्यकारिणी समिति बैठकले गठबन्धनबाट बाहिरिने संकेत गर्दै अरू दलसँग पनि तालमेल गर्न सक्ने विकल्प खुला राख्ने निर्णय ग¥यो।

जसपाको त्यो निर्णयले प्रष्ट छ– गठबन्धनभित्र सिट बाँटफाँट मिलिसकेको छैन। वा आफूले गरिरहेको दाबीअनुसार गठबन्धनभित्र उसले सिट पाउने सम्भावना देखिरहेको छैन।

जसपाको त्यो निर्णयलाई कतिपयले पाँचदलीय गठबन्धनभित्र सिट ‘बार्गेनिङ’ को रणनीतिका रूपमा समेत अथ्र्याएका छन्।

दलहरू आ–आफ्नै अडानबाट पछि नहट्दा सत्ता गठबन्धनमा सिटको बाँडफाँट लम्बिएको मात्रै होइन। आफ्नो भागमा नपर्ने हो कि भनेर आकांक्षी उम्मेदवारले चुनावको तयारीसमेत गर्न सकिरहेका छैनन्।

आमनागरिक दर्सैको रमझममा रहेका बेला गठबन्धनका शीर्ष नेता र आकांक्षी उम्मेदवारहरू सिट भागबन्डाको झमेलामा रूमलिएका छन्।

मनोनयन दर्ताको समय नजिकिँदै गएको र आ–आफ्नो पार्टीभित्र उम्मेदवार निश्चित गर्नुपर्ने दबाब झेलिरहेका गठबन्धनका शीर्ष नेताहरू सहमति जुटाउन फेरि एकपटक कस्सिएका छन्।

सिट बाँडफाँटका लागि रस्साकस्सी चलिरहेका बेला सोमबार गठबन्धनका शीर्ष नेताहरू सहमति जुटाउन भन्दै बैठकका लागि बसे। तर, त्यो बैठक पनि निष्कर्षविहीन रह्यो।

त्यसपछि आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर मंगलबार फेरि छलफलमा जुट्ने निष्कर्षमा उनीहरू पुगे। मंगलबार पनि गठबन्धनको बैठक बस्दैछ।

र, यो बैठकले अन्तिम टुंगो लगाउने नेताहरूले बताएका छन्।

अहिलेसम्म भएका छलफलहरूपछि अरू घटक दलले सार्वजनिक रूपमै असन्तुष्टि नपोखे पनि जसपा भने सिट बाँडफाँटप्रति त्यति धेरै सन्तुष्ट देखिएको छैन।

यसअघि प्रतिनिधिसभातर्फ ३२ सिटमा दाबी गरिरहेको उसले मधेस प्रदेसमा कम्तिमा १५ सिट पाउनुपर्ने अडान राखेको छ।

जसपाको त्यो अडानप्रति नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सकारात्मक देखिएको छैन।

मधेस प्रदेसका ८ जिल्लागरी कुल ३२ सिट छन्। त्यसमध्ये लगभग आधामा जसपाले दाबी गर्न थालेपछि गठबन्धनका अरू घटक दल त्यसका लागि तयार देखिएका छैनन्।

 

 


Leave a Reply

Your email address will not be published.