जेलेन्स्की र मस्कबीच ट्विटर युद्ध

जेलेन्स्की र मस्कबीच ट्विटर युद्ध

काठमाडौं- टेस्लाका मालिक इलोन मस्कले रूसी आक्रमण अन्त्यका लागि आफ्नो सुझावसहितको ट्विटर पोल पोस्ट गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यसको जवाफ दिएका छन्।

मस्कले आफ्ना १० करोड ७७ लाख फलोहरहरूलाई ट्विटर पोलमार्फत आफ्नो विचारअनुसार मत जाहेर गर्न आग्रह गरेका थिए।

त्यसमा उनले डोन्बास र क्राइमियाका मानिसहरूलाई कुन देश रोज्ने भन्ने निर्णय गर्न दिन ठीक कि बेठीक भन्ने मत सर्वेक्षणमा भाग लिन आफ्ना फलोअरहरूलाई भनेका छन्।

त्यसको जवाफमा जेलेन्स्कीले पनि त्यस्तै ट्विटर पोस्ट गरेका छन्।

त्यसमा उनले युक्रेनलाई समर्थन गर्ने वा रूसलाई समर्थन गर्ने कुन चाहिँ संसारकै धनी व्यक्ति तपाईंलाई मनपर्छ? भनेर सोधेका छन्।

अन्य युक्रेनीहरूले पनि मस्कको आलोचना गरेका छन्।

जर्मनीका लागि युक्रेनका निर्वतमान राजदूत एन्ड्रिज मेल्निकले कडा शब्दमा त्यसको जवाफ दिएका छन्। त्यसलाई उनी आफैंले ‘अति कूटनीतिक जवाफ’ भनेका छन्।

मस्कको विचारमा रूसले कब्जा गरेको युक्रेनका केही भागहरूमा मतदानद्वारा समस्या समाधान गर्न सकिन्छ।

उनले यदि जनताको इच्छा रूसले कब्जा नगरोस् भन्ने हो भने रूसले त्यो क्षेत्र छाड्ने बताएका छन्।

किएभ र उसका पश्चिमी सहयोगीले कथित जनमत संग्रहलाई ‘छद्म’ भन्दै निन्दा गरे पनि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चारवटा युक्रेनी भूभागलाई रूसको हिस्सा भएको घोषणा गरिसकेका छन्।

यद्यपि ती चारवटै क्षेत्रमा रूसको पूर्ण नियन्त्रण कायम छैन।

मस्कले सन् २०१४ मा रूसले आफ्नो देशमा गाभेको क्राइमियालाई रूसको हिस्साको रूपमा विश्वले औपचारिक रूपमा मान्यता दिनुपर्ने सुझाव पनि दिएका छन्।

मस्कको पोस्ट भएको दश घण्टाभित्र २० लाखभन्दा बढी मत प्राप्त भएका छन्।

त्यसको जवाफमा जेलेन्स्कीले पोस्ट गरेको ट्विटर पोलमा ८ घण्टामा १५ लाखभन्दा बढी मत प्राप्त भएको छ।

यसअघि रूसले आक्रमण गरेपछि मस्कको स्याटेलाइट इन्टरनेट कम्पनीले युक्रेनमा उपकरण पठाएको थियो।

त्यसबाट युक्रेनमा मस्कले लोकप्रियता हासिल गरेका थिए। र, उनलाई जेलेन्स्कीले रूससँगको युद्ध समाप्त भएपछि आफ्नो देश भ्रमण गर्न निम्ता पनि दिएका थिए।

 


Leave a Reply

Your email address will not be published.