दसैंमा यस्तो छ मदिरा व्यापार

दसैंमा यस्तो छ मदिरा व्यापार

काठमाडौं- नेपालका अधिकांशले मनाउने बडादसैंको रौनक उत्कर्षमा छ।

मनोरञ्जन र धर्म तथा शक्तिको पर्व दसैंमा मानिसहरूले ठूलो धन राशी खर्च गर्ने गर्छन्। मानिसहरूले यो बेलामा लत्ता कपडा, खानपान, मासु, घुमफिरमा निकै खर्च गर्छन्। दसैंमा धेरै पैसा नै खर्च हुने हुँदा बजार अत्यधिक चलायमान रहने गर्छ।

दसैंमा अत्यधिक खपत हुने वस्तु नेपाली मदिरा पनि हो। मदिराको बजारलाई बिकृति भनिए पनि दसैंमा भने रमाइलो भन्दै मदिराजन्य पेयपदार्थको व्यापार अत्यधिक हुने गर्छ।

मदिरा प्रेमीहरु पुराना ब्राण्डेड ह्वस्की तथा वाइनहरु स्वादअनुसार पिउँछन्। मदिरालाई सम्भ्रान्त वर्गले ‘स्टाटस मेन्टेन’ गर्ने वस्तुका रुपमा समेत लिने गरेको पाइन्छ।

यीमध्ये ब्ल्याक लेबल, चिवास, रेड लेबल, ब्यालेण्डाइन्डलगायतका रक्सीहरु बजारमा बढी माग हुने गरेको व्यवसायीहरु बताउँछन्।

नेपाली बजारमा बढी चल्ने मदिराजन्य पेय पदार्थमा भोड्का, ह्विस्की, वाइन, जिन, रम, बियर पनि अत्यधिक चलनचल्तीमा छन्।
जसमध्ये दशैंमा सबैभन्दाबढी बियरको व्यापार बढ्ने गरेको व्यापारीहरू बताउँछन्।

यसैगरी भोड्काको माग पनि दसैंमा राम्रो हुने व्यवसायीहरूको भनाइ छ।

नेपालका उत्पादित महँगा रक्सी पनि दसैं तिहारमा अत्यधिक बिक्री हुने गरेको बताइन्छ। यसबाहेक नेपालीहरूको गच्छेअनुसार स्वदेशमै उत्पादन हुने घरेलु मदिराको पनि दसैंमा व्यापार राम्रो हुने गरेको छ।

दसैंको समयमामात्रै नेपाली बजारमा स्वदेशी र विदेशी गरी १० अर्ब भन्दा बढीको मदिरा कारोबार हुने गरेको व्यापारी तथा उत्पादकहरू बताउँछन्।

मदिरा उपहारको चलन बढ्दो

पछिल्ला वर्षहरूमा दसैं तिहारमा मदिरा उपहार दिने चलन पनि निकै बढेको छ। दसैंमा अन्य कुरा छोडेर महँगो रक्सी उपहार दिने प्रचलन बढेसँगै उपहारको रक्सीमा समेत एक अर्बभन्दा बढी खर्च हुने गरेको आपूर्तिकर्ताहरू बताउँछन्।

उपहारमा प्रायः विदेशी र आयातित मदिराहरू बढी जाने गरेको छ। मदिरा उपहार दिनेहरूले साथीभाइहरूलाई दिने गर्छन् भने वित्तीय क्षेत्रले आफ्ना ग्राहकहरुलाई खुशी पार्न समेत मदिरा उपहार दिने चलन बढेको छ।

मदिरा अर्थतन्त्र

मदिराको अर्थतन्त्रमा ठूलो हिस्सा रहन्छ। नेपालमामात्रै होइन संसारका अधिकांश देशमा मदिराले त्यहाँको आन्तरिक अर्थतन्त्रमा ठूलो योगदान दिएको हुन्छ।

यो वर्षको दसैंलाई लक्षित गरेर ३२ करोड २६ लाख ४१ हजार रूपैयाँभन्दा बढी मूल्यको तयारी मदिरा विदेशबाट आयात भएको छ।

चालू आर्थिक वर्षको दुइ महिनामा यति मदिरा आयात भएको हो।

यो मदिरामध्ये साउनमा निकै कम मात्रै खपत भएको बाँकी दसैंका लागि स्टक रहेको व्यवसायीहरू बताउँछन्। यसबाहेक नेपाली बजारमै ठूलो मात्रामा मदिरा उत्पादन तथा खपत हुने गरेको छ।

नेपालमा वर्षेनी २ खर्बको मदिराजन्य पेय पदार्थ कारोबार गर्ने गरेको व्यवसायीहरु बताउँछन्। मदिरा उद्योगले करिब २० प्रतिशत राजस्वको हिस्सा ओगटेको छ।

राजस्वको ठूलो हिस्सा ओगटेको नेपाली मदिरा उद्योगले झण्डै चार लाख मानिसलाई प्रत्यक्ष रोजगारी दिइरहेको व्यवसायीहरू बताउँछन्।
नेपालमा हाल १ सय भन्दा बढी ठूला मदिरा उद्योग सञ्चालनमा छन्।

कूल खपत हुने मदिराको ७५ प्रतिशत हिस्सा ओगटेको नेपाल मदिरा व्यवसायी महासंघले जनाएको छ।

व्यसायीहरूकाअनुसार नेपालको उत्पादित मदिराले मात्रै वार्षिक ४५ अर्ब भन्दा बढी राजस्व तिर्ने गरेको छ भने अयातित मदिराले झण्डै १० अर्ब बराबर राजस्व तिर्ने गरेको छ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८ / ०७९ मा नेपालले विभिन्न देशबाट ४ अर्ब ७ करोड ४८ लाख ३३ हजार मूल्य बराबरको मदिरा आयात गरेको थियो। त्यसबापत सरकारले सवा एक अर्बभन्दा बढी राजश्व संकलन गरेको थियो।

अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ वर्षभरिमा विभिन्न देशबाट ६ अर्ब १५ करोड ६३ लाख ३८ हजार ३१ लिटर तयारी मदिरा आयात भएको थियो।

मदिराको भन्सार मूल्य २ अर्ब ६५ करोड ७ लाख १० हजार ७१ रुपैयाँ थियो भने ३ अर्ब ८८ करोड १५ लाख ७४ हजार १६ रुपैयाँ राजश्व भएको थियो।

पछिल्ला वर्षहरूमा विदेशबाट तयारी मदिरा आयात गर्ने क्रम बढे पनि कोरोना महामारीको समयमा भने नेपालमा आयातित मदिराको खपत घटेको तथ्यांकले देखाउँछ।

यस्तै अघिल्लो आर्थिक वर्ष २०७६ / ०७७ मा ८ अर्ब ७२ लाख ७२ हजार ३ लिटर तयारी मदिरा आयात भएको थियो।

त्यसको भन्सार मूल्य ३ अर्ब ३ करोड ३४ लाख ७४ हजार रुपैयाँ थियो भने ४ अर्ब ४० करोड ९३ लाख २५ हजार राजश्व संकलन भएको थियो।

नेपाली बजारमा मदिरा उत्पादन बढेपछि तयारी मदिराको आयात केही घटेको व्यवसायी कृष्ण नेपाल बताउँछन्।

नेपालमा स्कटल्याण्ड, अमेरिका, अष्ट्रेलिया, फ्रान्स, स्पेन, बुल्गेरिया, पोर्चुगल, चिली, साउथ अफ्रिका, भारत, चीनलगायत देशबाट रक्सी आयात हुने गरेको उनले बताए।

उनकाअनुसार आयातित मदिराबाहेक नेपाली मदिरा बजार वार्षिक २ खर्बभन्दा बढीको रहेको छ ।

 


Leave a Reply

Your email address will not be published.