एनआरएनएका दुई दशक : फैलिएको संस्था, खुम्चिएको मनोविज्ञान

एनआरएनएका दुई दशक : फैलिएको संस्था, खुम्चिएको मनोविज्ञान

२०४६ को जनआन्दोलनपछि देशमा प्रजातन्त्र पुर्नस्थापना भयो। यसले समाजमा खुलापन ल्यायो। विगतमा जस्तो विदेश जान कडाइ गर्ने नियम हट्यो। जसका कारण वैदेशिक रोजगारीमा संसारका विभिन्न मुलुकतिर जाने लहर सिर्जना भयो।

यसअघि ब्रिटिस सेनामा भर्ती हुन र अध्ययनमा मात्रै विदेश जान्थे नेपाली। सरकारले ल्याएको खुकुलोपनले नेपाली युवालाई संसारको कुना–कुनासम्म पुर्‍यायो।

यसरी नेपाली युवा संसारका विभिन्न मुलुकसम्म पुगे। अध्ययनका लागि विदेश हानिएका विद्यार्थीहरुले पनि उतै भविष्य खोज्न थाले।

अध्ययनका लागि सोभियत संघको सहयोगमा रसिया पुगेका डा. उपेन्द्र महतो, जीवा लामिछाने पनि पढाइ सकेर त्यतै व्यवसायमा जम्दै थिए। विदेशमा नेपालीको संख्या दिनप्रतिदिन बढ्दै थियो।

त्यहिबेला भारतीय मुलुका विदेशी नागरिकहरूको संस्था एनआरआइ जन्मिसकेको थियो। भारतको विकास र समृद्धिमा योगदान पुर्‍याउने हेतुले यो संस्था स्थापना गरिएको थियो। यसलाई भारत सरकारले पनि प्राथामिकता दिएको थियो।

एनआरआइको गतिविधिलाई नजिकबाट देखिरहेका डा. महतो, लामिछानेलगायतका व्यक्तिहरुको मनमा पनि संसारभरि छरिएर रहेका नेपालीलाई किन संगठित नगर्ने? सोच पलायो।

विश्वभरका नेपालीलाई एउटै छातामुनि गोलवद्घ गर्ने योजना उनीहरुको थियो। विदेशमा रहेका नेपालीलाई एकजुट गरेर त्यसबाट प्राप्त हुने शक्तिलाई नेपालमा कल्याणकारी कामदेखि विकासका लागि लगानी गर्ने आधार तयार गर्ने उद्धेश्यसहित उनीहरुले गृहकार्य सुरु गरे। एक–अर्का देशमा रहेका नेपालीसँग सम्पर्क बढाउन थाले।

यही अभियानले भारतीय मुलुका विदेशी नागरिकको संस्था जस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) जन्मियो। डा. महतोको नेतृत्वमा एनआरएनएको पहिलो जग बस्यो। त्यो दिन हो सन् २००३ अक्टोबर ११।

संस्थापक महासचिव थिए भिम उदास। उनी त्यत्तिबेला युएनमा कार्यरत थिए।

सुरुमा तीन-चार जना मिलेर संस्था स्थापना गरिएको थियो। पछि अरु–अरु देशबाट पनि जोडिदै गए।

एनआरएनएलाई संसारभर छरिएर रहेका नेपालीको साझा संस्थाका रुपमा चिनिन्छ। यो संस्थाले अहिले विश्वका ८४ देशमा आफ्ना शाखा जन्माइसकेको छ। यीबाहेक नेपालीको उपस्थिति रहेका अन्य राष्ट्रमा समेत प्रत्यक्ष वा अप्रत्यक्ष ढंगले संघको सक्रियता देखिन्छ। उसको नारा मार्मिक छ– एक पटकको नेपाली, सधैंको नेपाली।

अहिले त्यही एनआरएनए १९ वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ।

संघले हरेक वर्ष ११ अक्टोबरलाई गैरआवासीय नेपाली दिवस ‘एनआरएनए डे’ का रुपमा मनाउँदै आएको छ।

२० औं वार्षिकोत्सवको अवसरमा पनि यसपटक काठमाडौंमा विविध कार्यक्रम गरिदैँछ। प्रधानमन्त्री देउवालाई प्रमुख अतिथिका रुपमा बोलाइएको छ।

संघमा दुई वर्षे कार्यकाल हुन्छ। स्थापनाको सुरुवाती ३ कार्यकाल डा. महतोले नेतृत्व गरे। सन् २००३ देखि २००९ सम्म। तीनै कार्यकाल महतो सहमतिमा अध्यक्ष बनेका थिए। तर, अहिले भने २ कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाउने प्रावधान राखिएको छ।

२००९ मा पनि सहमतिमै जापानका देवमान हिराचन संघको नेतृत्वमा पुगे। महतो र हिराचन दुवैले एनआरएनएलाई संगठित र फैलाउने काम गरे।

२०११ मा जीवा लामिछाने अध्यक्ष बने। उनी पनि सहमतिमै अध्यक्ष बनेका थिए। २०१३ मा अष्ट्रेलियामा अरबपति बनेर जमेका व्यवसायी शेष घलेको काँधमा एनआरएनएको नेतृत्व प¥यो। घलेलाई अध्यक्ष बनाउन लामिछानेकै भरपुर सहयोग थियो।

एनआरएनएको नेतृत्वमा आइसकेपछि अर्बपति घलेले नेपाली समाजसेवामा थुप्रै लगानी गरे। सामाजिक क्रियाकलापमा व्यापक रकम खर्चिएका घलेको संसारभर वाहवाही चुलियो। उनलाई दोस्रो पटक एनआरएनएको अध्यक्ष बनाउनुपर्छ भन्नेहरूको जमात बढ्यो।

तर, २०१५ मा सहमतिमै अध्यक्ष चुन्ने प्रयास असफल भयो। संस्थाको आकार बढीरहेको थियो, नेतृत्वका आंकाक्षी पनि बढ्दै थिए। नेतृत्वका चयनका लागि चुनाव गर्नुपर्ने भयो। घलेको विरुद्धमा कतारबाट टीबी कार्की चुनावी मैदानमा उत्रिए। चुनावी नतिजा घलेकै पक्षमा आयो, घले पुन: अध्यक्ष बने। यसरी घलेले ४ वर्षसम्म एनआरएनएको कमाण्ड सम्हाले।

एनआरएनएमा ४ वर्षसम्म नेतृत्व गरेका उनलाई अझै नेतृत्व गर्ने मन लाग्यो। तर, विधानत: उनी अध्यक्ष बन्न नपाउने भए। उनले आफ्नो उत्ताधिकारी श्रीमती जमुना घलेलाई बनाउन खोजे।

चुनावमा श्रीमतीलाई उठाए। तर, एनआरएनए अभियानमा योगदान नै नभएकी उनकी श्रीमतीलाई गैरआवासीय नेपालीले पत्याएनन्। सन् २०१७ को निर्वाचनमा जापानका व्यवसायी भवन भट्ट अध्यक्षमा भारी मतसहित विजयी भए।

त्यत्तिबेला घलेको मनमा ‘इगो’ पलाउन सुरु भयो। २०१९ मा कुमार पन्त अध्यक्ष बने। पन्तको कार्यकाल पनि विवादै विवादमामै वित्यो।

२०१९ को निर्वाचनमा यहाँभित्र विकृती र विसंगति निकै भित्रियो। नेपालका राजनीतिक दलले आफ्नो स्वार्थका लागि यो संस्थालाई प्रयोग गर्न थाले। हायत होटलमा लफडा नै मच्चियो।

पन्तसँग पराजित कुल आचार्य टिमले असुन्तुष्टि जनाउँदै लगातार विरोध जनाइरहे।

२०१९ पछि एनआरएनएभित्र पनि नेपालका राजनीतिक पार्टीमा जस्तै गुट-उपगुटहरू जन्मिन थालिसकेका थिए।

१० औं महाधिवेशनसम्म आइपुग्दा राजनीतिले यो संस्था नराम्रोसँग गिजोलियो। नेतृत्व हत्याउने दाउमा तीन समूह गुट नै बनाएर उत्रिए। ती समूहलाई नेपालको सरकारदेखि लिएर राजनीतिक पार्टीले मलजल गरे। विवाद बढ्यो, निर्वाचन नै विथोलियो। अनि पुग्यो फुटकै संघारमा। यसमा पार्टीका नेता मात्र नभएर एनआरएनएभित्रकै व्यापारिक नेताको स्वार्थ पनि उत्तिकै थियो।

नभन्दै एनआरएनए जन्माएका घले नै मूल घर छोडेर निस्किए। आफ्नै नेतृत्वमा फेरि अर्को एनआरएनए जन्माए। आफ्ना वरिपरिका केही मान्छेलाई समूहमा राखेर त्यसैलाई आधिकारिक एनआरएनएका रूपमा प्रचार गर्न थाले।

यता ‘मूल’मा जसोतसो बसिरहेका नेताहरुले पनि पदको दाबी छोड्न सकेनन्। केही कतै एक इन्च पनि दाँयाबाँया गर्न चाहेनन्। अन्तत: मुद्दा राजनीतिक दलसम्मै पुग्यो।

एनआरएनएका नेताहरूलाई बसाएर दलका नेताहरूले नै समाधानको बाटो खोलिदिए- बहुपदीय प्रणाली।

एनआरएनएको बीसवर्षे इतिहासमै यो अनौठो प्रकारको ‘सहमति’ थियो र कारण थियो नेतृत्वको ‘हठ’। विधान नै संशोधन गरेर एनआरएनएमा पहिलोपल्ट ३ जना अध्यक्ष भए त्यो पनि एकैपटक। एक वर्षे कार्यकालका लागि।

खासमा पदको लुछाचुँडी एनआरएनएको परिकल्पनामै थिएन। यो त विशुद्ध संसारभरि छरिएका नेपालीलाई एउटै छातामुनि ल्याउन र मातृभूमिका लागि सामूहिक दायित्व निर्वाह गर्नका लागि नै जन्मिएको थियो।

तर २० वर्षे तन्नेरी हुँदै गर्दा एनआरएनएको यात्राभरि पाइलाहरू लर्खराइरहेका छन्। स्वार्थ, राजनीति र आस्था अनि महत्वाकांक्षा आफ्नो ठाउँमा छ, आशा गरौं तन्नेरी जोवन छुँदै गर्दा लर्खराइरहेका एनआरएनएका पाइलाहरू अब गन्तव्यका लागि दरिला बनेर अघि बढ्नेछन्।

स्थापना दिवसको शुभकामना….

 


Leave a Reply

Your email address will not be published.