गगनसँगै नजिकिँदै छ देशको नयाँ भविष्य

गगनसँगै नजिकिँदै छ देशको नयाँ भविष्य

दलहरुबीचको प्रतिस्पर्धा र दलहरु हाँक्ने जिम्मेवार नेता, वैज्ञानिक विकेन्दी्रकरण र आत्मनिर्भरताउन्मुख अर्थराजनीतिक व्यवस्था–लोकतान्त्रिक गणतन्त्र जीवन्त रहने मूल स्तम्भरुपी पक्षहरु यिनै हु्न्। त्यसका लागि समकालीन राजनीतिले योग्यसिद्ध गरेका केही सीमित पात्रहरु छन्, जसलाई थप केही योग्यता र विवेकसम्मत सिपका कारण गगन थापाले नै प्रतिविम्बका रुपमा प्रतिनिधित्व गर्छन्।

आमनिर्वाचनले पटाक्षेप गर्ने राजनीतिक दृश्यले यो वर्षको ठण्डीलाई छायाँमा पार्दै लाने छाँट देखिँंदैछ। आममतदाताको ठूलो हिस्सा मूलधारप्रतिको असन्तुष्टि चुल्याउन जुरजुर्रिरहेको छ। इतिहासमै पहिलो पल्ट स्वतन्त्र उम्मेदवारहरुको यति ठूलो लहर चलेको छ, अनि स्वतन्त्रको नाममै खुलेको पार्टीले समेत यो लहरबाट राम्रै कटनी मार्ने सम्भावना हल्केको छ।

समकालीन संवैधानिक व्यवस्थाकोे अद्यावधिक व्याख्या र परिकल्पनाभित्र संघीय सांसदमा कोलाहल मच्चाउने स्वतन्त्ररुपी प्रतिनीधिहरुको ठूलो भीड अझै गोचर हुँदैन। दलीय जगजगी, तिनका सचेतक र त्यहाँ गएर निदाउनसमेत पछि नपर्ने ‘अचेतक’ हरु, सडकको लिला रोष्ट्रम नजिक गएर देखाउने उदण्डता, अनुकूल पर्दासम्म संसदलाई टेरपुच्छर नलगाउने शासकीय कुचुत्याईं र निर्धक जनताका पक्षमा बोल्ने सांंसदहरुको वृहस्पतीय एक्लोपन–यिनै त हुन हाम्रा संसदका नियमित दृश्य।

जनताको चाहना त्यहाँ प्रतिविम्बित नै हुन्नन्। यसकै कारण जनता यथार्थमै वाक्कदिक्क भइदिएका हुन्। त्रिलोक चौध भुवन चरेर पनि आखिर यही ठीक भन्ने भावबाट परिकल्पित संसदीय प्रजातन्त्रमा जब जिम्मेवार र मध्यमार्गी शक्ति सन्तुलनका ठाउँमा भ्रष्ट र अतिवादी शक्तिसंरचना बलियो हुन्छ, तब अहिले नेपालमा जे भइरहेको छ त्यही हुने हो।

स्वतन्त्र दाबेदारी र उम्मेदवारीको श्रृंखला यही परिदृश्यबाट निस्केको अन्तस्करणीय प्रस्फुटन हो, जसले दीर्घकालमा समाज ठोहोर्‍याउने ल्याकत बोक्दैन। खासमा हुनुपर्ने चाहिँ दलीय संरचनाभित्रैको स्वतन्त्र र जवाफदेही राजनीतिक व्यवहार हो, जुन स्थापित हुन सकिरहेको छैन। त्यही भएर यो पालाको निर्वाचनगर्मिलो बन्दैछ र यसका नतिजाहरुले बढ्दो ठण्डी काट्ने गरी धुनी जगाउने निश्चित छ।

मूलधारका पार्टीहरु काँग्रेस र एमालेलाई निर्वाचनसम्मुख अवस्थामा दुई मूल दृष्टिबाट हेर्न सकिन्छ– क) सत्ता प्राप्तिको ध्येय, ख) लोकतन्त्र सुदृढिकरण। दुवै पार्टीको नेतृत्व पहिलो दृष्टिलाई जीवन–मरणको अभिष्ट मानेर आतुर मुद्रामा चुनावी भागदौड गर्दैछन्। काँग्रेसको देउवा नेतृत्व पूँजीवादकालीन शासकीय र स्रोतजन्य सामथ्र्यको मसलासहित मध्ययुगीन कुलीन परम्पराको ढलान गर्न व्यग्र छ।

त्यो ढलानले सिर्फ उनकै परिवार र आसेपासेहरुलाई केही वर्ष ओत दिए पुग्यो। एमालेको ओली नेतृत्व त्योभन्दा अगाडि बढेर एकीकृत शक्ति र स्रोतबाट स्टालिन पथमा नयाँ विरासत बनाउन खोजिरहेको छ।

र, त्यो विरासत हस्तान्तरणनिम्ति समान अनुंवशको नयाँ दस्ता पनि तयार भइरहेकै अवस्था जो छ। दुई दलबीच चहारी चहारी आफ्नो मृततुल्य हैसियतबाट वौरिरहेको माओवादी चाहिँ सत्तालाभ र आपराधिक वृत्तिबाट समाजलाई सदाका लागि विश्रृंखलित बनाउने भिजिलान्ते मोडलतर्फ उन्मुख भइरहेको छ।

जब हामी लोकतन्त्र सुदृढिकरणको चिन्तन–वहसमा छिर्छौं, सारै तनाव हुने अवस्था छ। किनकी यसलाई आफ्नो जीवनपर्यन्तकै अजेण्डा मान्ने पक्षहरु निरन्तर रुपले कि देउवाजन्य ‘ओलिगार्की (कुलिन परम्परा) को जाँतोमा पिंसिँदैछन् कि त केपी ओलीको नव ‘स्टालिनपथ’ बाट सेकिँदैछन्।

त्यसको विकल्पमा कुनै राजनीतिक मार्गचित्र नभएका तत्वहरु अवसरमुखी पदार्पणबाट जनमतलाई खल्बल्याउने काममात्र गरिरहेका छन्। देउवा ओलिगार्की र ओली स्टालिनपथ दुवैका लागि यो कुनै ठूलो चुनौती होइन। यसले उनीहरुलाई उल्टै फाइदा मात्र पु¥याइरहेको छ।

भाँडतन्त्र भर्सेस झोकतन्त्र

नेपालमा लोकतन्त्र अब केका लागि? यो प्रश्न अहिले १२ वर्ष कटेका बाबुनानीहरुलाई सोध्नुपर्ने हुन्छ। किनकी उनीहरु अबको ६ वर्षपछि देश छाड्ने कल्पनातिर तानिन थालिसकेका छन्। बाबुआमाहरु बालवच्चाको पढाइखर्च, फुर्माइस र संस्कारनिम्ति दिनरात घोटिइरहँदा ती कलिला मनहरु चाहिँ साइबर संसारमा विचरण गर्दै जाने क्रममा नेपाल ठीक ठाउँ नभएको निष्कर्षतर्फ डोहोरिँंदैछन्।

उनीहरु दैलोबाट निस्कने वित्तिकै पार्टीको झण्डा बोक्नेहरुको अनुहार र व्यवहारमा कुनै रोलमोडल चरित्र भेटिरहेका छैनन। ती अनुहारहरु ती कलिलामनहरुसँग बसेर सुललित संवाद गर्न सक्दैनन्। उनीहरुका संशय चिर्न सक्दैनन्। उनीहरुलाई सामाजिक अन्तरक्रियामा रुचि छैन, ती झण्डावाल दाइ–दिदी–काका–काकीहरु उनीहरुलाई संवादमा निम्त्याउने आँट पनि गर्दैनन्।

ती बाबुनानीहरुको शब्दकोषमा यसपाला एउटा शब्द थपियो–बालेन। कोटेश्वर बस्ने केटोेले र्‍यापको भाषा बोल्दोबोल्दै राजनीति बक्न थाल्यो र नानीबाबुहरुको दिल चो¥यो। त्यो केटो दाइदिदी काकाकाकीतिर नलागेर आफ्ना समकालीन वा हुर्कौला भाइबहिनीको भावना बुझ्न लाग्यो। र, नेपालमा प्रजातन्त्र ल्याउन अदम्य योगदान गरेको परिवारको सदस्यलाई पराजित गरेर काठमाडौंको मेयर बन्न सफल भयो।

बालेन अतः एउटा फ्याक्टर हुन्, तत्व हुन्। उनी राजनीतिक निर्माण वा विनिर्माणलाई हाँक्ने चिज शायद होइनन्। तर उनको उदय नेपाली राजनीतिका लागि कत्ति पनि घातक छैन। उनले नेपाली राजनीतिमा जम्मठ भएर बसेको शासनपुस्तालाई नराम्ररी हल्लाउने काम गरे। तर, लोकतन्त्रैका लागि त्यो हल्लाई, त्यो कम्पन पर्याप्त छैन।

जुन तथ्य करीब प्रष्ट भइसकेको छ। बालेनको उप्काएको जमिनमा विउ रोप्ने काम त्यस्ता तत्वहरु गरिरहेका छन्, जो कराएरै लोक मिलाउँछु भन्ने भ्रममा छन्। तर, उनीहरुको अन्तिम उद्देश्य के हो भनेर प्रष्ट पार्न पृष्ठभूमि नै बलियो छैन। आखिर हुण्डरीले वतासको काम त दिन्न।

लोकतन्त्रको विउ

समकालीन राजनीतिमा आशाका सर्वप्रिय केन्द्र बनेका गगनकुमार थापा यतिबेला काठमाडौं क्षेत्र नम्बर चारमा पैतालामा ठेला उठाएर घैरदैलो गर्दैछन्। कतिपय अनुदारवादी, वामपन्थी आवरणका अवसरवादी, कुलीन परम्पराका पृष्ठपोषक, अस्थिरताबाट लाभ लिनखोजिरहने भुगोल–परभुगोलका तत्वहरु सबैले यसपाला गगनलाई आफ्नै क्षेत्रभित्र केन्द्रित रहनुपर्ने वाध्यता सृजना गरेको सत्य हो।

किनकी एकपटक गगनले राज्यसत्तामा आफ्नो दर्विलो नेतृत्व स्थापित गरे भने सबैको ढलान फुट्छ भन्ने परेकै हो। त्यसमाथि उनले अब प्रधानमन्त्री बन्ने हो भनेर घोषणा गरिदिनु ती सारा तत्वहरुका लागि ‘डु अर डाइ’ मामिला बनिदियो।

मूलधारका शक्ति केन्द्रहरुमाझ एकसमान शत्रु बनिरहनुपर्ने अवस्थाबीचका गगन राजनीतिका ती नन्दीभृंगीहरुका लागि पनि अप्रिय छन् जो भडकावबाट फाइदा उठाउने दाउमा रहिरहन्छन्। पार्टी, नागरिकसमाज, आमजनता र सोसल मिडिया–यी सर्बत्र फाँटमा गगनले के बोल्छन् भन्ने जिज्ञासा रहन्छ। समाज परिवर्तनको उत्कट उत्कण्ठा बोकेको युवाले यी सारा अभिभाराको दबाब झेल्दाझेल्दै कति त्यस्ता ठाउँहरु राख्ला, जहाँ विग्रहकारीहरुले ठोक्न खोज्छन्।

अहिले गगनले खहरेको बाढीका विषयमा प्रष्टोक्ति दिइरहनु परेको छ, बाटोको खाल्डो र धुलोमा तर्क गरिरहनु परेको छ। युवाले चाहेको नेपाली मोडलको ‘सामाजिक लोकतन्त्र’का सिद्धान्तकार गगनले यतिबेला जनमतबाट अनुमोदित भएर आउनका निम्ति मुलुककै सबैभन्दा ठूलो दलको इज्जत धान्ने गरी विधायिकी भुमिका निर्वाह गरेको र राष्ट्रिय महत्वका मामिलाहरुमा राजनीतिक भविष्य दाउमा राखेर निर्णायक योगदान गरेको विषय पर्याप्त हुनुपर्ने होइन र? हिजोका चुनावहरु गगनले आमलहरैबाट जितेका थिए।

जनहितकै सवालमा गगनले गरेका कामहरु कसैको दाँजोमा कम छैन। गगनमाथिको जनविश्वासको लहर हेर्ने हो भने आज पनि राष्ट्रव्यापी जनमत संग्रह गर्दा उनकै पक्षमा नतिजा आउँछ। तर, उनलाई यो चुनावमा जसरी पनि ठेस लगाउन जे जति गतिविधिहरु भइरहेका छन्, त्यो चाहिँ नेपालमा समुन्नत लोकतन्त्र चाहने आमसचेत वर्गका लागि आपत्तिका विषय हुन्।

उनीविरुद्ध विगतका केही महिनादेखि भइरहेका दुष्प्रचारको अन्तर्यमा छिर्ने हो भने त्यो केवल एउटा संसद क्षेत्रलाई प्रभाव पार्नका लागि मात्र गरिएको होइन भन्ने प्रष्ट हुन्छ। कपनको खहरे, केही खाल्टाहरुको चित्रलाई सुनामीतुल्य चित्रण गर्न योजनावद्ध ढंगले ठूलो लगानी भइरहेको तथ्य कुनै बेला सार्वजनिक भएरै छाड्ला।

पंक्तिकारको एउटा वाल्यकालीन स्मरण छ। त्यतिबेलाका एक सांसद गाउँमा अन्तरक्रिया गर्न भनेर आए। एउटा उरेन्ठेउलो केटोले उनलाई तुच्छ भाषामा प्रश्न गर्‍यो–‘तपाईंले हाम्रो गाउँका लागि के गर्नु भयो?’ ती सांसदले विनम्र भाषामा सहज उत्तर दिए–‘हेर्नोस भाइ, मेरो काम संसदमा बसेर तपाईंले चाहेजस्तो मुलुक बनाउन कानून बनाउने हो। काम त तपाईंको गाविसअध्यक्ष (तत्कालीन) र प्रशासनले गर्ने हो। उनीहरुलाई मसँगै बसाएर कुरा गराउनुपर्छ तपाईंले। म पनि त्यही प्रश्न गरौंला।’

ती केटा अहिले नेतै भएका छन्। उनी सांसदले बाटो बनाउने, जागिर लाइदिने भन्ने जुन भाष्य छ, त्यसबाटै आत्तिएका छन्। ‘चुनाव लडेर जो अगाडि लाग्यो, त्यसैले सबै मामिला मिलाइदिनुपर्ने बुझाइ अहिलेको समस्या हो। असल मानिसहरुले यस विषयमा सम्झाउन बुझाउन खोज्छन्। खराबले त यसैमा खेलेर भडकाउ झिक्ने हुन्’ उनी भन्दैछन्।

केही महिनाअघि गगन थापा सहरी सेवा केन्द्र उद्घाटनमा उत्साहित भएर खटे, विकासनिर्माणका सवालमा पटक–पटक जनतासँगै डेलिगेसन गए, कोभिड महामारीमा उनले गरेका कामहरु सबैतिर प्रशंसित भए। सार्वजनिक नीति (पब्लिक पोलिसी) निर्माणमा उनको टोली निरन्तर खटिरहेको छ। उनले यी सारा क्रियाकलाप गरिरहँदा सिंगो सरकार, स्थानीय निकाय र शासकीय संयन्त्रका पनि त आफ्ना कर्तव्यहरु थिए होलान्। तिनीहरुले के कसो गरे, त्यसको पनि त मूल्याकंन होला।

सांसद भनेको विधायिकी भुमिकाको शीर्ष प्रतिनीधि हो। तर त्यही सांसदलाई स्थार्थ समूहहरुको मामिला मिलाउने जनमतप्राप्त अभिकर्ता सिद्ध गर्ने अभ्यास अहिले हावी छ। पंक्तिकारकै जिल्लामा एक सांसद छन्, जो आफ्नो पहुँचबाट यति अर्व बजेट क्षेत्रमा झारे, मलाई भोट नदिए कसलाई दिनुहुन्छ भनेर मतदाताहरुसामु डिंग हाँक्दैछन्।

सत्ताशक्तिको दुरुपयोग गरेर डोल्पामा जानुपर्ने बजेट भक्तपुरमा खन्याउनु चाहिँ राष्ट्रवादी योग्यता हो? असल मानिसले अर्काको भाग लुटेर अर्जिण भोजन गर्न चाहँदैन।

एउटा निर्वाचित सांसदका निर्दिष्ट भुमिका हुन्छन्। सांसदको तजबिजमा विकास बजेट खर्च गर्ने चलनलाई सबैभन्दा पहिले गगन थापाले नै विरोध गरेका हुन्। जनताको करबाट बन्ने वजेट विधायकहरुले आफ्नो राजनीतिक विरासत संरक्षणका लागि खर्च गर्नु संवैधानिक भ्रष्टाचार नै हो। तर, त्यसलाई वहुसम्मतिमा अभ्यास गरियो।

त्यसको फलस्वरुप आज मुलुकभर उपभोक्ता समिति बनाएर कार्यकर्ता पालनपोषण गर्ने उपक्रममा तीव्र प्रतिस्पर्धा भइरहेको छ। त्यसबाट आमजनता झन् विरक्तिएका छन्। झण्डा बोक्नेहरु जति ठेकेदार भन्ने आमभावनाले दलीय प्रतिनीधिहरुप्रतिको वैराग झन्झन झांगिरहेको छ।

गगन–प्रतिबिम्ब
दलहरुबीचको प्रतिस्पर्धा र दलहरु हाँक्ने जिम्मेवार नेता, वैज्ञानिक विकेन्द्रीकरण र आत्मनिर्भरताउन्मुख अर्थराजनीतिक व्यवस्था–लोकतान्त्रिक गणतन्त्र जीवन्त रहने मूल स्तम्भ रुपी पक्षहरु यिनै हु्न्।

त्यसका लागि समकालीन राजनीतिले योग्यसिद्ध गरेका केही सीमित पात्रहरु छन्, जसलाई थप केही योग्यता र विवेकसम्मत सिपका कारण गगन थापाले नै प्रतिविम्बका रुपमा प्रतिनीधित्व गर्छन्।

उनको लोभलाग्दो राजनीतिक संघर्ष र प्राप्तिबाहेक नेपालको आर्थिक सामाजिक रुपान्तरणका लागि उनले गरेका शोधअध्ययन मात्रै पनि विश्वभरका लागि चासोको विषय हुनसक्छ। र, यसो हुँदाको श्रेय नेपाली जनताले नै पाउने हुन्।

हामीलाई न ठूलादलभित्रको कुुलिनतन्त्र आवश्यक छ न वामपन्थी अधिनायकवाद। न दलीय परिधि बाहिरका अल्पकालीन प्रवृति।

लोकतान्त्रिक शक्तिहरु मजवुत हुन् तिनीहरुभित्रैबाट योग्यताआधारित छनोट अपरिहार्य छ। आममतदाताले यति मात्रै ध्येय पुर्‍याए मंसीर ४ को चुनावले नेपाली राजनीतिलाई मिठो न्यायो प्रदान गर्नेछ।

 

 


Leave a Reply

Your email address will not be published.