गगनको ‘गगनचुम्बी उडान’

गगनको ‘गगनचुम्बी उडान’

काठमाडौं- काठमाडौंको सिद्धार्थ बनस्थलीमा पढ्ने एक ठिटोले डाक्टर–इन्जिनियर बन्ने सपना बुनिरहेका थिए। पढाइमा अब्बल थिए, उनी।

स्कुलका गुरुहरूले पनि त्यो ठिटोलाई भविष्यमा डाक्टर–इन्जिनियर बन्न हौसाइरहे।

बुबा पनि इन्जिनियर नै भएकाले सायद उनलाई पनि त्यही पेसामा अगाडि बढ्ने रहर चलेको थियो, त्यतिबेला। स्कुलमा पनि त्यही सिकाइन्थ्यो। पढेर डाक्टर–इन्जिनियर बन्नुपर्छ।

त्यहिबेला चाक्सीबारीमा प्रजातन्त्र पुनःस्थापनाका लागि आन्दोलनका रणनीतिहरू पनि तयार भइरहेका थिए। तर, ९ कक्षामा पढ्ने एक ठिटोलाई ती रणनीति र आन्दोलनका तयारीबारे केही खबर थिएन। पूर्णरूपले बेखबर थिए, उनी।

चाक्सीबारीमा रणनीतिहरू तयार भइसकेपछि २०४६ फागुन ७ गतेबाट प्रजातन्त्र पुनः स्थापनका लागि आन्दोलन सुरूभयो। आन्दोलनमा सिद्धार्थ बनस्थलीको कक्षा ९ मा पढिरहेका त्यो ठिटो पनि सक्रिय रूपले सहभागी भए।

र, उनी थिए गगनकुमार थापा।

आन्दोलनमा सहभागी भए पनि राजनीतिमा आउने सोच गगनको थिएन। आफ्नो पुरानै सपना डाक्टर वा इन्जिनियर बन्ने सपनलाई पूरा गर्न अडिग थिए, उनी।

त्यही सपना सकार पार्न गगनको कलेज यात्रा प्रारम्भ भयो। त्रिचन्द्र कलेजमा अध्ययनका क्रममा विद्यार्थी संगठनसँग जोडिएपछि डाक्टर–इन्जिनियर बन्ने सपनालाई बिरामदिँदै अगाडी बढ्यो गगनको राजनीतिक यात्रा।

कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को सदस्यता लिए। नेविसंघबाटै उनले त्रिचन्द्र कलेजको स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा पहिलोपटक चुनाव लडे। निर्वाचित भए।

त्यसपछि राजनीतिमै अगाडि बढ्ने आत्मविश्वास झनै बढ्यो, तन्नेरी गगनमा। कलेज राजनीतिकै बेला सहकर्मीहरूले गगनलाई भन्ने गरेका थिए–‘डायनामिक गगन’।

सहकर्मीहरूले भनेअनुसार नै गगन ‘डायनामिक’ बनेर अगाडि बढिरहे। अझै छन्। अनि त स्ववियुको सदस्यमा निर्वाचित भएर राजनीतिलाई अगाडि बढाएका उनी सचिव त्यसपछि सभापतिसमेत बने।

२०५५ सालमा स्ववियुका सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा गगनको संलग्नता बढ्यो। नेविसंघ केन्द्रीय समितिको महामन्त्री र उपाध्यक्ष पनि भए।

समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका गगनले २०५९ देखि २०६१ सम्म नेविसंघको महामन्त्री भएर काम गरे।

विद्यार्थी राजनीतिमा अगाडि बढिरहेका गगन २०५१ सालमा पहिलोपटक जेल परे। त्यतिबेला एमालेको अल्पमतको सरकार थियो। गृहमन्त्री थिए, केपी शर्मा ओली।

नेविसंघले नेपाल बन्दको आह्वान गरेको थियो। त्यसैक्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

स्कुले विद्यार्थी छँदा प्रजातन्त्र पुनःस्थापनका लागि आन्दोलनमा होमिसकेका गगनलाई नेविसंघमा जुडिसकेपछि राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापनाको हुटहुटी सलबलाउन थालिसकेको थियो।

त्यतिबेला पार्टी गगनलगायतका विद्यार्थी नेताहरू राजतन्त्रको विरोध र गणतन्त्रको पक्षमा आवाज बुलन्द गर्न थाले। राजाको सक्रिय शासन रहेको बेला कांग्रेस पार्टीको गणतन्त्रको अवाज प्रखर रूपमा उठाउनु चानचुने कुरा थिएन। तर, त्यो साहस गगनले गरेका थिए।

२०५९ असोज १८ पछि सूर्यबहादुर थापा प्रधानमन्त्री बनेका थिए। गणतन्त्रको पक्षमा आवाज उठाउने गगनसहित गुरुराज घिमिरे र पुरुषोत्तम पौडेलमाथि राजकाज मुद्दा लाग्यो।

१० पटकभन्दा जेल परिसकेका उनलाई पछिसम्म राजद्रोहको मुद्दाले छाडेन। पक्राउ पर्ने अनि रिहा हुने क्रम चलिरह्यो।

प्रखर वकृत्व क्षमता र लोकप्रिय छवि बनाइसकेका गगन २०६२ / ६३ को दोस्रो जनआन्दोलनका बेला प्रमुखवक्ताका रूपमा देश दौडाहामा घुमिरहे। एजेन्डाप्रति प्रष्टता र दृढताले गगनलाई थप लोकप्रिय बनाउँदै गयो।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा उनले महामन्त्रीका लागि प्रतिस्पर्धा गरे। सफल भएनन्। लक्ष्यप्रति दृढ गगनले हार मानेनन्। पार्टीको महामन्त्री बन्ने उनको सपना १४ औं महाधिवेशनमा पूरा भयो। अहिले उनलाई कांग्रेसको भावी सभापतिको रूपमा हेर्न थालिएको छ।

२०६४ सालमा समानुपातिकतर्फबाट संविधानसभा सदस्यमा निर्वाचित भएपछि सुरूभयो, गगनको संसदीय राजनीतिक यात्रा। त्यसयता उनको ‘अविराम’ राजनीति यात्रा निरन्तर जारी छ। निरन्तर अगाडि बढिरहेको छ, गगनको ‘गगनचुम्बी’ उडान।

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट ‘ह्याट्रिक’ जित हासिल गरेका छन्, उनले। चुनाव प्रचारप्रसारका बेला

मतदाताहरूको प्रतिक्रिया र हाउभाउले गगनको जितलाई निश्चित गरिसकेको थियो। पर्खाइ थियो केवल चुनाव र परिणाम घोषणाको।

यो क्षेत्रबाट उनले लगातार दुईपटक एमालेका राजन भट्टराईलाई पराजित गरेका छन्। गगन नेकपा एमालेका राजन भट्टराईलाई ७ हजार ४४७ मतान्तरले पराजित गरेर काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

थापाले २१ हजार ३०२ मत ल्याउँदा भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन्। २०७४ सालको निर्वाचनमा पनि उनले भट्टराईलाई पराजित गरेका थिए।

त्यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए। काठमाडौं ४ बाट उनको यो लगातार तेस्रो जित हो।

कांग्रेसका महामन्त्री र प्रतिनिधिसभामा निर्वाचित भइसकेका गगनको नजर अब संसदीय दलको नेतातिर छ। पार्टी संसदीय दलको नेता अर्थात ‘सम्भावित’ प्रधानमन्त्रीका लागि छलाङ्ग लगाउन चाहेका छन, उनी।

हुनत चुनावअघि नै कांग्रेसका तर्फबाट भावी प्रधानमन्त्रीको ‘फेस’ का रूपमा गगनलाई अगाडि सारिएको थियो। कांग्रेसले औपचारिक रूपमा निर्णय नै नगरे पनि पार्टीभित्र यो बहसको विषय बनिसकेको थियो।

र, यसको संकेत स्वयं गगनले पनि गरेका छन्।

निर्वाचनको मतपरिणाम घोषणालगत्तै समर्थकहरूलाई सम्बोधन गरेका गगनले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताए।

संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुुनुपर्दछ। गगन पनि त्यसैको तयारीमा लाग्ने सुरसारमा छन्।

‘आजैदेखि संसदीय दलको निर्वाचनको तयारीमा लाग्छु, मतदाताले मनको कुरा व्यक्त गर्नुभएको छ। त्यो पूरा गर्नुपर्छ,’ गगनले भने।

देश हाँक्ने पुरानै अनुहारबाट जनता आजित छन्। घुमिफिरी आइरहने एउटै अनुहारको ठाउँमा परिवर्तन खोजेका छन्, नेपाली जनताले।

यसको सन्देश हालै भएको निर्वाचनमा उनीहरूले आफ्नो मतबाट पनि व्यक्त गरिसकेका छन्।

र, यो कुरा राम्ररी बुझेका छन् गगनले। त्यसैले त उनी भन्छन्– जनताले स्थायित्वमात्रै नभइ नेपाललाई हाँक्ने नयाँ चालक पनि खोजेका छन्।

अनि त्यस्ता चालक उनले आफ्नै पार्टी कांग्रेसभित्र हेरिरहेका छन्।

‘नयाँ चालक कांग्रेसभित्रै छन्। यो बहस पार्टीभित्र पनि भइसकेको छ। कांग्रेसले नयाँ नेतृत्व दिन जरूरी छ। देशभरबाटै यो विचार व्यक्त भएको छ,’ गगन भन्छन्।

परम्परागत शैलीबाटै हिँड्न खोजिरहेको कांग्रेसबाट मुलुकको नेतृत्वका लागि ‘नयाँ चालक’ दिलाउन गगन कति हदसम्म सफल होलान् त्यसका लागि केही दिन कुर्नुपर्ने हुन्छ। तर, कांग्रेसले ‘नयाँ चालक’ लाई खोज्यो भने गगनको ‘गगनचुम्बी उडान’ सफल नहोला भनेर भन्न सकिँदैन।

 

 


Leave a Reply

Your email address will not be published.