देउवाको त्यो चुनौती र महेश बस्नेतको हार

देउवाको त्यो चुनौती र महेश बस्नेतको हार

काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले भक्तपुर आएर चुनाव लड्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनौती दिएका थिए।

भक्तपुरको एउटा कार्यक्रममा बस्नेतले भनेका थिए– अब कांग्रेसलाई खोज्नुपर्छ। शेरबहादुरजीलाई यहाँ आएर चुनाव लड्न मेरो चुनौती छ।

त्यो बेला कांग्रेस १४ औं महाधिवेशनको तयारीमा होमिएको थियो। वडा, क्षेत्रहरूको अधिवेशन भइरहेको थियो।

त्यसको केही दिनपछि कांग्रेसको वडा अधिवेशनको उदघाटन गर्न देउवा भक्तपुरको सूर्यविनायक पुगे।

वडा अधिवेशनको उदघाटन गर्दै देउवाले एमाले नेता बस्नेतलाई आउने चुनावमा जितेर देखाउन चुनौती दिए।

आफूलाई होइन भक्तपुर कांग्रेसका पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाइदिन बस्नेतलाई देउवाको चुनौती थियो।

बस्नेतले दिएको चुनौतीको जवाफ दिँदै देउवाले भनेका थिए,‘महेश बस्नेतजीले मलाई चुनाव लड्न चुनौती दिएछन्। बस्नेतजीले मलाई होइन हाम्रो पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्।’

तिनै दुर्लभले यसपालि प्रतिनिधिसभा निर्वाचनमा बस्नेतलाई भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट चुनावमा पछारिदिएका छन्। दोस्रोपटक संसद छिर्ने बस्नेतको रहरमाथि बिराम लगाइदिएका छन् बस्नेतलाई चुनावमा पराजित गरेर दुर्लभले।

बिहीबार बिहान सकिएको मतगणनाअनुसार कांग्रेस उम्मेदवार दुर्लभ २४ हजार २३८ मत ल्याएर विजयी भएका छन्।

बस्नेतले भने २३ हजार २७५ मत पाएका छन्। थापाले बस्नेतलाई ९६३ मतले पराजित गरेका छन्।

२०७४ सालको निर्वाचनमा एमाले नेता बस्नेत यही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यो बेला उनले कांग्रेस नेता पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गरेका थिए।

दुर्लभले यसपालि बस्नेतलाई पराजित गरेर कांग्रेसले भोगेको पछिल्लो हारको ‘बदला’ लिएका छन् नै कांग्रेस सभापति देउवाले दिएको त्यो चुनौती पनि सही साबित गरिदिएका छन्।

भक्तपुर–२ त्यस्तो निर्वाचन क्षेत्र हो जहाँ हरेक चुनावमा नयाँ अनुहारको खोजी हुने गरेको छ।

दुईवटा निर्वाचन क्षेत्र रहेको भक्तपुर–१ मा सँधै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले जित्दै आएको छ। एक हिसाबले नेमकिपाका लागि यो ‘पकेट’ क्षेत्र हो।

प्रजातन्त्रको पुर्नवहालीपछि २०४८ सालमा भएको पहिलो निर्वाचनमा यो क्षेत्रबाट नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले चुनाव जिते। त्यसयता भएको सबै निर्वाचनमा त्यो क्षेत्रबाट विजुक्छेलाई कसैले पराजित गर्न सकेनन्।

२०७० सालको पहिलो संविधानसभा निर्वाचनमा पनि चुनाव जितेका उनले राजनीतिमा अभिभावकीय भूमिका निर्वाह गर्ने भन्दै चुनाव नलड्ने घोषणा गरे।

त्यसपछि यो क्षेत्रमा उनकै पार्टीका प्रेम सुवाल २०७४ सालको निर्वाचनमा चुनाव जिते। यसपालि पनि यो क्षेत्रबाट सुवाल विजयी भइसकेका छन्।

भक्तपुर १ बाट सँधै नेमकिपाले चुनाव जित्दै आए पनि क्षेत्र नम्बर २ को कथा विल्कुलै फरक छ। यो क्षेत्रबाट चुनाव जितेका कुनै पनि अनुहार दोहोरिएको अहिलेसम्मको इतिहास छैन।

भक्तपुर २ का मतदाता हरेक चुनावमा नयाँ अनुहार खोज्छन् र जिताउँछन्। यसपालि पनि त्यही भएको छ। गत चुनाव जितेका बस्नेतलाई पराजित गरेर यहाँका मतदाताले दुर्लभलाई संसदमा प्रवेश गर्ने अवसर दिएका छन्।

२०४८ सालको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका जगन्नाथ आचार्यले जिते। त्यसपछि २०५१ सालमा भएको अर्को निर्वाचनमा आचार्य दोहोरिन सकेनन्।

यहाँका मतदाताले नेमकिपाका आशाकाजी बासुकालाई निर्वाचित गरे। तर, २०५६ मा कांग्रेसका लेखनाथ न्यौपानेले जित हासिल गरे।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेमकिपाकै सुनिल प्रजापतिले जिते। २०७० सालमा रामेश्वर ढुंगेलले जिते। तर, उनी पनि दोहोरिन सकेनन्।

२०७४ सालको निर्वाचनमा वामगठबन्धनका तर्फबाट चुनाव लडेका एमाले नेता बस्नेतले बाजी मारे।

यसपालि फेरि दोहोरिने उनको रहर थियो। तर, उनको त्यो रहरलाई भक्तपुर २ का मतदाताले पूरा हुन दिएनन््। नयाँ अनुहारको रूपमा जिताएका छन्, दुर्लभलाई।


Leave a Reply

Your email address will not be published.