फराकिलो राजमार्गमा साँघुरिएको शंकरका महत्वाकांक्षी पाइला

फराकिलो राजमार्गमा साँघुरिएको शंकरका महत्वाकांक्षी पाइला

जिन्दगीको एउटा फराकिलो राजनीतिक राजमार्गमा यात्रा तय गरिसकेका नेकपा एमाले महासचिव शंकर पोखरेल अचानक त्यही राजमार्गको साँघुरो घेराभित्र अडिएका छन्।

आफूलाई ‘हेभिवेट’का रूपमा प्रस्तुत गर्दै भोट मागिरहेका उनले आफ्ना प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रेखा शर्मालाई अलि गम्भिर रूपमा लिएनन्।

‘भावी प्रधानमन्त्री’ अनि नेकपा एमालेका ‘भावी अध्यक्ष’का रूपमा उभ्याएर उनका कार्यकर्ताहरूले प्रतिद्वन्द्वीलाई निकै ‘हल्का’ रुपमा लिएका थिए।

त्यसमाथि माओवादीका नेता कृष्णबहादुर महराले चुनावी मैदान छोडेका थिए र महराको ठाउँमा रेखा आएकी थिइन्। तर उनै रेखाले यो चुनावमा पोखरेलको राजनीतिक यात्राको एउटा खुट्किलो खुस्काइदिएकी छिन्।

अन्तिम समयसम्म पनि मत बढाउन निकै संघर्ष गरिरहेका पोखरेल आखिर यो दौडमा रेखाभन्दा १९६ मतले मात्रै पछि परे।

सत्ता साझेदारको साझा उम्मेदवारका रूपमा पहिलोपटक प्रत्यक्ष चुनावी मैदानमा उत्रिएकी रेखाले २६ हजार ८ सय ७७ मत ल्याइन र पोखरेलले २६ हजार ६ सय ८१ मत पाए।

संसदीय यात्रामा तेस्रोपटक छेकबार

२०५१ सालको चुनावमा दाङ क्षेत्र नं २ बाट सांसद भएका शंकर पोखरेल २०५६ सालको निर्वाचनमा पनि पराजित भए। त्यो बेला उनलाई नेपाली कांग्रेसका कृष्ण किशोर घिमिरेले पराजित गरेका थिए।

२०६४ सालमा समानुपातिकबाट संविधानसभाको सदस्य भए। र, सूचना तथा सञ्चारमन्त्रीसमेत भए।

२०७० सालमा भएको संविधानसभाको दोस्रो चुनावमा पोखरेल नेपाली कांग्रेसका वुद्धिराम भण्डारीसँग दाङको निर्वाचन क्षेत्र नं ४ बाट नेपाली कांग्रेसकै नेता वुद्धिराम भण्डारीसँग पराजित भए।

२०७४ सालमा प्रदेश ओर्लिएका उनले दाङबाटै चुनाव जिते र लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसमेत भए।

भावी नेतृत्वको सपना

एउटा राजनीतिज्ञको स्वभाविक महात्वकांक्षा हो, नेतृत्व। चाहे त्यो पार्टीको होस् या सत्ता।

त्यसमा पनि केपी शर्मा ओली नेकपा एमालेको नेतृत्वमा पुगेपछि शंकर पोखरेलमा पनि त्यो महत्वकांक्षा अझ उर्लिएर आयो। ओलीले पनि साथ दिँदै रहे।

पार्टीको महासचिवसम्म भए।

अक्सर हरेक कम्युनिष्ट पार्टीमा ‘महासचिव’ पद महत्वपूर्ण मानिन्छ। कुनै बेला महासचिव नै पार्टीको ‘हेडक्वार्टर’ हुन्थ्यो। विस्तारै कम्युनिष्टहरू पनि बहुपदीय प्रणालीमा जान थाले र अध्यक्षात्मक संरचनामा अध्यक्षपछि महासचिव नै शक्तिशाली अनि कार्यकारी पदका रूपमा स्थापित गरियो।

र, यसपालि शंकर पोखरेललाई उनका कार्यकर्ताहरूले त्यसैगरी चुनावमा प्रोजेक्ट गरे।

‘समर्थक र विरोधी सबैले भनिरहेका छन् भावी प्रधानमन्त्री शंकर पोखरेल नै हो’ एमालेका नेता एंव घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले चुनावी अभियानका क्रममा पार्टीको एउटा आन्तरिक बैठकमा भनेका थिए ‘अब केपी ओलीपछि एमालेको अध्यक्ष पनि उही नै हो। अरू कोही छैन।’

पोखरेलले त्यसमा कुनै प्रतिक्रिया जनाएनन्। बरू त्यसपछि बाक्लिएका चुनावी अभियानमा पनि कार्यकर्ताहरूले त्यसरी नै मतदातासँग पोखरेललाई चिनाइरहँदा उनी हात जोडेर मुसुमुसु हाँसिरहे, नबोलेरै हिँडिरहे।

सुरूवातमा उम्मेदवारमा सिफारिस नपरेका केही नेता कार्यकर्ताहरूले त्यसको दोष पोखरेलमाथि खन्याइरहेका थिए।

ती आलोचनाहरूको जवाफ फर्काउँदै चौधरीले पोखरेललाई एकैपटक प्रधानमन्त्री र ओलीका उत्तराधिकारीका रूपमा उभ्याइदिए। र, उनीविरूद्ध नबोल्न पनि चेतावनी दिए।

दाङ क्षेत्र नं २ मा नेकपा एमालेले उनको मात्रै नाम सिफारिस गरेको थियो, त्यसैले पनि उनको कुनै विकल्प थिएन पार्टीभित्र।

२०५१ सालको आम निर्वाचनमा दाङको क्षेत्र नं २ बाट चुनाव जितेर सांसद हुँदा पोखरेल ३२ वर्षका थिए। छिप्पिदों वैंशमै संसदीय खुट्किला नापिसकेका उनमा अब पार्टी नेतृत्वको उत्तराधिकारी बन्ने हतास पोखियो।

कम्युनिष्ट पार्टीमा सर्वशक्तिमान नेतृत्व सक्रिय छँदाछँदै कसैले म उत्तराधिकारी दाबी गर्ने चलन अनौठो हो।

सामान्यतया कम्युनिस्ट पार्टी प्रणालीमा नेतृत्वको उत्तराधिकारीको घोषणा सार्वजनिक रूपमा यसरी गर्ने परम्परा भने विरलै छ।

तर, गृहजिल्लामा कार्यकर्ताहरूले उनलाई भावी प्रधानमन्त्री र ओलीका उत्तराधिकारीका रूपमा जुरूक्क उचालेको विषय चुनावको मुखैमा एमालेभत्रि चर्चाको विषय पनि बन्यो।

राजनीतिक यात्रा

२०१९ सालमा दाङको हाडिमेमा जन्मिएका उनी केशवराज शर्मा र आमा तिलकादेवीका कान्छो सन्तान हुन्। यो ठाउँ हाल तुलसीपुर उपमहानरपालिकामा पर्छ। २०५१ सालमा ३२ वर्षे ठिटोलाई सांसद बनाएर पठाएको दाङले त्यसको २३ वर्षपछि प्रदेशको मुख्यमन्त्री पायो। ती उनै शंकर पोखरेल थिए।

विद्यार्थी संगठनबाट वामपन्थी राजनीतिको यात्रा सुरू गर्दैगर्दा देशीय राजनीतिक अवस्था अर्कै थियो। समय फेरियो। राजनीतिक अवस्था फेरियो। देशको शासन व्यवस्था नै फेरियो। उहीबाटो हिँड्दाहिँड्दै कहिले त पार्टीको नाम पनि फेरियो। तर, नेपालको वामपन्थी राजनीतिमा अझ खासगरी एमालेको पार्टी जीवनमा पोखरेलको नाम अझ माथि उक्लिदैं गयो।

त्रिभुवन विश्वविद्यालयबाट एमबिए तहको अध्ययन पूरा गरेका पोखरेल आफूलाई भू–राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान राख्ने नेता भन्न रुचाउँछन्। पार्टीको सक्रिय राजनीतिमा आएसँगै पोखरेलले नेतृत्वदायी भूमिका पनि पाउँदै आए। केन्द्रीय समितिमै नभएका बेला समेत उनी एमालेको केन्द्रीय प्रचार विभाग प्रमुख र पार्टी मुखपत्र ‘नवयुगको प्रधानसम्पादकसम्म भए।

राजनीतिमा चतुर र चलाखीपन आफ्नो ठाउँमा होला तर कर्मसँगै ‘भाग्यवाद’ मान्नेहरूले उनलाई एमालेभित्रका एक ‘भाग्यमानी’ नेता पनि मान्छन्।

पोखरेलको यो अविराम र राजनीतिक फड्कोहरूको ‘राज’ के होला?

पार्टी सर्कलमा उनलाई समर्थन गर्नेहरु भन्छन् ‘पोखरेल आफूलाई मदन भण्डारीको राजनीतिक सन्तान भनेर चिनाउँदै अगाडि बढेका हुन्।’ मदनसँग गाँसिएका शंकर अहिले विद्यादेवी भन्डारीसँग पनि नजिक छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीका त उनी पहिलादेखि नै विश्वासपात्र थिए।

कुनै बेला ओली पार्टीको दोस्रो पङ्तिको नेता हुँदा पोखरेल उनका सारथी थिए। अहिले पनि छन्। पार्टीमा कुनै प्रस्ताव लैजानुपर्‍यो भने पोखरेल नै अघि सर्थे। त्यो ओलीकै हुन्थ्यो। तर जस र अपजस जे हुन्छ त्यो पोखरेलले पाउँथे।

एमालेको सातौं महाधिवेशनमा पोखरेले एउटा प्रस्ताव पेश गरे– अब संविधानसभाबाट नै राजनीतिक निकास खोजिनुपर्छ।

तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएर भर्खरै संकटकाल लगाएको समय थियो। २०५९ माघ १८ देखि २२ सम्म जनकपुरमा भएको एमालेको त्यो सातौं महाधिवेशन थियो।

‘प्रजातन्त्र शान्ति र समग्र विकास, प्रतिगमनका विरूद्धमा आग्रगामी निकास’ भन्ने मूल नारा बनाएको त्यो महाधिवेशनमा पोखरेलले राजनीतिक निकासबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।

त्यही महाधिवेशनमा केपी ओलीले पनि ‘पार्टी जीवनको प्रजातान्त्रिकरण’ शीर्षकमा प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले त्यसमा ‘एमालेभित्रको प्रजातान्त्रिकीरण र विधानको संशोधन’का लागि मस्यौदाहरू तयार गरेका थिए।

त्यो बेला माधवकुमार नेपाल पार्टीको महासचिव थिए। अहिले नेपाल त एमाले छैनन् र त्यो बेला निकै शक्तिशाली नेताका रूपमा नेपाल थिए।

तर नेपालले महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रतिवेदनबाहेक अरू कुनै पनि दस्तावेजहरूमा छलफल नै भएन। त्यही महाधिवेशनबाट नेपाल फेरि महासचिव चुनिए र ओली केन्द्रीय कमिटीमा।

त्यो बेला ‘एमालेको पार्टी जीवनमा प्रजातन्त्र’को प्रस्ताव गर्ने उनै ओली हुन्, जसले अघिल्लो वर्ष चितवन (२०७८ मंसिर १०–१३) मा भएको दशौं महाधिवेशनमा सारा पदाधिकारी र केन्द्रीय सदस्यको नाम पढेर सुनाए। त्यो पनि आधा रातमा।

तर अध्यक्ष पदका लागि उनका कट्टर आलोचक भीम रावलले चुनाव लड्न बाध्य बनाए।

२०६५ फागुन ५–१४मा बुटवलमा भएको आठौं महाधिवेशनमा पोखरेलले उनै ओलीको प्रस्तावलाई अलिकति संशोधन गरेर प्रस्तुत गरे। पार्टी जीवनको लोकतान्त्रिकरणबारे लेखिएको पोखरेलको त्यो पूरक प्रस्तावलाई यो महाधिवेशनले भने सर्वसम्मत रूपमा स्विकार ग¥यो।

यो त्यही महाधिवेशन हो जसले एमालेलाई बहुपदीय प्रणालीको बाटोमा लग्यो। पार्टीको पहिलो ‘कार्यकारी अध्यक्ष’ बन्न प्रतिष्पर्धा गरेका ओलीलाई झलनाथ खनालले पराजित गरिदिए।

यही महाधिवेशनबाट शंकर पोखरेलसँगै युवाराज ज्ञवाली र विष्णु पौडेल पनि एमालेको सचिवमा निर्वाचित भए।ज्ञवाली पोखरेलकै गृहजिल्ला दाङ निवासी हुन्।

ओलीकै प्यानलबाट सचिवमा जितेका पौडेल र पोखरेलको राजनीतिक यात्रा अहिले पनि एमालेभित्र निकै प्रतिष्पर्धाको बाटोमा दौडिरहेको छ।

महत्वकांक्षाको पहाड अनि उत्तराधिकारीको भोक

सातौं महाधिवेशनसम्म पनि दोस्रो तहमा चलमलाइरहेका केपी ओली उनै ‘शक्तिशाली’ तत्कालीन महासचिव माधवकुरमा नेपालसँग पार्टी अध्यक्षका लागि उत्रिए। यो नवौं महाधिवेशन थियो। २०७१ असार २९– साउन १ सम्म काठमाडौंमा भएको यो महाधिवेशनमा ओली र नेपालबीच प्रतिष्पर्धा भयो।

यतिबेलासम्म ओली बलियो भइसकेका थिए। नेपालले चुनाव हारे। ओली पार्टीका अध्यक्ष भए। यहीँबाट एमालेभित्र ओली प्यानल हाबी हुन थाल्यो।

यो महाधिवेशनमा ओली प्यानलबाट उपमहासचिव पदका लागि प्रतिष्पर्धा गरेका थिए– शंकर पोखरेल र विष्णु पौडेलले। तर पोखरेलले जित्न सकेनन्। नेपाल प्यानलका घनश्याम भुषाल र ओलीतिरका पौडेल बिजयी भए।

त्यो भन्दा अघिल्लो वर्ष भएको संविधानसभाको दोस्रो चुनावमा शंकर पोखरेल नेपाली कांग्रेसका बुद्धिराम भण्डारीसँग पराजित भएका थिए। दाङ क्षेत्र नं ४ बाट एमालेले पोखरेललाई संविधानसभा सदस्यका लागि उम्मेदवार बनाएको थियो।

राजनीतिक जीवनमा लगातार लागेका झड्काहरूसँगै उनले पार्टीमा पनि निकै संघर्ष गर्नुपर्‍यो। तर २०७४ सालको निर्वाचनमा भने पोखरेल प्रदेशतिर लागे।

दाङको क्षेत्र नं २ (क) बाट निर्वाचित उनी अन्ततः लुम्बिनी प्रदेशको मुख्यमन्त्री भए। एमालेले त्यो चुनावमा उनलाई मुख्यमन्त्रीकै रूपमा अघि सारेर भोट मागेको थियो।

त्यो चुनावदेखि यो चुनावसम्म एमाले सग्लै रहन भने सकेन। माओवादीसँग चुनावी तालमेल गरेको एमाले उसैसँग समेटिएर ‘नेकपा’ बन्यो।

तर यो एकता धेरैदिन रहन सकेन। करिब करिब ३ वर्ष पुग्दानपुग्दै पार्टीभित्रको झगडा सडकसम्मै पुग्यो। पार्टी सम्हाल्न नसकेका ओली दुई दुई पटक प्रतिनिधिसभा विघटन गर्नतिर लागे एवम् त्यसमा राष्ट्रपति समेत विवादमा तानिइन।

अन्ततः सर्वोच्च अदालतले दुवै निर्णयहरूको खारेजीमात्रै गरिदिएन उनलाई प्रधानमन्त्रीबाट बर्खास्तै गरिदियो। र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दियो।

यतिमात्रै होइन उसले नेकपाको अस्तित्वलाई समेत मेटाइदियो र ओलीको एमाले अनि प्रचण्डको माओवादी केन्द्रलाई आआफ्नै हैसियतमा फर्काइदियो।

तर ओलीविरूद्ध प्रचण्डसँग लागेर सडकका निस्किएका माधव नेपाल र झलनाथ खनालहरू भने एमालेमा फर्किएनन्। बरू उनीहरूले पनि नयाँ पार्टी बनाए– नेकपा एकीकृत समाजवादी।

वामदेव गौतमले अलग बाटो रोजे। केही समय फेरि नेकपाको एकता अभियानमा लागेका उनले त्यसैलाई पार्टीको रूप दिए।

पार्टी एक रहेन। सत्ता रहेन। सांसदहरू रहेनन्।

नेकपाको पार्टी जीवनमा आएको त्यो संकटपूर्ण अवस्थामा ओलीका बलिया खम्बा भएर बसेका थिए– शंकर पोखरेल र विष्णु पौडेल।

सरकारबाट बाहिरिए लगत्तै पार्टी स्यहार्न खटिएका ओलीले तुरन्तै पार्टीको दशौं महाधिवेशन पनि बोलाए। चितवनको सौराहमा देशभरिका कार्यकर्ता जुटाएर उनले त्यो महाधिवेशनलाई ‘भव्य’ देखाए। चितवनको सौराह र नारायणी किनारले केही दिन पूरै देशको ध्यान खिच्यो।

यही महाधिवेशनबाट शंकर पोखरेल महासचिव भए। ओलीको सिधा प्रस्तावमा कसैले पोखरेललाई अस्विकार गरेनन्। ओलीले अरूका पनि नाम त पढेका थिए। तर भिम रावल समर्थकहरूले मानेनन्। र, केही अध्यक्ष, उपाध्यक्ष अनि केही केन्द्रीय सदस्यहरूमा निर्वाचन भयो।

विष्णु पौडेलले उपाध्यक्षमा जिते। ईश्वर पोखरेल पनि सर्वसम्मत बरिष्ठ उपाध्यक्ष भइसकेका थिए। ओलीले प्रस्ताव गरेका ६ उपाध्यक्षको नाममा घनश्याम भुषालको नाम थिएन। रावलसँगै ओलीसित लड्दै भए पनि एमालेमै टिकेका भुषालले पनि उपाध्यक्षमा उम्मेदवारी दिएपछि चुनाव भयो।

अब ओलीपछि एमालेमा को?

यही महाधिवेशन हो, जसले अध्यक्ष ओलीका सारथीहरूलाई आगामी पार्टी नेतृत्व अर्थात् ओलीका उत्तराधिकारीका रूपमा उभ्याएको छ।

तीमध्ये एकजना पौडेल हुन् जो उपाध्यक्ष छन् र अर्का हुन् शंकर उनी महासचिव छन्। प्रतिष्पर्धा यी दुवैको हुनेछ अब एमाले नेतृत्वमा।

चुनावी मैदानको एउटा दौड भने पोखरेलले हारिसकेका छन्। विष्णु पौडेल त्यही जितका लागि रूपन्देही-२ आफ्ना प्रतिद्वन्द्वीहरूसँग संघर्ष गरिरहेका छन्।

पोखरेल पक्षले भविष्यको प्रधानमन्त्री बन्ने हतारसँग दुईवटा मूल उपलब्धीलाई दाबीको आधार भनेर प्रचार गरिरहेको थिए। पहिलो, सत्तारुढ गठवन्धनका वाबजुद दाङका दुवै उपमहानगरमा एमालेको विजय। दोस्रो, पोखरेलले मुख्यमन्त्री हुँदा प्रदेशसभाको बैठकबाट राजधानी सार्न गरेको निर्णय।

तर यी दुवै ‘बुटी’ले यसपालि दंगालीलाई खासै काम गरेन।

प्रदेशको बाँडफाटसँगै तत्कालीन प्रदेश नं ५ को राजधानी बुटवल तोकिएको थियो। तर त्यसलाई अस्थायी भनिएको थियो। पछि पोखरेलले प्रदेशसभाको बैठकबाट दाङलाई स्थायी राजधानी बनाउने निर्णय गराए।

राजधानीका लागि अहिले पनि दाङ–बुटवलको लडाईं चर्किरहेको छ। एउटै पार्टीका नेता भए पनि दाङतिरका र बुटवलतिरका नेताहरू यसमा विभाजित छन्।

यो पनि एउटा चुनावी मुद्दा बन्यो। जो स्थानीय चुनावमा पनि भएको थियो।

रूपन्देही क्षेत्रका नेताहरूले ‘राजधानी’ लैजाने एमाले भनेर चुनावी एजेन्डा बनाएका छन्। त्यसका लागि चर्का भाषण दिने नेता हुन् अहिलेका गृहमन्त्री त्यही क्षेत्रका नेता बालकृष्ण खाण।

त्यहीँकै एमाले नेता विष्णु पौडेललाई त्यो बेला ओलीले अर्थमन्त्री बनाएका थिए। तर, आफ्नो चुनावी क्षेत्रमा अहिले शंकर पोखरेल निर्धक्क नारा लगाइरहे छन्– प्रदेशको राजधानी दाङमा ल्याउने त मै हुँ।

अनि पौडेलले पनि बुटवलतिर भाषण दिए- त्यो राजधानी फेरि यहीँ ल्याइन्छ।

रेखा शर्मा : जसले पोखरेललाई रोकिन्

२०५७ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य हुनुअघि उनी त्यही पार्टीका विभिन्न भ्रातृ संगठनहरूको नेतृत्व गर्थिन्।

२०४२ सालमा अनेरास्ववियुको स्कुल इकाईबाट सुरू भएको उनको राजनीतिक यात्रा अविराम नै रह्यो।

२०५३ देखि नै माओवादी निकट क्रान्तिकारी महिला संघको नेतृत्व गरेकी उनी युद्धकालमा जुवातास र जाँडरक्सी बन्द गराउने माओवादी अभियानको एक अगुवा पनि हुन्।

त्यसैले पनि युद्धकालमै उनी प्रचण्डसँग निकट भइसकेकी थिइन्।

संकटकालका बेला २०५८ चैतमा पक्राउ परेकी उनले करिब एक वर्ष सैनिक हिरासतमा चरम यातना भोगिन्। २०५९ सालमा सरकार र माओवादीबीच वार्ता सुरू भएसँगै हिरासत मुक्त भएकी उनी शान्ति प्रक्रियापछि सांसद समेत भइन्।

२०७० मा पहिलोपटक उनलाई नेकपा माओवादीले समानुपातिक प्रणालीबाट सांसद बनायो। २०७४ मा पनि उनी त्यही बाटोबाट दोहोरिइन्।

उनले २०७२ सालमा सामान्य प्रशासनमन्त्री समेत भएकी थिइन्।

 


Leave a Reply

Your email address will not be published.